राजनैतिक आडमा विद्यालयमा कति सम्म वेथिती हुदो रहेछ भन्नेकुरा राजापुरको अमर सहिद माध्यमिक विद्यालयमा उदाङ्गीएको छ । विद्यालयमा भएका विभिन्न घटनाक्रमले यो कुराको पुष्टि गरेको हो । विद्यालय व्यवस्थापन समितिले राजनैतिक आडमा बिभिन्न विषयमा मनाेमानी गर्दै गएपछी पछिल्लो समय स्थानीय स्तरमा ब्यापक आलोचना भएको छ ।

विद्यालयले गत पौष महिनामा गुणस्तर सुधार अनुदान शिर्षक अन्तर्गत नेपाली भाषाको परिक्षा अर्काे सुचना नहुञ्जेल सम्मका लागि स्थिगित गरेको थियो । सो नेपाली विषयको परिक्षाका लागि स्थानीय १५ जना शिक्षकहरु परिक्षामा सहभागी भएकोमा २ जना आधारभुत नि.मा.वि. र २ जना मावि.(साविक उमावि) तह गरी ४ जनालाई छनौट गरिएको थियो ।

छनौट पश्चात शिक्षक छनौट समितिले गत पौष २४ गतेको प्रकाशित गरेको नतिजा अनुसार मावि तहमा सुधा चौधरी र भिमा के.सी. रहेका थिए भने निमावि तहमा सुनिता चौधरी र गुलेली चौधरी लाई छनौट गरेको थियो तर माइनटिङ्गमा भने मावि तहमा निमाविका सुनिता चौधरी र गुलेली चौधरीलाई राखिएको छ भने निमावि तहमा माविका सुधा चौधरी र भिमा के.सी.लाई राखिएको छ । माइनटिङ्गमा भएको यो ठुलो गल्तिलाई विद्यालयको तर्फबाट कुनै पनि गलत नगरेको प्रअ सरोज झाले बताए ।
निमावि शिक्षक संयोजक जगतराम चौधरीलेले स्थानीय (नाम परिवर्तन) लाई पैसाको व्यवस्थापन गर्नुहोस् अबको आधा घण्टापछि परिक्षा सुरु हुन्छ भन्दै फोन गरेको र पैसाको बारेमा कुनै पनि प्रतिक्रिया नदिएपछि लगत्तै १ घण्टा पछि प्राविधिक कारण देखाउँदै परिक्षा स्थिगित गरिएको स्रोतले जनाएको छ । समितिले नतिजा सार्वजनिक गर्नको लागि लेखिएको माईनटमा साविक उच्च माविका लागि परिक्षा दिएका भिमा केसी र सुधा चौधरीलाई आधारभुत तहको नतिजा लेखिएको छ भने सोही माईनटिङ्गको आधारभुत तहका लागि दिएको परिक्षार्थीलाई साविक उमाविको नतिजा भनि माईनटिङ्ग नतिजा प्रकाशन गरिएको छ ।
शैक्षिक क्षेत्रमा राजनितिक खोल ओढी आफु समक्षकका व्यक्तिहरुलाई परिक्षामा उतिर्ण गराइएको व्यापक जन गुनासो आई रहेका बेला विद्यालय व्यवस्थापन समिति,शिक्षक छनौट समिति र विद्यालयका छुट्टा छुट्टै जवाफहरु आएका छन् । शिक्षक छनौट प्रक्रियाको विषयमा समितिका अध्यक्ष गुरु प्रसाद चौधरी,प्राधानाध्यापक सरोज झा,शिक्षा शाखाका दल बहादुर चौधरी र आधारभूत नेपाली संयोजक जगतराम चौधरी गरी ४ जनाले गरेको निर्णय प्रति यहाँका सरोकारवालाहरुले व्यापक आपत्ती जनाएका छन् ।
शिक्षा नियमावलीमा शिक्षक छनौट समितिमा को को रहने भनि प्रष्ट खाका नभएको हुँदा हामीले आपसी सहमतिबाटै शिक्षक विशेषज्ञ छनौट गर्नेनिर्णय गरेको राजापुर शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरीले बताए ।
गत पौष २४ गते सार्वजनिक गरिएको शिक्षक छनौटको नतिजालाई बदर गर्न समेत शिक्षा विकास तथा समन्वया शाखाले सम्बन्धित कार्यालयमा पत्राचार गरीसकेको छ ।

परिक्षा छनौट समितिले आफ्नो मनोमानी रुपले शिक्षक छनौट गराएको स्रोतले आरोप लगाएको छ । परिक्षाको नतिजा सार्वजनिक गर्दा रातीको करिब १ बजेसम्म विद्यालयमा बसेर छलफल गरिएको विद्यालय तथा समितिले जनाएको छ ।
विद्यालयले शिक्षक गर्दा नियमबमोजिम कुनै पनि कार्य नभएको शिक्षा विकास तथा समन्वय ईकाई बर्दियाले गरेको सिफारिस पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ “साविक उच्च माध्यामिक तहको नेपाली विषयको अनुदान कोटाको अनुमति प्राप्त गरी मिति २०७६÷०९÷२४ मा शिक्षक नियुक्ति गर्दा सामुदायिक उच्च माध्यामिक तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१ (संशोधन सहित) बमोजिम माध्यामिक तह तृतिय श्रेणाीको नेपाली विषयको शिक्षकलाई विषय विशेषज्ञमा नियुक्ति गरेको तथा उच्च माध्यामिक तह शिक्षक व्यवस्थापन निर्देशिका २०७१ (संशोधन सहित) को बुँदा नम्बर ३.६ (क) मा प्रयोगात्मक परिक्षाको व्यवस्था भएकोमा सो समेत विद्यालयबाट नगरिएको सामुदायिक विद्यालयको उच्च माध्यामिक शिक्षक नियुक्ति गर्ने सम्बन्धमा सामुदायिक विद्यालय व्यवस्थापन शाखा सानोठिमी भक्तपुरको च.नं.२५ मिति २०७२÷०६÷०७ को थप निर्देशनमा साविक उच्च माध्यामिक शिक्षक नियुक्ति गर्दा विषय विशेषज्ञ माध्यामिक तह द्धितिय श्रेणी,रा.प.द्धितिय श्रेणी वा सो सरहका नेपाल सरकारका कर्मचारी वा क्याम्पसमा कार्यरत उपप्राध्यापकहरु मध्येबाट विज्ञ छनौट गर्नुपर्ने प्रक्रियाहरु पूरा गरेको नदेखिएको छानविनको क्रममा पाइएकोले उक्त परिक्षा बदर गर्न मानसिक देखिएकोले सिफारिस साथ अनुरोध छ” ।
मिति नै उल्लेख नगरि समितिले निर्णय गरेको माईनटिङ्गमा निमावि तहका परिक्षार्थीलाई मावि र मावि तहकालाई निमावि तहमा नाम उल्लेख गराईएको छ । विना मितिकै माईनटिङ्गमा गोला प्रथाद्धारा गरिएको विषय विशेषज्ञमा मावि तहका लागि एलिजा जि.सी. र निमावि तहका लागि नारायण प्रसाद भट्टराईलाई छनौट गरिएको थियो ।

यता अमर शहिद माध्यामिक विद्यालयमा निजि स्रोतको पूर्णकालिन करार शिक्षकको रुपमा कार्यरत शिक्षिका भिमा के.सी.ले शिक्षक छनौटमा विद्यालयले आर्थिक चलखेल गरेका र आफुले उचित न्याय पाउँ भन्दै अन्तरिम आदेश सहितको उत्पेषण परमादेश लगायतको उपयुक्त आदेश जारी गरिपाउँ भन्दै सर्वाेच्च अदालतमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय शाखा सानो ठिमी भक्तपुर,अमर शहिद दशरथ चन्द मा.वि.राजापुर,विद्यालय व्यवस्थापन समिति मा.वि. शिक्षक संयोजक गुरु प्रसाद चौधरी र निमावि शिक्षक संयोजक जगतराम चौधरी, राजापुर,राजापुर नगरपालिका राजापुरका नगर प्रमुख शिव प्रसाद थारु,राजापुर न.पा. शिक्षा शाखाका प्रमुख दल बहादुर चौधरी,शुक्र माध्यामिक विद्यालय मधुवन न.पा.बर्दियाकी तृतिय श्रेणी विषय विशेषज्ञ शिक्षक एलिजा जि.सी. र अमर शहिद माध्यामिक विद्यालय व्यवस्थापन समितिको गत माघ १६ गते बसेको बैठकबाट मावि तह नेपाली विषयको तृतिय श्रेणी शिक्षकमा अनुमोदन भएकी राजापुर नपा वडा नं. ३ स्थितकी शिक्षक सुधा चौधरी गरी ७ जना विरुद्ध रिट दायर गरेकी छन् । त्यस्तै विद्यालय व्यवस्थापन समितिले एकलौटी ढंगले सामाजिक विषयको शिक्षक सरुवा प्रक्रिया नपुगेका शिक्षकलाई सिफारिस दिएको र पुगेका शिक्षकलाई नदिएको पाइएको छ ।
निमावि तह शिक्षक संयोजक जगतराम चौधरीले शिक्षक छनौटका विषयमा चौथो स्थानमा आएको व्यक्तिलाई पहिलो स्थानमा ल्याएर पास गराएको अडियो क्लीपमा स्पष्ट छ । क्लीपमा चौधरीले भनेका छन्—“म हेलु प्रधान हुँ,मैले जे भन्यो त्यही हुन्छ”। उनले थपे—“मैले प्वाईन्ट ५० दिएर आफुले चाहेको मान्छेलाई सफल बनाएको हुँ”। राजापुर स्थित स्थानीय सञ्चारमाध्यसंग कुरा गर्दै चौधरीले आफुले अडियोमा बोलेको स्वीकार गरेका छन् । पत्रकारसंगको कुराकानीमा चौधरीले भने—“नतिजा सार्वजनिक गर्ने बेलामा रातीको १ बजिसकेको थियो ,काम र प्रेशरले गर्दा थकान पनि थियो,माईनटिङ्गमा के लेखियो हेर्न पाईन मैले हस्ताक्षर गरेकै हुँ,केही कमजोरीहरु त भएकै हुन् ।” संयोजक चौधरीलाई कसले दबाब दिएको भन्ने प्रश्नमा भने बिभिन ठाउँबाट दबाब आएको छ कस्लाई के भन्ने ।
त्यस्तै विद्यालयमा भईरहेको चरम लापरवाहीको बारेमा तपाई के भन्नुहुन्छ भन्ने प्रश्नमा मावि शिक्षक संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद चौधरीले भने—“नतिजा प्रकाशनमा समस्या भएकै हो,शिक्षक छनौटको विषयको अख्तियार र सर्वाेच्चमा गईसकेको हुँदा आफु यो विषयमा धेरै बोल्दैन,माथीको निर्देशन अनुरुप चल्नै पर्छ” फोटो कफीलाइ आफुहरुले नमान्ने बताएका हुन । त्यस्तै विद्यालयका प्राधानाध्यापक सरोज झाका अनुसार—“माइनटिङ्गमा तथा शिक्षक छनौटमा कुनै पनि गलत भएकै छैन यदि भएको खण्डमा सर्वाेच्च र अख्तियारले जे आदेश दिन्छ त्यहि अनुरुप चल्ने छौं, शिक्षक छनौट जस्तो विषय हो कठिनाई र समस्याहरु आउँछन् नै तर पनि मलाई लाग्छ कुनै पनि कुनै पनि गलत भने गरे जस्तो लाग्दैन ।”
त्यस्तै माविको प्रअ भत्ता ५ सय भनि कानुनमा व्यवस्था हुँदा हुँदै विद्यालयको ३२ विगाह जग्गा ५ देखि ७ लाख सम्म विद्यालयका व्यवस्थापन समितिका सदस्यलाई नै ठेक्का दिने तथा शिक्षा नियमावली २०५९ परिक्षेद १७ को नियम ९६ को उपनियम ११ मा भएको व्यवस्था मावि प्रअ भत्ता प्रति महिना ५ सय तोकिएको भएपनि नियमको विपरित गई विद्यालयका प्राधानाध्यापक सरोज झालाई प्रति महिना ५ हजारका दरले आ.व. २०७४÷०७५ देखि भत्ता दिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको समेत स्रोतले जनाएको छ । प्रअ. भत्ता मासिक ५ सय रुपैयाँ मात्र लिनु पर्नेमा झाले मासिक ५ हजार रुपैयाँ बुझिरहेको स्रोतको भनाई छ भने हामीसंगको कुराकानीमा झाले भने—“यो विषयमा समितिले मलाई जेजति दिएपनि यो हाम्रो आपसी कुरा हो”। शिक्षक छनौटको विषय प्राय सबै स्कुलमा उस्तै उस्तै सिस्टम हो,तपाईहरुले बारम्बार हरेक समयमा हाम्रै स्कुललाई टार्गेट गरेको जस्तो मलाई लाग्छ,विद्यालयका यी सबै विषयमा अख्तियार र सर्वाेच्चमा फाईल पुगिसकेको छ ,माथिबाट जे आदेश आउँछ त्यहि अनुरुप कार्यान्वयन हुनेछ र म कुनै पनि विषयमा बोल्न चाहान्न”।

वि.स. २०७६ पौष १६ गतेको बजार भाउ तथा नेपाल खाद्य संस्थान राजापुर बर्दियाको प्राप्त दरभाउ प्रति क्वीन्टल रु २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा हुँदा हुदै विद्यालयले २ हजार ३ सय ९४ रुपैयाँ २६ पैसाका दरभाउले धान विक्रि गरेको छ । विद्यालयले रंगशालाको क्षेत्रफल घटाई बाँकी क्षेत्रफल २८ विगाह बराबर प्रति विगाह १५ क्सीन्टल ४० किलोग्रामका दरले हुन आउने रकम धान अनदाजी ६२ हजार १ सय रुपैयाँ हिनामिना गरेको समिति लेगरेको माइनटिङ्ग बमोजिम उल्लेख छ । त्यस्तै समितिले विद्यालयको स्वामित्वमा रहेको जग्गाहरु लेवलिङ्गका लागि कुनै पनि स्टीमेट र लागत खर्चहरु नखुलाई वि.व्य.स. सदस्य जगतराम चौधरीलाई जिम्मेवारी दिएको छ ।

अमर शहिद माध्यामिक विद्यालय राजापुरले सार्वजनिक विदा बाहेक अन्य दिन कुनै पनि दिन संघ,संस्था तथा व्यक्तिलाई कुनै पनि कार्यक्रम गर्न गराउन नपाउने भनि निर्णय गरेको छ । मैदानमा आयोजना हुने कार्यक्रमले विद्यार्थीको पठापाठनलाई असरपर्ने भन्दै समितिले यस्तो निर्णय गरेको विद्यालयका प्रअ सरोज झाले बताए ।
विद्यालयको खेल मैदानमा बर्दिया उद्योग वाणिज्य संघ राजापुरले आयोजन गर्दै आईरहेको बर्दिया महोत्सवलाई विद्यालयले कसैलाई नदिने निर्णय गरेको भन्दै संचालनमा रोक लगाइएको थियो । संघले आयोजना गर्ने महोत्सवबाट हरेक वर्ष विद्यालयलाई १ लाख रुपैयाँ भन्दा बढि आर्थिक सहयोग दिँदै आएको थियो । गत वर्ष विद्यालयको मैदानमा आयोजित महोत्सवबाट संघले तोकेको रकम सिधै विद्यालयको खातामा जम्मा गराएपछि यस वर्ष विद्यालयले मैदान उपलब्ध नगराउने निर्णय गरेको स्रोतको दावी रहेको छ ।

विद्यालयले कसैलाई पनि खेलमैदान उपलब्ध नगराउने निर्णय गरेतापनि यतिबेला विद्यालयकै खेलमैदानमा राजापुर प्रिमियर लिग आयोजना हुँदा विद्यालय व्यवस्थापन समिति मुकदर्शक भएर बसेको छ । विद्यालयको निर्णय विपरित विद्यालयले खेलकुदसंग सम्बन्धित कार्यक्रम भन्दै मौखिक रुपमा खेल आयोजनाको अनुमति दिएको विव्यस अध्यक्ष गुरु प्रसाद चौधरीले बताए ।
विद्यालयमा दिन प्रतिदिन यस्ता किसिमका गतिविधि पटक—पटक दोहोरिरहँदा सम्बन्धित निकाय मौन रहेको दखिन्छ । शिक्षक छनौटको मात्रै विषय नभई भौतिक सुधारात्मक कार्यमा विद्यालय तथा सम्बन्धित व्यक्तिहरुले चरमलापरवाही गरेको र शैक्षिक संस्थालाई दुहुनो भैंसी बनाएको माथीका तथ्यले पुष्टी गरेको छ । निकट भविष्यमा शैक्षिक गुणस्तर संगसंगै विद्यालयमा स्वच्छ विचारधाराको नेतृत्व आवश्यक रहेको देखिन्छ ।