नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता देशको आकारअनुसार ठूलो सानो नहुने जवाफ दिएका छन्।
नेपालका लागि पूर्व भारतीय राजदूत श्याम सरणले नेपाली पक्षले सीमा विवाद आन्तरिक राजनीतिमा राष्ट्रवादी हुन उठाउने मौसमी विषय मात्र भएको भन्दै दिएको अभिव्यक्तिप्रति शर्माले राष्ट्रियता अरुको टिप्पणीको विषय नहुने बताएका हुन्।
पूर्व राजदूत सरणले इण्डियन एक्सप्रेसमा प्रकाशित गरेको लेखमा ‘नेपाली पक्ष यो मुद्दालाई भाषणबाजीका लागि मात्र उठाउने गर्छ। तर यस विषयमा गम्भीर छलफल गर्न भने अनिच्छुक छ’ भन्ने टिप्पणी गरेका छन्।
उनले सन् २००३ मा सचिव स्तरीय वार्ताबाट समस्याको समाधान गर्न भारतले प्रस्ताव गरे पनि नेपालले छलफलको विषयबाटै हटाएको दाबी गरेका छन्।
सीमा विवादको समस्या समाधान गर्न सरकारलाई ठोस पहल कदमी लिन आग्रह गर्दै आएका शर्माले देशसञ्चारसँग भने, ‘हाम्रो राष्ट्रियता, राष्ट्रप्रतिको प्रेम कसले के भन्छ भन्ने कुरा हाम्रा लागि मुख्य कुरा भएन। नेपालीको हृदयमा रहेको र देश आकारले सानो वा ठूलो भन्ने हुँदैन।’
उनले मुख्य कुरा नेपालले उठाउने विषय भएकाले त्यसतर्फ विचार पुर्याउनुपर्ने बताए। ‘भारत ठूलो भएकाले उसको राष्ट्रियता ठूलो र हामी साना छौं त्यसकारण हाम्रो राष्ट्रियता पनि सानो छ भन्ने होइन। मुख्य कुरो नेपाले के उठाउँछ भन्ने नै हो। त्यसैलाई हेरिनुपर्छ, शर्माले भने।
सरणका भनाइप्रति असहमति राख्दै तत्कालीन नेपालका परराष्ट्र सचिव मधुरमण आचार्यले शरणले झुठ बोलेको ट्वीटबाट आरोप लगाएका छन्।
देश सञ्चार बाट