Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको ठाकुरबाबा नगरपालिकाका दुई सय घर डुबानमा

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    तीन दिनदेखि परेको अविरल वर्षाले बर्दियाको ठाकुरबाबा नगरपालिकाका दुई वडाका करिब दुई सय घर डुबानमा परेका छन् । वडा नम्बर ७ को कर्मला टोल, वडा नम्बर ८ को भुटकैया र वडा नम्बर ९ को मिथुनिया फाँटा डुबानमा परेका छन् ।


    ADVERTISEMENT

    images

    ठाकुरबाबा नगरपालिकाकी उपमेयर विना भट्टराईले वडा ७ कर्मला टोलका ६९ जनालाई उद्धार गरी स्थानीय शिव सुन्दर माध्यमिक विद्यालयमा राखिएको बताएकी छन् ।

    गाउँका घर डुबान भएका कारण खाना खाने, बस्ने अवस्था नरहेकाले उनीहरुलाई पालिकाले व्यवस्थापन गरेको उनले बताइन् ।

    स्थानीयहरूका अनुसार बस्तीमै नदी जस्तै पानी बग्दै गरेको छ । यस गाउँभित्रबाट आउजाउ गर्ने सडक समेत डुबानका कारण र्‍याफ्टिङ गर्नुपर्ने अवस्था रहेको बताइएको छ । मंगलबार दिनभर र्‍याफ्टिङको माध्यमबाट बाढी प्रभावितलाई उद्धार गरिएको वडा ७ का अध्यक्ष कलम बहादुर विष्टले बताए ।

    उद्धार गरिएकालाई पालिकाले खाने, बस्ने प्रबन्ध मिलाएको पनि उनको भनाइ छ । भुटकैया र मिथुनियाका भने करिब १ सय ३० घर डुबानमा परेका छन् ।

    यस क्षेत्र वर्षेनि वर्षायाममा डुबानमा पर्दा बालबालिका बोकेर अस्थायी शिविरमा आउनु पर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो छ । दिउँसो वर्षा रोकिएपछि जलस्तर केही कम भएको छ । घरहरू भने डुबानमा भएकाले प्रवेश गर्न नसकिने उनीहरूले बताए ।

    बबई नदीको जल सतह खतराको चिह्नमाथि

    यसैबीच बिहान बबई नदी खतराको चिह्नमाथि बग्न थालेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । तीन दिनदेखि लगातारको वर्षाले बबई नदीको जलस्तर मंगलबार बिहान ७ बजेसम्म ६ दशमलव ७ मिटरमाथि बगिरहेको छ । दिउँसोबाट जलस्तर कम भए पनि वर्षात अझै पर्न सक्ने भएकोले सतर्क हुनुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए ।

    बाढी र कटानको जोखिम भएकोले सुरक्षाका सबै अंगलाई उद्धार कार्यमा तैनाथ रहन निर्देशन दिएको पनि प्रजिअ रिसालले बताए । ‘गुलरिया नगरपालिका ११ स्थित बबई नदीले घेरिएको महजदियाबाट ९० परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ,' उनले भने ।

    सदरमुकाम र आसपासका क्षेत्रमा ६ दशमलव ५ मिटर पुग्नासाथ बाढीको उच्च जोखिम हुने गर्छ । ०७१ सालमा बबई नदीमा आएको बाढीले ९० प्रतिशत भूभाग डुबान हुनाका साथै ३२ जनाको ज्यान गएको थियो । बबई तटीय क्षेत्रका बासिन्दालाई बाढीबाट जोगिन बिहानैबाट सचेत गराइएको छ । यसैबीच कर्णाली नदीमा जलस्तर बढ्दै गएको छ । कर्णालीमा ७ दशमल ९० मिटरमाथि पानी बगिरहेको छ । कर्णालीमा १० मिटर माथि पानी बगे बाढीको जोखिम मानिन्छ । पहाडी क्षेत्रमा पानी परिरहेकोले कर्णालीमा जलस्तर बढ्ने जोखिम रहेको छ ।(कान्तिपुर बाट)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij