Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा एक दशकयता ३५ वटा सीमा स्तम्भ हराए

  • बर्दिया टुडे
  • 1.8K
    SHARES

  • बर्दियामा नेपाल-भारत सीमा करिब ८३ किलोमिटर पर्छ । हराउने स्तम्भमा मुख्य ५ सहित सहायक र सानो गरेर ७२ वटा छन् । हराएका ठूला ५, सहायक सीमा स्तम्भ ९ र सानो ५८ वटा रहेको प्रमुख जिल्ला अधिकारी नारायण रिसालले बताए । गत साउन २८ मा बबई नदीमा आएको बाढीसँगै कटानले गुलरियाको मस्जदियानजिक दशगजा कटान गर्दै ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । 'बबईले बगाएको स्तम्भ लगातार खोजी गर्दा पनि फेला परेको छैन,’ उनले भने, ‘दशगजाबाट नदी बगेकाले अनुमानित ४/५ सय मिटर अन्तर्राष्ट्रिय सीमा बगाएको अनुमान छ ।' नदीले जग्गा कटानसँगै बग्ने धार परिवर्तन गरिरहेको छ ।


    ADVERTISEMENT

    images

    प्रजिअ रिसालका अनुसार गुलिरया-१० मा मुख्य सीमा स्तम्भ ६७१ र ६७२, गुलरिया-७ को ६८१, मधुवन नगरपालिका-३ को ६९० र राजापुर नगरपालिका-१० को ६९३ सीमा स्तम्भ हराएको छ ।

    प्रशासन र सशस्त्र प्रहरी बलले निरीक्षण गर्ने बेला जिल्लासँग जोडिएको ८३ किमि लामो सीमामा ठूला-साना स्तम्भ फेला परेका छैनन् । सशस्त्र प्रहरी बलका सीमा पाेस्ट तथा बीओपी स्थापना नहुँदै हराएको अनुमान छ । डेढ दशकअघि जिल्लामा सशस्त्र प्रहरी बलको स्थापना भएको थियो । सीमा स्तम्भ हराएको जानकारी सरकारलाई गराए पनि यसबारे कुनै खोजीनिति नभएको स्थानीयले बताएका छन् ।

    ०७१, ०७४ र ८० को बाढीले सहायक र सानो गरी ३५ वटा स्तम्भ बगाएको छ । बर्दियासँग जोडिएको भारतीय सीमाना २ सय ४५ वटा सीमा स्तम्भ थिए । त्यसमध्ये मुख्य ४२, सहायक ६६ र साना १ सय ३६ सीमास्तम्भ छन् ।

    मुख्य सीमा स्तम्भ २६ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् । सहायक सीमा स्तम्भ ३६ र साना मर्मत गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्तम्भ हराएका कारण दुवै मुलुकको सिमाना छुट्याउने दशगजा समेत देखिन छाडेको गुलरिया-१० का दीपक चौधरीले बताए । सरकारले सीमामा हराएको स्तम्भ खोजी गरी पुनःस्थापना गर्न जरुरी रहेको उनले जनाए ।

    प्रमुख जिल्ला अधिकारी रिसालले जीपीएस लोकेसन भएकाले कब्जा भएका, खोलाले कटान गरेको जग्गा दुवै मुलुकका कार्यदलले छुट्याउने बताए । छिटै कार्यदलले सीमाना छुट्याउँदै नेपाली पक्षको जिम्मामा रहेको सीमा स्तम्भको पुनर्निर्माणको काम गर्ने उनले जनाएका छन् ।(कान्तिपुर)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij