Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आज अटवारी पर्व, थारू समुदायले धुमधामसंग मनाउँदै

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    पश्चिम तराईका थारु समुदायले आज अटवारी पर्व मनाउँदै छन् । अटवारी पर्व थारु समुदायको लागि तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रही आएको छ ।


    ADVERTISEMENT

    images

    रोटी पकाइसकेपछि रोटी संगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि ‘अग्रासन’ (दिदी–बहिनीका लागि छुट्याइने परिकार) छुट्याई बनाइएका परिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ ।

    व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याई अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । आफ्ना दिदीबहिनीलाई फलफूल र रोटीमात्र खाने र दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले बताउनु भयो । ‘यो पर्वमा विशेष गरी हामी दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बस्छौँ,’ उहाँले भन्नुभयो ‘यो पर्व तीन दिनसम्म मनाउँछौँ ।’

    उहाँका अनुसार आफ्ना दिदीबहिनीका घरमा पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनी बिचको सम्बन्ध समेत प्रगाढ हुने विश्वास थारु समुदायमा छ । थारु अगुवाका अनुसार अटवारी पर्व ऐतिहासिक घटना संग जोडिएको छ । दाङका थारु राजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारु राजा दङ्गीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो ।

    पाँच पाण्डव र द्रोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए भन्ने जनविश्वास रहि आएको छ । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारु समुदायले अटवारी मनाउँदै आएका छन् ।

    यसैबीच पर्वका अवसरमा लुम्बिनी प्रदेशको बर्दिया, बाँके र दाङ्गमा आज सार्वजनिक बिदा दिइएको छ। लुम्बिनी प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका अवसरमा पर्व मनाउउने समुदायका लागि आज सार्वजनिक बिदा दिएको हाे।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij