बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेल घुस प्रकरणमा मुछिएपछि पालिकाले उनीमाथि छानबिन गर्ने भएको छ । सोमबार दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले अधिकृत पौडेलले कर्मचारीबाटै घुस लिएको भन्दै प्रहरीलाई बुझाएका थिए ।
उनीमाथि करारका महिला कर्मचारीबाट १ लाख ३५ हजार घुस लिएको आरोप लगाउँदै ती कार्यकर्ताले कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाएका थिए । पौडेललाई जनप्रतिनिधि र कर्मचारीको रोहबरमा प्रहरीले छाडेको छ ।
यस सम्बन्धमा बासगढी नगरपालिकाका प्रमुख खड्गबहादुर खड्काले घुस प्रकरणको छानबिन गरिने बताए । कार्यपालिकाको बैठक बसेर यस विषयमा छलफलपछि निर्णय गर्नेछौं,’ उनले भने, ‘दोषी ठहर भए कारबाही प्रक्रिया अघि बढ्छ ।’
यसैबीच बाँसगढी नगरपालिकाका कर्मचारीले भने प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि गरिएको दुर्व्यवहारको विरोध गरेका छन् । आरोपित पौडेलसँग भने सम्पर्क हुन सकेन ।(कान्तिपुर)