लुम्बिनी प्रदेश मातृ मृत्यु दरमा सबैभन्दा अगाडि रहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरुसंगको सहकार्यमा गरेको अध्ययनबाट यस्तो नतिजा आएको हो।
प्रतिबेदन अनुसार सबैभन्दा बढी मातृ मृत्युको संख्या लुम्बिनी प्रदेशमा देखिएको छ। लुम्बिनीमा मातृ मृत्यु संख्या १ सय ५८ रहेको छ।जनस्वास्थ्य सरोकार नेपालले नेपाल मातृ मृत्यु अध्ययन २०७८ को प्रतिबेदन देशभरका स्वास्थ्य कार्यालयहरुमा पठाएको छ।
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी बाँकेमा ३६ जनाको मृत्यु भएको छ । सबैभन्दा कम रुकुम पूर्वमा १ जनाको मृत्यु भएको छ। यो प्रदेशमा रोल्पा र प्युठानमा ६–६ जना,गुल्मीमा ७ जना,अर्घाखाँची र पाल्पामा ४–४ जना,पश्चिम नवलपरासीमा ७ जना, रुपन्देहीमा ३० जना, कपिलवस्तुमा २८ जना, दाङमा १५ जना र बर्दियामा १४ जनाको मृत्यु भएको छ ।
नेपालमा एकबर्षको अवधिमा ६ सय २२ जनाको मातृ मृत्यु भएको पाइएको छ। प्रतिबेदन अनुसारमधेस प्रदेशमा १ सय ३५ जना, कोशी प्रदेशमा १ सय १ जना,बागमती प्रदेशमा ६९ जना,सुदुरपश्चिम प्रदेशमा ६० जना,कर्णाली प्रदेशमा ५४ जना र गण्डकी प्रदेशमा ४५ जनाको मातृ मृत्यु भएको अध्ययन प्रतिबेदनले देखाएको छ। यो २०७८ साल मंसिर ९ भन्दा अगाडि विगत १२ महिनाको तथ्याङ्क हो।
नेपालमा कूल ६ सय २२ जनाको मातृ मृत्यु पत्ता लागेकोमा ११ जनाको मृत्युको जानकारी केहि अपुग रहेकोले मृत्युको कारण बिश्लेषण गर्न प्रतिबेदनमा ६ सय ११ जनाको मातृ मृत्युलाई आधार मानिएको प्रतिबेदनमा उल्लेख गरिएको छ। तर मातृ मृत्युको अनुपातका लागि भने ६ सय २२ मातृ मृत्युलाई नै आधार मानिएको छ।
अध्ययन अनुसार नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तश्राव र उच्च रक्तचाप जस्ता रोकथाम गर्न सकिने समस्याका कारणले हुने गरेको देखिएको छ। अध्ययनका क्रममा मातृ मृत्यु निम्त्याउने तीन ढिलाई औंल्याउँदै ढिलाई अन्त्यका आधार समेत केलाईएको छ।
स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको गुणस्तर र प्रेषण संयन्त्रमा सुधार गर्न,आपतकालिन यातायात व्यवस्थापनलाई बलियो बनाउन अध्ययन टोलीले सम्वन्धित पक्षलाई सुझाव दिएको छ।
अध्ययन प्रतिबेदन अनुसार मातृ मृत्यु भएका कूल संख्यामध्ये गर्भावस्थामा १ सय ९९ जनाको,प्रसव अवस्थामा ३६ जनाको र सुत्केरी अवस्थामा ३ सय ७६ जनाको मृत्यु भएको छ । यस्तै ३ सय ४६ जनाको स्वास्थ्य संस्थामा,२ सय ६५ जनाको गैर स्वास्थ्य संस्थामा र २ सय ३० जनाको सामान्य प्रसुति अवस्थामा ज्यान गएको छ।
समयावधि भन्दा ज्यादै ढिलो र घरमा सुत्केरी हुन समस्या परेको तथा बिरामका कारण अन्तिम अवस्था पुगेपछि मात्र स्वास्थ्य संस्था लैजाने गलत प्रवृतिका कारण पनि मातृ मृत्युको संख्या बढी हुने गरेको अध्ययन प्रतिबेदनमा उल्लेख छ।