Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

उपनिर्वाचनको मनोनयन : ४ पदमा ६५ जनाको उम्मेदवारी

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  • मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार प्रतिनिधिसभाको एक र प्रदेशसभाका तीन वटा निर्वाचन क्षेत्रमा ६५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

    कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने प्रदेशसभाका भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा क्रमशः १९, १० र १४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।


    ADVERTISEMENT

    images

    कास्की २ मा २२ उम्मेदवार

    उपचुनाव हुने क्षेत्रमध्ये सबैभन्दा धेरै चासो कास्की क्षेत्र नम्बर २ हो । प्रतिनिधिसभा सदस्यका लागि त्यहाँ २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

    उम्मेदवारी दिन गएका कोही उम्मेदवार रक्सीले टिल्ल थिए भने कोही अंग्रेजीमै भाषण ठोकिरहेका थिए । जनकपुरबाट उम्मेदवार दिन आएका एकजनाले भने प्रस्तावक र समर्थकसमेत पाएनन् ।

    जनकपुर–१४ देखि आएको बताउने डा. कृष्णचन्द्र प्रसाद साह प्रस्तावक र समर्थक खोज्दै निर्वाचन कार्यालय वरिपरि भौंतारिए । प्रस्तावक र समर्थक स्थानीय हुनुपर्छ । दुवै नपाएपछि उम्मेदवारी नदिने भन्दै नेकपाकी उम्मेदवार विद्या भट्टराईलाई जीतको शुभकामनासहित बिदा भए ।

    उम्मेदवारी दिनका लागि बिहीबार एक बजेसम्मको समय तोकिएको थियो । समय सकिन केही मिनेट बाँकी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तिम उम्मेदवारी दियो । बिहीबार २५ जनाले उम्मेदवारी दर्ता गरेका भए पनि तीनजनाको रद्द गर्ने प्रक्रियामा गइसकेको छ । समानुपातिकको बन्द सूचीमा नाम भेटिएकाले रद्द प्रक्रियामा गएको निर्वाचन कार्यालयले जनाएको छ ।

    उम्मेदवारी दिनेमध्ये बढी उमेरका नेपाली कांग्रेसका खेमराज पौडेल हुन् । उनी ७५ वर्षका भए । ६ दशकको राजनीतिपछि पहिलो पटक टिकट पाएका उनले कांग्रेसले जसरी पनि जित्ने दाबी गरे । सबैभन्दा कम उमेरका सुनिल भुसाल छन् । कपिलवस्तु नगरपालिका ९ इमिलायाबाट उम्मेदवारी दिन पोखरा आइपुगेका उनी स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनीसँगै ११ स्वतन्त्र उम्मेदवार छन् ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले विद्या भट्टराईलाई उम्मेवार बनाएको छ । उनी दिवंगत पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् । हेलिकप्टर दुर्घटनामा अधिकारीको मृत्यु भएपछि हुन लागेको उपचुनावमा उठेकी भट्टराईले आफू शाेकलाई शक्तिमा बदल्न उपचुनावमा हाेमिएकाे  प्रतिक्रिया दिएका छिन् ।

    विवेकशील नेपाली दलबाट उम्मेदवारी दिएकी जमुना शर्मा समेत स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिएकी छिन् । उनको पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण स्वतन्त्र उम्मेदवार बन्नु परेको हो ।

    गएको चुनावमा तत्कालीन एमालेबाट दिवंगत पूर्वमन्त्री रवीन्द्र अधिकारीले २७ हजार भोटसहित जीत हासिल गरेका थिए । दोस्रो स्थानमा रहेको कांग्रेसका देवराज चालिसेले १८ हजार मत ल्याएका थिए । तेस्रो स्थानमा रहेको विवेकशील साझाका श्रीकृष्ण श्रेष्ठले ८ सय भोट ल्याएका थिए । तर, हाल विवेकशील र साझा अलग छन् । साझा पार्टीले रजनी केसीलाई उठाएको छ ।

    भक्तपुरमा १९ उम्मेदवार

    भक्तपुर १ (क) मा ९ दल र १० स्वतन्त्रसहित १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डीपी) ढकाल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र नेपाल मजदूर किसान पार्टीबाट निरज लवजुले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेकपाको उम्मेदवारी दर्ताका लागि सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेतलगायतका नेता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

    कांग्रेसको उम्मेदवारी दर्ता गराउन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापालगायतको समूह पुगेको थियो । नेमकिपाबाट सचिव प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँलगायतको टोली पुगेको थियो ।

    यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली कांग्रेस (बीपी) बाट मधुसुदन न्यौपाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

    स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजु, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

    विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिस्काघातका कारण मृत्यु भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

    बाग्लुङमा १० जनाको मनोनयन दर्ता

    बाग्लुङ–२ (ख) मा दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारीले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

    राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

    दाङमा १४ जनाको उम्मेदवारी दर्ता

    दाङ ३ (ख) मा प्रदेशसभा सदस्यका लागि १२ दल र दुई स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट विमला वली, नेपाली कांग्रेसबाट केशव आचार्य, राष्ट्रिय जनमुिक्त पार्टीबाट धनराज सुनार, नेपाल मजदूर किसान पार्टीबाट सुरेश परियार, राप्रपा(संयुक्त)बाट छोटीलाल थारु, नेकपा(माले)बाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी र राप्रपाबाट भूपाल रावतले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

    त्यस्तै कांग्रेस (बिपी)बाट दीपककुमार धिताल, नेपाल लोकतान्त्रिक पार्टीबाट सोनुबहादुर खत्री, मङ्गोल नेशनल पार्टीबाट घनश्याम चौधरी र समाजवादी पार्टीबाट शिवकुमार चौधरी तथा गोविन्द केसी र टीकाराम आचार्यले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

    मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । अनलाइन खवरबाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij