सामान्य अभियुक्तभन्दा फरक शैलीमा हतकडीबिना आइतबार दोस्रो पटक अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलकाे कार्यालयमा पुर्यारइएका निवर्तमान सभामुख कृष्णबहादुर महराले सो कार्यालयमा सात घण्टा लामो बयान दिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार महराले सरकारी वकिलको कार्यालयमा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीसँग पहिलादेखिकै चिनजानका कारण उनको कोठामा आउने जाने गरे पनि बलात्कारको प्रयास भने नगरेको बयान दिएका छन् ।
महराले यसअघि प्रहरीसँग ‘राइट टु साइलेन्स’को अधिकार प्रयोग गरेका थिए । सरकारी वकिल कार्यालयमा भने उनले सात घण्टा लामो बयान दिएका हुन् । बयानपछि प्रहरीले महरालाई म्याद थपका लागि पुनः अदालत लगेको छ ।
प्रहरीले महरासँग अझै बयान बाँकी रहेको भन्दै सात दिनको म्याद अदालतसँग मागेको प्रहरीले जनाएको छ । प्रहरीले मागेको समय दिने नदिने अदालतमा भर पर्छ । म्याद थप गर्नुपर्ने कारण नदेखिए अदालतको आदेशले उनी आइतबार रिहा हुनेछन् ।
अदालतमा उनीमाथि अहिले म्याद थप गर्ने कि नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । जिल्ला अदालत काठमाडौंले २८ असोजमा अनुसन्धानका लागि महरालाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतले दिएको म्याद शनिबार नै सकिएको छ ।
शनिबार सार्वजनिक बिदाका दिन अदालत बन्द हुने भएकाले प्रहरीले महरालाई आइतबार म्याद थप र वयान प्रयोजनका लागि साढे ११ बजे जिल्ला सरकारी वकिल कार्यालय उपस्थित गराएको छ ।