बर्दियाका प्रजिअ सहित १९ जनाकाे पिसीआर रिपोर्ट नेगेटिभ
बर्दिया टुडे
जेठ २५, २०७७ आइतवार
२०:३२:२२ मा प्रकाशित
1.4K
SHARES
1.4K
SHARES
बर्दियाका प्रमुख जिल्ला अधिकारीका चालकलाई शनिवार कोरोना पोजेटिभ देखिएसंगै प्रमुख जिल्ला अधिकारी र उनकी पत्नीको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।
शनिवार बेलुका १९ जनाको स्वाव संकलन गरिएकोमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र उहाँकी पत्नी सहित १९ जनाकै रिपोर्ट नेगेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
नेपालगंजको भेरी अस्पातालमा गरिएको स्वाब परिक्षणको रिपार्ट अनुसार शनिबार बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना पोजेटिभ देखिएको थियो ।
बर्दियाबाट भर्खरै मात्र मन्त्रालय सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई पुर्याउन जाँदासँगै स्वाब परीक्षण गरिएपछि प्रजिअ लामिछानेको रिपोर्ट नेगेटिभ र चालकको रिपोर्ट पोजेटिभ आएको हो ।
प्रजिअकै सवारी चालकलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी र स्थानीयहरु तनाबमा थिए । भर्खरै आएका नयाँ प्रजिअ लिलाधर अधिकारीले सोही सवारी साधनको प्रयोग गर्दै आएका थिए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका ५५ वर्षीय सवारी चालकलाई कोरोना पोजेटिभ देखिएसंगै उहाँलाई गुलरियाको जिल्ला समन्वय समिति बर्दियाको आइसोलेसनमा राखिएको छ ।
उनले नयाँ प्रजिअ लिलाधर अधिकारी र उहाँकी पत्नीलाई काठमाडौंबाट बर्दिया ल्याएका हुन ।
शनिवार दिउँसोदेखि नै कार्यालय सिल गरी १९ जनाको पीसीआरका लागि स्वाब संकलन गरिएको थियाे ।
यसैबिच नयाँ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी बर्दिया आइसकेपछि शुक्रबार आयोजना गरिएको पत्रकार परिचयात्मक कार्यक्रममा पुगेका बर्दियाका पत्रकारहरु पनि शसंकित छन् ।
कार्यक्रममा सहभागी पत्रकारहरुको स्वाबको नमुना लिई तत्काल परीक्षणको व्यवस्था गर्नुपर्ने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालको माग छ । महामारीका बेला सजग र संयमित भएर कार्यक्षेत्रमा काम गर्न सम्पूर्ण पत्रकारहरुलाई अध्यक्ष धितालले अनुरोध गरेका छन् ।