गेरुवा गाउँपालिकाले वडा कार्यालय मार्फत सरसफाइ परिचयपत्र वितरण कार्य शुरु गरेको छ । गेरुवा गाउँपालिका–१ कार्यालयले विहीवारदेखि माधवपुर सप्तरंगी टोलबाट सरसफाइ परिचयपत्र वितरण कार्य शुरुगरेको हो ।
एक कार्यक्रमका वीच सरसफाइका ६ सुचकहरू पुरा गरेका ४१ घरधुरीलाई न. वडाका अध्यक्ष दयाराम वैद्यले सरसफाइ परिचयपत्र वितरण गरेका छन् ।

वडा कार्यालयले सुरक्षित शौचालय, सुरक्षित खाना, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, सार्वजनिक स्थानको सरसफाइ, सुरक्षित पानीको प्रयोग गरी ६वटा सरसफाईका सुचकहरुको अनुगमन गर्दा सय प्रतिशत सुचक पुरा गर्ने घरधुरीलाई मात्र सरसफाइ परिचयपत्र वितरण गरेको छ ।
वडा नं. १ को माधवपुर सप्तरंगी टोलमा ४८ घरधुरी रहेका छन् । टोलका ७ घरधुरीलाई सुचक पुरा गरेपछि मात्र परिचयपत्र उपलब्ध गराईने टोल समितिका अध्यक्ष विष्णु प्रसाद पुरीले बताए ।

१ न. वडा कार्यालयले सुरुवात गरेसँगै सो गाउँपालिकाका अन्य वडामा पनि सरसफाइ परिचयपत्र वितरण गर्ने तयारी भएको जानकारी प्राप्त भएको छ ।
वडाभित्र रहेका सबै घरधुरीले सरसफाइ परिचयपत्र पाएपछि मात्र पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने निर्णय गाउँपालिकाले गरेको छ ।
सरसफाइ परिचयपत्र प्राप्त गरेका घरधुरीलाई सेवा स्थानीयतहबाट गरिने सेवा प्रवाहमा प्राथमिकता दिने समेत गाउँपालिकाले जानकारी दिएको छ ।