गेरुवा गाउँ पालिका आईतवारदेखी पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । गाउँपालिकामा आईतबार आयोजित एक कार्यक्रममा पालिका स्तरिय खोप समन्वय समितिका संयोजक तथा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.ले गेरुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष के.सी. ले गेरुवा गाउँपालिका का छ वटै वडाका १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुको राष्ट्रिय खोप तालिका बमोजिम १५ महिना भित्र पाउनु पर्ने सबै खोपहरु पाइसकेको सुनिश्चित गर्दै गेरुवा गाउँपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरे ।
घोषणा गर्दै के. सी. ले भने,’पूर्ण खोपको दिगोपना कायम रहेको अवस्था भएकोले आज हामी गेरुवा गाउँपालिका लाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गर्दछौं, आगामी दिनमा कुनैपनि अवस्था र परिस्थितिमा कुनै पनि बालबालिका कुनै पनि खोप लिनबाट बन्चित हुने छैनन् ।’ के. सी. स्वास्थ्य क्षेत्रमा पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।
घोषणा कार्यक्रममा स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले गेरुवा गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा धेरै उल्लेखनीय र उदाहरणीय काम गरेको बताउँदे त्यसलाई निरन्तरता दिन आग्रह गरे ।
ADVERTISEMENT
गेरुवा गाउँपालिकामा १६ देखि २३ महिना भित्रका १ हजार ६ सय ६८ जना वालवालिकाले खोपको मात्रा पुरा गरेको जनाइएको छ । वडा नं. १ मा १ सय ६१ जना, वडा नं. २ मा २ सय ३२ जना, वडा न. ३ का २ सय ४९ जना , वडा न. ४ का ३ सय ३२ जना, वडा न ५ का ३ सय ६ जना र वडा नं. ६ का ३ सय ८८ जना बालबालिकाहरुलाइ पुर्णखोपको मात्रा खुवाइएको गेरुवा गाउँपालिकाले जनाएको छ ।
खोप कार्यक्रमको मुख्य लक्ष्य बालबालिकाहरुमा खोपबाट जोगाउने सकिने रोगहरुबाट हुने बिरामी दर, अपाङ्ग दर तथा मृत्यु दर कम गराउने रहेको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद भण्डारीले बताए ।
बिफर उन्मुलन, पोलियो मुक्तको अबस्था, ५ वर्ष मुनिका बालबालिकाहरुको मुत्यदरमा सह्रशताब्दी विकास लक्ष्य हासिल हुनु, नवजात शिशुमा हुने धनुष्टंकारको निवारण, दादुरा रोग निवारण उन्मुलन रहनु तथा जापनिज इन्सेफ्लाईटिस तथा रुबेला रोग नियन्त्रणको अबस्थामा रहनु खोप कार्यक्रमका मुख्य सफलता रहेको छ ।
गेरुवा गाउँपालिकामा २ वटा आधारभूत स्वास्थ्य केन्द्र र ४ वटा स्वास्थ्य केन्द्र छन। भने २३ वटा खोप केन्द्र तथा २२ वटा गाँउघर क्लिनिक छन् । त्यसैगरी गेरुवा गाउँ पलिकामा ७२ जना महिला स्वास्थ्य स्वयं सेविकामार्फत समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।
यसै विच सोही अवसर पारेर फिल्डमा गई खोप तथा गाउँघर क्लिनिक एवं समुदायमा स्वास्थ्य शिक्षा प्रदान गरेवापत १२ जना स्वास्थ्यकर्मीहरुलाई उपहार स्वरुप झोला ररेनसुट प्रदान गरिएको थियो ।