Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लकडाउनको प्रत्यक्ष मारमा एचआईभी/एड्स संक्रमित

  • बर्दिया टुडे
  • 4.8K
    SHARES
  •  

    तीन दिनदेखि जारी लकडाउनको प्रत्यक्ष मारमा एचआईभी/एड्स संक्रमित परेका छन्। उनीहरूले बाँचुन्जेल नियमित खानुपर्ने एन्ट्रिरेट्रो भाइरल (एआरभी) औषधि सकिएर अस्पताल पुग्न नपाएपछि संक्रमितहरू समस्यामा परेका हुन्।

    संक्रमितका लागि औषधि बर्दिया अस्पतालमा रहेको एन्टिरेट्रो भाइरल थेरापी (एआरटी) सेन्टरबाट निःशुल्क पाइन्छ। कोरोना भाइरस रोक्न लकडाउनका कारण चौतर्फी बन्द भएपछि संक्रमितलाई औषधि प्राप्त गर्न कठिनाइ भएको सहयोगी हात नेपाल बर्दियाका समुदायमा आधारित स्वास्थ्य हेरचाह (सीएचवीसी) कार्यक्रमका मोबिलाइजर डाँसीराम प्रसाद अधिकारीले बताए।

    बर्दियाको भुरीगाउँ, ढोडरी, ताराताललगायत गुलरियामा बसोवास गर्दै आएका संक्रमितको नियमित सेवन गर्नुपर्ने औषधि सकिएपछि तनाव भएको छ। उनले भने, ‘हिजो मात्र स्वास्थ्यचौकीमार्फत ३ जनाको औषधि पुर्‍याइएको छ। अझै ४ जनाको औषधि सकिएको खबर आएको छ। आवश्यक परेका साथीहरूलाई औषधि पुर्‍याउन अस्पतालसँग समन्वय गर्र्दै छाैँ’ लकडाउनको अवस्था लम्बिए थप समस्या आउने चिन्ता उनको छ। अधिकारी आफू पनि एचआईभी संक्रमित हुन्।

    बर्दिया एआरटी सेन्टरबाट महिला, पुरुष र बालबालिका गरी ९४ जनाले एआरभी औषधि लिइरहेको एआरटी काउन्सिलर शोभा खड्काले बताइन्। केही स्वास्थ्य चौकीमा एआरभी औषधि पठाए पनि धेरैजसो स्वास्थ्य चौकीमा पठाउन कठिन छ। सार्वजनिक भएका संक्रमितलाई त सजिलो छ। तर, गोपनीयतामा रहेकाहरूलाई धेरै चुनौती छ। अधिकांश संक्रमित सार्वजनिक नभएका कारण ठाकुरद्वारा, भुरीगाउँ, बढैयाताल क्षेत्रमा औषधि पठाउन नसकिएको हो।

    बिरामीलाई सहयोगी हात नेपालसँग समन्वय गरेर औषधि घरमै पुर्‍याउने सम्बन्धमा सरसल्लाह भइरहेको छ। संस्थाबाट एक जनालाई प्रशासनमार्फत सवारी अनुमति लिन लगाई औषधि पठाउने तयारी गरिएको छ। उनले एआरभी औषधि स्टक रहेकाले संक्रमितहरू कत्ति पनि आत्तिनु नपर्ने बताइन्।

    बर्दिया जिल्ला खुला सिमाना भएका कारण प्रवासी कामदार तथा उनका परिवारमा एचआईभी संक्रमणको जोखीम रहेको बताइन्छ। सेभ द चिल्ड्रेनको सहयोगमा राष्ट्रिय एचआईभी÷एड्स महासंघ नेपाल (एनएपीएन) मार्फत बर्दियामा एचआईभी संक्रमितलाई सहयोगसँगै समुदायमा आधारित हेरचाह र सामुदायिक स्याहार केन्द्र सञ्चालन गरिएको सहयोगी हात नेपाल बर्दियाले जनाएको छ। अन्नपूर्ण पाेस्ट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij