नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बर्दियाको ३७ औं बार्षिक साधारण सभा मधुवन नगरपालिका स्थित नेपाल रेडक्रस साेसाइटी,मधुवन उपशाखा (ख) काे आतिथ्यतामा शनिबार सम्पन्न भएको छ ।
सभाकाे उद्घाटन गर्दै मधुवन नगरपालिकाका नगरप्रमुख गणेशबहादुर क्षेत्रीले साधारणसभा मार्फत बर्दिया जिल्लाकाे भाैगाेलिक वस्तुस्थितिका आधारमा रेडक्रसले निर्माण गर्ने विपद व्यवस्थापनका याेजना अनुसार सहयोग गर्न स्थानीय तहहरू प्रतिवद्ध रहेको विचार व्यक्त गरे ।

त्यसैगरि नेपाल रेडक्रस साेसाइटी बर्दियाका सभापति कृष्णप्रसाद गाैतमले रेडक्रस एक जनासंग मागेर अर्कोलाई सहयोग गर्ने संस्था भएकाले समन्वयात्मक ढंगले सबैकाे सहयोग लिई कार्य संचालन गर्न उपशाखाहरूलाई अनुराेध गरे ।
बार्षिक साधारण सभाकाे अवसरमा बर्दिया जिल्ला अन्तरगत रहेका ११ वटा उपशाखाहरूले गरेका वार्षिक गतिविधिका आधारमा उपशाखाहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
जसमा बारवर्दिया उपशाखा प्रथम,मधुवन (ख) उपशाखा द्वितीय र ठाकुरबाबा उपशाखाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल रेडक्रस साेसाइटी मधुवन (ख) का सभापति टाेपबहादुर भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सदस्य लक्ष्मीप्रसाद पाेखरेल,नेपाली कांग्रेस बर्दियाका सचिव जंगबहादुर मल्ल,नेपाल रेडक्रस साेसाइटी,बर्दियाका पूर्व सभापति महेशचन्द्र गाैतम,उपसभापति नवराज ढुंगाना,संगठन विभाग प्रमुख गणेश अर्याल,सानोश्री उपशाखा पूर्व सभापति दिलबहादुर के.सी.,नेपाली कांग्रेस,बर्दियाका सदस्य मेकबहादुर गुरूङ,नेकपा मधुवन नगरसमिति अध्यक्ष दुर्गाबहादुर वली लगायतका वक्ताहरूले साधारणसभाकाे सफलताको शुभकामना दिंदै मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखाका पदाधिकारी एवम् सदस्यहरू, उपशाखाका सभापतिहरू र २/२ जना प्रतिनिधिहरूकाे सहभागीता रहेको थियोे । नेपाल रेडक्रस साेसाइटी मधुवन(ख) का उपसचिव डिल्ली लामिछानेले संचालन गर्नु भएको सभाकाे उद्घाटन समारोहमा उपसभापति रामकुमारी शर्माले स्वागत गरेकी थिईन ।
साधारणसभाकाे बन्द सत्रले नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखाका मन्त्री अर्जुन सुवेदीद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम ,काेषाध्यक्ष चक्रबहादुर थापाद्वारा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन तथा प्रस्तावित आर्थिक विवरण र प्रस्ताव छानवीन समितिकाे तर्फबाट संयोजक ठाकुरबाबा उपशाखा सभापति यज्ञप्रसाद नेपालद्वारा प्रस्तुत विभिन्न प्रस्तावहरू पारित गरेको छ।

यसैगरी सभाले नेपाल रेडक्रस साेसाइटी बर्दियाकाे आगामी ३८ औं साधारणसभा बारवर्दिया उपशाखाकाे अातिथ्यतामा सन्चालन गर्ने निर्णय गरेको छ ।