मधुवन : बाघको आक्रमणमा परी ज्यान गुमाएकी बंशीमगर भन्ने काली मगर्नीका सन्तानलाई मधुवन नगरपालिकाले स्नातकोत्तर तहसम्म निःशुल्क पढाउने ब्यवस्था मिलाउने भएको छ ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ स्थित सम्झना सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट शुक्रबार ५२ बर्षिया कलि बंशीमगरको ज्यान गएको थियो ।
जंगली जनावरले बालीनाली नोक्सान गर्ने र पटक पटक बाघको आक्रमणबाट स्थानीयको ज्यान जान थालेपछि स्थानीयले वन्यजन्तुको समस्या दीगो समाधान गर्नुपर्ने माग गर्दै हुलाकीमार्ग अन्र्तगत ओराली बजारमा गरिएको आन्दोलनपछि आईतबार राखिएको सर्वदलिय तथा सर्वपक्षीय बैठकमा निशुल्क पढाउने ब्यवस्था मिलाउने निर्णय गरिएको हो ।

बैठकमा निःशुल्क शिक्षासँगै संघीय सरकारबाट राहत स्वरुप पाउने १० लाख, लुम्बिनी प्रदेश सरकारबाट १ लाख तत्काल उपलब्ध गराउने, उज्यालो नेपालले विमा कार्यक्रम मार्फत १ लाख र मृतकका सन्तानलाई शैक्षिक वृत्ति कार्यक्रम अन्तर्गत कक्षा १० सम्म वार्षिक ११ हजार र कक्षा १२ सम्म वार्षिक २२ हजार रुपैया राहत छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय, मधुवन नगरपालिका, पिडित पक्ष लगायत सरोकारवालाको संयुक्त छलफलमा मृतकका परिवारलाई खाता सामुदायिक वन समन्वय समितिको तर्फबाट किरिया खर्च २५ हजार तथा आय–आर्जन स्वरुप ५०,००० गरी ७५ हजार रुपैया राहत सहयोग तत्काल उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाबाट पीडित परिवारलाई जिविकोपार्जनको लागि ५०,००० रुपैया उपलब्ध गराउने, मानव वन्यजन्तु विच द्वन्द न्यूनीकरण गरि यस किसिमको घटना दोहोरिन नदिन गर्नुपर्ने कार्य समेटी एकीकृत कार्य योजना तयारगर्दै आम सर्वसाधारणहरुको जिउज्यानको सुरक्षाका निम्ति मधुवन नगरपालिका क्षेत्र भित्रको दीर्घकालीन समस्या समाधान गर्न मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटको नेतृत्वमा सम्बन्धित सरोकारवालाहरु सदस्य रहने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको छ ।
कार्यदलले संघीय सरकार प्रदेश सरकार लगायत सरोकारवाला निकाय मार्फत आवश्यक पहल गर्ने, मधुवन नगरपालिका नगर कार्यपालिकाले मृतक परिवारलाई राहत स्वरुप ७५ हजार उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै छलफलमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका मधुवन नगरपालिका क्षेत्रभित्रका मृतकको सम्झनामा खाता सामुदायिक वन समन्वय समिति नजिक रहेको शहरी हरित उद्यममा मृतकहरुको अर्धकद सालिक स्थापना गर्ने, मधुवन नगरपालिका वडा नं.१ देखि ५ वडासम्म पक्की गेटवाल निर्माण र तारवारको ब्यवस्था गर्न संघिय सरकार समक्ष आवश्यक पहल गर्ने साथै ९ वटै वडाभित्र पर्ने सामुदायिक वन छेउछाउमा बस्नेहरुका लागी जंगली जनावरबाट बच्नको लागि सचेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको छ ।

मृतकको परिवारहरुले क्षतिपूर्ति र मानव वन्यजन्तु द्वन्द निराकरणको माग राखी गरिएको आन्दोलनका कार्यक्रमहरु तत्काल फिर्ता लिने र शब बुझी दाहसंस्कार गर्ने भनी सहमति भएको हो । मृतक वंशीमगरको दाहसंस्कार सोमबार दिउँसो गरिने जनाईएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।