Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आजदेखि बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण : सरकारद्वारा उच्चस्तरीय सुरक्षाको व्यवस्था

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  • बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भोलि मंगलबार (२६ कात्तिक) देखि नेपाल भ्रमण गर्दैहुनुहुन्छ । राष्ट्रपति हमिदको भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न लाग्नुभएका बङ्गलादेशका राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधि–२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।


    ADVERTISEMENT

    images

    आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै आजैदेखि चौविसै घण्टा रहने गरी सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएकोे सुरक्षा निकायले जनाएको छ ।

    सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उक्त कार्यविधि अनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा चारवटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

    मङ्गलबार अपराह्न काठमाडौं आइपुग्नु हुने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्नुहुने भएकाले ती क्षेत्रमा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले अन्य विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा अनुसार नै अहिलेपनि सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिनुभयो । राससका अनुसार भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, बङ्लादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

    उहाँसँग पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्नुहुने जनाइएको छ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नुहुने छ ।

    काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिनुभयो । उहाँको भ्रमणका लागि यसअघि चिनियाँ राष्ट्रपतिलाई दिइए झैँ विमानस्थलका साथै प्रयोग हुने सडक र निवासस्थलसम्म आवश्यक सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले बताउनुभयो ।

    भ्रमणको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न सडकका प्रत्येक खम्बामा नेपाल र बङ्गलादेशका राष्ट्रपतिको तस्बिर राखिएको छ । भ्रमण सम्पन्न गरी उहाँ कात्तिक २९ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij