Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘धृतराष्ट्र’हरू झुक्न चाहँदैनन् ! उनीहरू टुट्छन्, भाँचिन्छन् !!

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    मुलुक यतिबेला लकडाउनमा छ । आममानिसका दैनिकी बदलिएका छन् । मानिसहरू पूर्वमान्यताबाट झस्किएका छन् । सर्वसाधारणदेखि आफूलाई महान् सम्झने व्यक्ति र समुदाय ‘सामान्य अवस्था कहिले फर्कन्छ ?’ भन्दै कुर्न विवश छन् । अत्यावश्यक तयारीको निम्ति मुलुकले पाएको बहुमूल्य समय सरकारले लफ्फाजीमा खेर फाल्दाको परिणाम डरलाग्दो बन्दै छ ।

    युवा निर्यात गर्ने र सामान आयात गर्दै मुलुकको कायाकल्प गर्ने रोडम्यापमा रमेको सरकार लकडाउनमै हराएको अवस्था छ । ठुला उद्योगीदेखि सामान्य ज्याला–मजदुरी गर्ने मानिसले भोग्ने समस्या ट्याकल गर्न, कोरोनासँग मुकाबिला गर्न आवश्यक औषधि, स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा–सामानको जोगाड, महामारीसँग मुकाबिला गर्ने अल्पकालीन र दीर्घकालीन रणनीति बनाउन सरकार चुकेको छ । अपर्झट लकडाउन घोषणा गर्दा ठाउँका ठाउँ थुनिएका मजदुर र सर्वसाधारणको उद्धार–रणनीति देखापरेको छैन । कृषिजन्य सामानहरू दूध, दही, माछा, साग, तरकारी, फलफूलको ओसारपसार र बिकी–वितरण कसरी गर्ने भन्ने तयारीबिना गरिएको लकडाउन अत्यन्त कष्टदायक बन्दै छ ।

    आममानिसको दैनिकी कठिनतम् बन्दै गएको समयमा प्रधानमन्त्रीले देशवासीलाई धम्कीपूर्ण भाषामा सोधेका छन्– ‘स्वतन्त्रता रोज्ने कि जीवन ?’ गत चैत २५ गते प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा आफ्ना आलोचकहरूप्रति ‘शासक’को भाषामा रवाफ देखाउँदै भनेका छन्– ‘सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियौँ भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुनसक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ ।’

    सो ‘सम्बोधन’पश्चात् मुलुक ‘धृतराष्ट्र’को लहडमा चल्नुपर्ने मान्यता जबर्जस्त ढङ्गबाट स्थापित गरिँदै छ । विधि, नियम, प्रकिया आफ्ना स्वार्थको निम्ति धमाधम परिवर्तन गरिएका छन् । ‘यती’देखि ’ओम्नी’सम्म धृतराष्ट्रको ‘अतिरिक्त प्रेम’ झल्किएको छ । मुलुकमा जबर्जस्ती लादिएका अनियमितताका काण्ड र कर्ताको विरुद्ध कहीँ–कतैबाट प्रश्न उठ्नासाथ तत्काल खारेज गर्न धृतराष्ट्रको भूमिकामा प्रधानमन्त्री ओली स्वयम् देखापर्दै छन् ।

    प्रधानमन्त्री स्वास्थ्यलाभ गर्दै छन्, मुलुक रोगी बन्दै छ । मुलुकलाई लागेको रोगसँग लड्न उनले ‘ईश्वर’लाई कमान्डर तोकेका छन् । उनको कमान्डर र सिपाहीहरू जनताको नजरमा नराम्रोसँग गिरेका छन् । यस्तो विषम परिस्थितिमा उनीहरूबाट भए–गरेका अनुपयुक्त कामलाई धृतराष्ट्रको शैलीमा प्रधानमन्त्रीले ढाकछोप गरेसँगै उनी र उनको स्वार्थप्रति जनताले गम्भीर सवाल गरेका छन् । तपाईंको जन्मदिनमा हेलिकोप्टरमा केक ओसार्नेहरू ‘पिपिई’ बोकेर कहाँ–कहाँ पुगेका छन् ? राष्ट्रपतिलाई शीतल निवासबाट विमानस्थलसम्म हेलिकोप्टरमा पुऱ्याउने सरकार सीमानामा अलपत्र नागरिक लिन बस लिएर किन पुग्न सक्दैन ? विद्यार्थीसँग अधिकतम् शुल्क लिने मेडिकल कलेज र निजी अस्पताल सामान्य ज्वरो आएका बिरामी नहेरेर ओपिडी बन्द गरी बस्दा सरकार किन मस्त छ ?

    जनता बचाउने भन्दै दीर्घरोगीलाई अस्पताल जाने बाटो समेत बन्द गर्ने कामले सरकार कसरी सर्वसाधारणको पहुँचमा छ ? अत्यन्त कठिन परिस्थितिमा दिन–रात एक गर्ने नेपाल प्रहरी र स्वास्थ्यकर्मीलाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्नेमा प्रहरीको तलब कटौतीको अप्रिय निर्णय कसरी हुँदैछ ? देश नै डुब्न लाग्दा कात्रोमा कमिसन खोज्नेलाई बचाउने धृतराष्ट्रको मजबुरी के हो ? कोरोनाको कारण ‘सप्लाई–चेन’ भत्किएको छ । यसलाई ठिक गर्ने जाँगर र तागत धृतराष्ट्र र उनका सिपाहीसँग रहेको सङ्केतसम्म देखिँदैन । व्यावसायिक किसान, उपभोक्ता र आश्रित परिवार सरकारको आडभरोसा नपाउँदा डिप्रेसनको स्थितिमा छन् । विश्वव्यापी आर्थिक मन्दीको समयमा मुलुकले मुक्ति पाउन सुशासन र भ्रष्टाचारको विरुद्ध कठोर कदम चाल्नु अत्यावश्यक छ । तर रोजगारीका सबै अवसर बन्द भएको यस विषम परिस्थितिमा धृतराष्ट्रको अर्थशास्त्र केवल ‘डाक्टर अर्थमन्त्री’को भरोसामा छाडिएको छ ।

    सतहमा हेर्दा विश्वको रफ्तार रोकिएको छ तर जिन्दगीमा कुनै कुरा स्थिर हुँदैनन् । यतिबेला बाहिरी दुनियाँको दौड स्थगित जस्तो देखिए पनि जीवनको आन्तरिक गतिमा कुनै कमी छैन । बाहिरतर्फका सारा दौड व्यर्थ लाग्न थालेको यस अवस्थामा मानिसको चेतना आफैभित्र अधिक रफ्तारमा दौडिन सुरु गर्दैछ । हामीले पढेका छौँ, सुनेका छौँ कि धर्मशास्त्र–नीतिशास्त्रले चोरी गर्नुलाई पाप भन्छ । तर, शोषण गर्नुलाई पाप भन्दैन । अझ रमाइलो कुरा– चोरी पाप हो तर धन पाप हैन । चोरीको कमाई पाप हो तर शोषणको कमाई पाप होइन । भनिन्छ, ‘धनबाट पुण्य पाइन्छ ।’ पाखण्डी र व्यापारीहरू जसरी भए पनि धनमार्फत पुण्य कमाउन लागेका छन् । पछिल्लो समय सेवक, भक्तको घेराबन्दीमा सत्तासीन धृतराष्ट्रसमेत चोरीको धनमा पुण्य खोज्दै छ । समाजमा गडबडी छ । अनीति छ । अन्याय छ । भ्रष्टाचार छ । यी सबै गडबडी रोक्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माण गर्ने सोच धृतराष्ट्रकै कारण थला पर्दैछ ।

    अनियमितताका असङ्ख्य घटना उजागर हुँदै गर्दा दार्शनिक रजनिशले प्रवचनमा व्यक्त गरेको किस्सा पस्कनु सान्दर्भिक छ । एउटा राजाको मन्त्री बहुलाएको रहेछ । धेरैजसो मन्त्रीहरू बौलाहा नै हुन्छन् । साँचो कुरा त त्यो हो– जो बहुलाएको हुँदैन त्यस्ता व्यक्ति मन्त्री नै हुँदैनन् । एक दिन बहुलाएको मन्त्री राजाको शयन कक्षमा प्रवेश गऱ्यो र राजालाई चुम्बन गर्न थाल्यो । राजा हडबडाएर उठे र भने, ‘तिमीले के गरेको ? तिमीलाई थाहा छैन ? यस्तो काम गर्नेलाई मृत्युदण्डको सजाय दिइने छ ।’ मन्त्रीले जवाफमा भन्यो– ‘महाराज माफ होस्, मैले त महारानी सुकला हुनुभएको होला भन्ठानेको थिएँ ।’ मन्त्रीको जवाफ सुनेर राजा तीनछक परे र भने, ‘तिमी साँच्चीकै बहुलाएको रहेछौ, किनभने तिमीले जे अपराध गरेका छौ त्यस अपराधबाट बच्न तिमीले गरेको बहाना झन् ठुलो अपराध हो ।’ वर्तमान समय मुलुकको अवस्था रजनीशको उक्त कथासँग ठ्याक्कै मेल खान्छ । एउटा समस्या समाधान गर्न नवीन समस्या जन्माउने ओली सरकारको क्रियाकलाप सतहमा छरपस्ट भएका छन् ।

    दृष्टिविहीन मानिसले प्रकाश देख्दैन । साथै उसले अन्धकार पनि देख्दैन । अन्धकार र प्रकाश देख्ने तागत आँखासँग नै हुन्छ । प्रकाशको अभावको अनुभव नै अन्धकार हो भन्ने आँखाले मात्र जान्दछ । धृतराष्ट्रहरू अन्धा हुन्छन् । अन्धा मानिसले अँध्यारोको कल्पना गर्न सक्दैन भने उसले प्रकाशको कल्पना कसरी गर्न सक्छ ? प्रकाश जान्ने एउटै उपाय आँखा हो । आँखाको सट्टा विश्वासले काम गर्दैन । प्रधानमन्त्रीसँग आँखा छैन, उनीसँग छ त केवल विश्वास । विचार प्रयोग गर्दै विवेकसम्म पुग्न प्रधानमन्त्रीलाई विश्वासले रोकेको छ । विश्वासमा अडिएका प्रधानमन्त्री कान्तिकारी हैनन् । प्रधानमन्त्रीले आफ्नो कान्ति विश्वासमा विसर्जन गरिदिएका छन्, जसको कारण आज भइरहेका तमाम गडबडी उनी देख्न सक्दैनन् ।

    प्रधानमन्त्री ओली अज्ञानी हैनन्, उनी पण्डित हुन् । ज्ञानी हुन् । अज्ञानी भएका भए आज उनी मुलुकमा के–के भइरहेका छन् ? भन्दै विनम्रतापूर्वक जान्न चाहन्थे । उनले आफ्नो आँखामा विश्वासको पट्टि बाँधेका छन् । उनको विश्वासले झुटो ज्ञान वृद्धि भएको छ । त्यो ज्ञान हैन, मिथ्या ज्ञान हो । भ्रम हो । जसले गर्दा उनी सत्यबाट बेखबर छन् । आफ्ना सेवक र भक्तबाट घेरिएर बस्नमा खुसी छन् । आँखा चिम्लेर शास्त्र पढ्न सकिन्छ तर जिन्दगी पढ्न र देख्न आँखा खोल्नु पर्दछ । त्यही काम प्रधानमन्त्रीबाट भइराखेको छैन ।

    महाभारत युद्धमा पुत्र दुर्योधनलाई भीमले हत्या गरेसँगै धृतराष्ट्रको नजरमा भीम एक नम्बरको दुश्मन हुन पुगे । राजा धृतराष्ट्र कुनै पनि हालतमा भीमलाई मार्न चाहन्थे । युद्ध समाप्त हुनासाथ पाण्डवहरू राजा धृतराष्ट्रलाई भेट्न हस्तीनापुर दरबार पुगे । अन्धा धृतराष्ट्र भीम भएको स्थानतिर लम्कनासाथ भगवान् कृष्णले विषयको गम्भीरतालाई बुझ्दै भीमलाई केही पछि हट्न इसारा गरे । जब धृतराष्ट्रले भीमलाई अँगालो हाल्ने इच्छा जाहेर गरे । तब श्रीकृष्णले भीमको स्थानमा एउटा फलामको मूर्ति राखी दिए । धृतराष्ट्र यति शक्तिशाली थिए कि उनले फलामको मूर्तिलाई साँच्चीकै भीम ठानेर चकनाचूर पारी दिए । राजनीति र कूटनीतिका महाज्ञाता राजा धृतराष्ट्र आफ्नो एक नराम्रो गुणको कारण तमाम सद्गुणलाई फिका बनाउँदै अन्तिममा बनवास जान राजी भए ।

    सत्ता र शक्तिको नसामा बलशाली बनेका प्रधानमन्त्री ओलीले पार्टी र संविधानलाई आफ्नै पेवा सम्झिन पुगेका छन् । आफूलाई सिंहदरबारको कुर्सीसम्म पुऱ्याउने जनतालाई समेत दुश्मन देख्न तयार छन् । आफ्नै कमजोरीको सिकार बन्दै उनी पार्टीभित्र छलफल र अन्तरक्रियामार्फत जन्मने विदुर र सञ्जयलाई देख्न र सुन्न पनि नचाहने अवस्थामा पुगेका छन् । सत्तासीन धृतराष्ट्र अत्यन्त सानो घेरामा बस्दै मुलुकवासीको भाग्यसँग खेलबाड गर्न तल्लीन छन् तर सच्चिन राजी छैनन् । विश्व इतिहासले बताइसकेको छ– झुक्ने एक कला हो । तर, धृतराष्ट्रहरू झुक्न चाहँदैनन् । उनीहरू टुट्छन्, भाँचिन्छन् । घटना र विचार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij