Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मेरो गुट

  • बर्दिया टुडे
  • 2.9K
    SHARES
  •  

    आज बर्दियाबाट एकजना मित्रले फोन गर्नुभएको थियो । गुलरियामा कार्यकर्ता भेला छ आउनुहोला भनेर । तपाइ न ठूलो नेता, न मन्त्री, न कुनै आधिकारिक ब्यक्ति कसरी निम्तो गर्नु भयो ? भनेर मैले प्रश्न गरें । वहाँले भन्नु भयो, आज बिहान तपाइको चर्चा भयो अनि निम्तो गर्ने जिम्मेवारी मलाइ दिइएको थियो त्यसैले निम्ता गरेको हुँ । वहाँले थप्नु भयो, तपाइ बामदेबको पुरानो मित्र, पछि माओबादीमा पनि सक्रियतापूर्वक लागेको अनि पहिला देखि नै सरकार र पार्टीका बिरुध्द सामाजिक संजालमा लेख्दै आएको ब्यक्ति भएकोले यतातिर आउनुहुन्न होला भनेर हाम्रा साथीहरुले सम्पर्क नगरेका रहेछन । एकपटक कुरा गर्दा के बिग्रिन्छ र ? भनेर मैले सम्झेको हुँ भनेर बिदा हुनु भयो । मैले भेला सफलताको कामना गरें अनि आफ्नो भेलामा आउने योग्यता नपुग्ने भएकोले सहभागि नहुने कुरा पनि बताएँ ।

    हुन पनि नत म कुनै कमिटिमा थिएँ न कुनै जिम्मेवारी थियो । न कसैले मेरो योगदान सम्झेको थियो न योग्य ठानेर बिश्वास गरेको थियो । आफ्नो बिगतको संलग्नता र सम्बध्दताका आधारमा केवल भावनामा बघेर नेकपाको समर्थक भएको थिएँ । वास्तवमा बिगत दुइ बर्षदेखि नेताहरुका गतिबिधि, कार्यशैलि र ब्यवहार देखेर सारै मन मरेर आएको छ । यी कुराहरु मैले आफुले चिनेका नेतालाई पनि नभनेको होइन तर कसैले सुनेनन । अनि मन शान्त पार्नका लागि सामाजिक संजालमा लेख्न थालेको हुँ । किनकि मनमा लागेका कुरा राख्ने, अभिब्यक्त गर्ने यो बाहेक अर्को कुनै थलो थिएन मेरा लागि । एकपटक एकजना नेताले फोन गरेर सामाजीक संजालमा सरकार र पार्टी बिरोधि सामाग्री पोष्ट नगर्न भन्नु भएको थियो । मैले कारण सोधें । वहाँले यस्तो कार्य अनुशासनहिन कार्यकर्ताले मात्र गर्न सक्छ, अनुशासित ब्यक्तिले गर्दैन त्यसैले तपाई उपर अनुशासनको कारबाहि हुन्छ भन्नु भयो । म त दङ्ग परें । म पार्टीको को हुँ र मलाई पार्टीले कारबाहि गर्ने ? भनेर प्रश्न गरें । वहाँले गोलमटोल जवाफ दिनुभयो । मैले मनमा लागेका कुरा लेखिरहें । कतिले सकारात्मक कमेन्ट गरे कतिले नकारात्मक । मलाई अनुशासन सिकाउने कमरेडको अनुशासन पनि देख्न पाएको छु । मजा आउदो रहेछ ।
    आजकल पार्टी लथालिङ्ग भताभिङ्ग भएको छ । नेता देखि कार्यकर्ता बाँडिएका छन । कोहि केहि पाएर लागेका होलान, कोहि केहि खाएर लागेका होलान, कोहि केहि पाउँला भनेर लागेका होलान, कोहि खुसीले लागेका होलान, कोहि बाध्यताले लागेका होलान तर कतै न कतै लागेकै छन । म बर्दियामा बस्दा कम्युनिष्ट पार्टीका लागि धेरै दुःख गरेका पुराना साथीहरुको संगतमा रहें । यी साथीहरु आफ्नो लागि भन्दा पनि पार्टीका लागि दुःख गरेका थिए । बिगतको कठिन अवस्थामा दुःख गरेका साथीहरुलाइ दुधमा मरेको झिंगा जस्तो गरी फालेको देखेर मलाइ मन दुख्ने गर्दछ । ऐलेको ठाकुरबाबामा हिजोको कठिन अवस्थामा कम्युनिष्टको संगठन निर्माण गर्ने खुसीराम थारु र मैजु थारु आज कम्युनिष्ट पार्टीमा छैनन । उनीहरुलाइ पार्टी छोड्न पर्ने किन बनाइयो ? त्यसबाट कस्लाइ के फाईदा भयो ? अनि कर्मलाका फिरुलाल चौधरी र शिव नारायण थारुलाइ किन बाहिर बाहिर धकेलिंदै छ ? भोली अरुको पनि यहि हालत त हुने होला । यस्तै यस्तै कुराले मन बेचैन हुने गर्दछ ।
    वास्तवमा मेरो भित्रि मन देखि कुनै गुट वा खेममा लाग्ने जाँगर छैन । तर दुःख पाएका, पेलिएका, हेपिएका, किनारा लगाइएका र अवसरबाट बञ्चित गरिएका साथीहरु अनि केहि राम्रो गर्ने भावना र सम्भावना बोकेका युवाहरुलाई अगाडी बढ्नका लागि सहयोग गर्ने चाहना छ । बामदेव गौतमले महाकाली सन्धिमा नेपाल ठगियो, राष्ट्रघात भयो भन्नु भयो, अर्को समूहले महाकाली सन्धिले देशलाइ स्वर्ग बनाउछ भन्यो । बामदेब गौतमको बिचार अल्पमतमा पर्यो । मन नमिले पछि पेल्दै किनारमै पुर्याएर खसाल्ने एउटा प्रबृति मन नपरेका कारण बामदेव गौतमको पछि लागेर माले बनियो । माले भएकै बखत तत्कालिन एमालेले टुँडिखेलबाट बामदेवलाइ नेपालको १ नंबर भ्रष्टाचारी घोषणा गर्यो । तर न बामदेबले महाकाली सन्धि ठिक रहेछ भन्नु भयो न एमालेले बामदेवलाई लगाएको आरोप फिर्ता लियो । तर पनि बामदेव हामीलाई अलपत्र छोडेर फेरी एमालेमा बिलिन हुनुभयो ।
    बामदेवको साथ छुटेपछि माओवादीसंग सम्पर्क हुनगयो । मलाई माओवादी नेताहरुका मिठा जनपक्षिय कुरा मन पर्दथ्यो । त्यहि भएर माओबादीसंग हातेमालो गरियो । समयले कोल्टे फेर्दै गयो, मिठा जनपक्षिय कुरा गर्ने नेताहरु चुनाब लडे, चुनाब जिते, मन्त्री भए । एक पटक होइन दुइ पटक होइन पटक पटक मन्त्री भए । मैले उनीहरुले त्यतिबेला ओकल्ने गरेका मिठा जनपक्षिय कुराहरुको परिणाम खोजें । हेर्दै, भोग्दै जाँदा उनीहरुका मिठा कुरा भित्र मिसिएको तितो,टर्रो बस्तुको भेद खुल्दै गयो । जनयुध्दका शहिद, बेपत्ता, घाइते भन्न नछोड्ने तर उनीहरुका लागि केहि नगर्ने, गरिब, शुकुम्बासी, भूमिहिनको नाम लिन नछौड्ने तर उनीहरुलाई जमिन उपलब्ध गराउन केहि नगर्ने क्या गज्जबको तरिका ! कुनै ब्यक्तिसंग मेरो आग्रह पूर्वाग्रह छैन ,केवल प्रबृत्तिको मात्र कुरा हो ।

    अब त पार्टी कित्ता कित्तामा बाँडिएको छ । यी कित्तामा माथि उल्लेख गरिएका पात्रहरुकै हालिमुहालि छ । फेरी चुनाब होला । टीकट पाउने यिनिहरुनै हुन, जित्ने यिनिहरुनै हुन, मन्त्री हुने यिनिहरुनै हुन, मन्त्री खानका लागि दलबदलु गर्ने यिनिहरुनै हुन । हामी त फेरी पनि झोले, अरिंगाल, छौंडा मध्येमै परिने होला भन्ने लागेर यथास्थितिमा कुनै गुटतिर नलागि हालका लागि काठमाण्डौतिर लागेको अवस्था । आगे उप्रान्त समयले बताउनेछ । 

    रमेश थापाकाे फेसबुक वालबाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij