बर्दियाको कांग्रेस पार्टी कार्यालयलाई बनाइयो क्वारेन्टाइन
बर्दिया टुडे
चैत्र १७, २०७६ सोमवार
१०:५१:२३ मा प्रकाशित
4.3K
SHARES
4.3K
SHARES
नेपाली कांग्रेस बर्दियाले गुलरिया नगरपालिका बडा नं ६ मा रहेको पार्टी कार्यालय "कृष्ण दिव्य स्मृति भवन" लाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याएकाे छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आफ्ना जिल्लावासीलाई पनि सहज होस् भन्ने उद्देश्यले पार्टी कार्यालयमा नै क्वारेन्टाइन निर्माण गरिएको नेपाली कांग्रेस बर्दियाका सभापति एंव संघीय सांसद संजय कुमार गौतमले बताए ।
देशमा असहज परिस्थिति रहेको यो अवस्थामा थोरै भए पनि हातेमालो गर्ने हेतुले पार्टी कार्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय गरेर आज स्थानीय गुलरिया नगरपालिका बडा नं ६ लाई हस्तान्तरण गरिएको गौतमले जानकारी दिए ।
१० जनासम्म बस्न मिल्ने व्यवस्था गरिएको यो क्वारेन्टाइनमा रहने हरेकको आर्थिक भार खानादेखि सम्पुर्णको व्यवस्थापन समेत काँग्रेस पार्टीले गर्ने समेत उनले बताए । गाैतमले जिल्लामा भारतबाट फर्किनेको संख्या बढ्ने क्रम जारी रहेकोले थप क्वारेन्टाइन आवश्यकता हुने देखेर क्वारेन्टाइन निर्माण गरिएको बताए ।
सोमबार एक कार्यक्रमका बीच बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले र गुलरिया नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण गौतमको उपस्थितिमा गुलरिया नगरपालिका बडा नं ६ का बडा अध्यक्ष निरज कुमार शर्मालाई क्वारेन्टाइनको साँचो हस्तान्तरण गरिएको छ।
ADVERTISEMENT
बर्दियामा हालसम्म ८ सयभन्दा बढी भारत र अन्य देशबाट आएका नागरिकहरुको चेकचाज गरिएको र १ सय ४८ जना बर्दियाको बिभिन्न स्थानिय निकायको प्रयासमा खोलिएका क्वारेन्टाइन राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
जिद्यलामा सञ्चालित क्वारेन्टाइनहरुमा २ सय ९३ बेडको व्यवस्था रहेको समेत प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए ।
देशमा हाल सम्म ५ जनामा कोरोना भाइरस संक्रमित देखिएको र बर्दियाको छिमेकी जिल्ला कैलालीमा समेत एक जना कोराेना भाइरस संक्रमित विरामी देखिए पछि प्रशासनले सुरक्षा व्यवस्था कडा गरि हिडडुलमा समेत बन्देज लगाएको छ ।