बर्दियामा लुकीछिपि नेपालप्रवेश गरेका ७ मध्ये एक जनालाई उच्च ज्वरो आएपछि बर्दिया अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
बाँकी ६ जनालाई जिल्लामा रहेको क्वारेन्टाइनमा पठाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । ज्वरो आएकााविरामीको कोरोना भाइरस परीक्षणका लागि काठमाडौँ पठाइने लामिछानेले बताए ।
उच्च ज्वरो आएका बिरामी भेटिएपछि बर्दियामा झनै उच्च सर्तकता अपनाइएको छ । भारतीय सिमावर्ती क्षेत्रमा अत्यावश्यक बाहेक आवतजावतमा रोक लगाइएको छ । आवतजावत गर्नै परे तोकिएको स्थानबाट स्वास्थ्य परीक्षण गराएर मात्र आवतजावत गर्न पाउने व्यवस्था गरेको छ । जिल्लाका सबै जसो स्थानीय निकायले अत्यावश्यक सेवाप्रवाहबाहेक अन्य सार्वजनिक सेवाहरु बन्द गराएका छन् ।
हाटबजार र मासु पसलहरु बन्द गराइएको छ । अधिकांश स्थानीय सरकारका प्रमुखहरुले नगरबासीको नाममा सम्बोधन गर्दै अप्ठ्यारो घडीमा सजग र संयम रहन आग्रह गरेका छन् ।
सबै स्थानीयतहले आइसोलेसन वार्ड र क्वारेन्टाइन व्यवस्थापन गरेका छन् । भारतसँग सीमा जोडिएकाले भारतीय सिमा क्षेत्र र अरु नगरपालिकाले नगरको सीमामा हेल्थ डेस्क स्थापना गरिएको छ । (नयाँ पत्रिकाबाट)