कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको पूर्व राजा को प्रष्टोक्ति
बर्दिया टुडे
चैत्र ३०, २०७६ आइतवार
१५:३२:४० मा प्रकाशित
2.0K
SHARES
2.0K
SHARES
पूर्व राजा ज्ञानेन्द्र शाहलेनयाँ वर्ष २०७७ को शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको विश्वब्यापी महामारीबाट यतिबेला देशका विभिन्न भू–भाग र विश्वका विभिन्न देशमा रहे–बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त रहेका उल्लेख गर्दै विद्यमान सङ्कटबाट मुक्ति पाउन एवम् भविष्यमा उत्पन्न हुने अस्वाभाविक चूनौतीहरूको सामना गर्न नेपालीजनबीचको एकता अपरिहार्य हुन पुगेको धारणा सार्वजनिक गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै पूर्व श्री ५ ले मानव सभ्यताको अनपेक्षित चुनौतीहरूको सामना गरिरहनु परेको कष्टकर परिस्थितिका माझ नयाँ वर्षको आगमन भएको र यस अप्ठ्यारो अवस्थामा देश र आफूलाई सुरक्षित राख्न सबैले सजगता अपनाउनु पर्ने सुझाव दिएका छन् ।
नेपालभित्र र बाहिर रहे–बसेका सबै नेपालीहरूमा सुख, शान्ति तथा समुन्नतिको मंगलमय शुभकामना ब्यक्त गर्दै पूर्व राजा ज्ञानेन्द्रले ‘नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैँ उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ’ भनेका छन् ।
अत्यन्त लाक्षणिक वाक्यांश प्रयोग गरेर पूर्व राजाले ले ‘आफूलाई गौण तुल्याएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्न सक्ने विभिन्न समयका खतराहरू टार्न हामीले हरसम्भव प्रयास गरेको सर्वविदित नै छ’ भन्दै आफ्नो सन्देशमा अगाडि भनेका छन्– ‘मानव स्वास्थ्यलाई एकै शताब्दीमा सबैभन्दा ठूलो खतरा सामना गर्नु परेको बेलामा नेपालीहरूले शान्त र सामूहिक रूपले राष्ट्रब्यापी रक्षाको पर्खाल कार्यान्वयन गरेका छन् । तर विद्यमान सङ्कटबाट मुक्ति पाउन र भविष्यमा उत्पन्न हुने अस्वाभाविक चूनौतीहरूको सामना गर्न हामीबीचको एकता अपरिहार्य हुन पुगेको छ । कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलीकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौँ भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौँ ।’
पुर्खाले अनादीकालदेखि अवलम्बन गर्दै आएको वैदिक सनातन दर्शन, धर्म, संस्कृति, परम्परा तथा जीवन पद्धति नै सर्वश्रेष्ठ र वैज्ञानिक भएको महसुस अहिले विश्व जगतले स्वीकार्दै रहेको पूर्व राजा को प्रष्टोक्ति छ ।