साहित्यकार अमृत शर्मा ढकालको गीतकृति ‘लजालु पहाडहरु’ गृहजिल्ला बर्दियामा पनि विमोचन गरिएको छ ।
करिब दुई दशकदेखि कविता, गजल, गीत, समालोचना र साहित्यिक सम्पादनमा क्रियाशिल ढकालको ‘लजालु पहाडहरु’ पहिलो पुस्तककार कृति हो ।
ADVERTISEMENT
९१ पृष्ठमा ६७ थान गीत समावेश गरिएको कृति युरेका पब्लिकेशन काठमाण्डौले प्रकाशन गरेको हो ।
गत हप्ता नेपालगन्जमा विमोचन भएको पुस्तकलाई गृहजिल्लामा पनि विमोचन गर्ने गरी आयोजना गरिएको कार्यक्रममा पुस्तक माथि टिप्पणी गर्दै युवा समालोकद्वय डम्मर वि.सी. र विजय वलीले ढकालका गीतले मानवीय संवेदनाको उच्चतम् बिन्दुलाई छुन सकेको बताए ।
समालोचक वि.सी.ले थपे– ‘यस पुस्तकमा समावेश गीतहरुले काव्यात्मक गीत लेखनको अभावलाई पुरा गर्ने हिम्मत राख्दछन् ।’ पुस्तकका स्रष्टा ढकालले – ‘गीतको स्वतन्त्र अस्तित्व भन्नु संगीतको निरपेक्ष नरहेको तर सस्तो संगीतबद्ध सबै शब्द गीत नभैहाल्ने तर्क गरे ।’
कार्यक्रमका प्रमुख अतिथि कवि/समालोचक/पत्रकार राजेन्द्र प्रसाद धितालले राजनैतिक व्यक्तित्वसँग सँगै अमृत ढकालको साहित्यिक व्यक्तित्व अगाडि बढेकोमा खुशी व्यक्त गरे ।
बर्दियाली साहित्य समाजको आयोजनामा करिब ७० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा गायक एकराज पौडेल, प्रभात सुवेदी, गजलकार मधु साश्रु, कवि/समालोचक/पत्रकार राजेन्द्र प्रसाद धिताल, कार्यक्रमका सभापति हरि प्रसाद आचार्य तथा कृतिकार ढकालले संयुक्त रुपमा गीतकृति ‘लजालु पहाडहरु’ पुस्तक विमोचन गरे ।