अधिकार सहितको पहिचान तथा सुचीकृतका लागि तेस्रो राष्ट्रिय सोनाहा सम्मेलन सम्पन्न
बर्दिया टुडे
कार्तिक ९, २०७६ शनिवार
०३:५९:१४ मा प्रकाशित
2.6K
SHARES
2.6K
SHARES
बर्दियाको राजापुर नगरपालिका वडा नं. १ हिमालीपुरमा आज सोनाहा जातिको अधिकार सहितको पहिचान तथा सुचीकृतका लागि तेस्रो राष्ट्रिय सोनाहा सम्मेलन २०७६ भव्य रुपमा सम्पन्न भएको छ । सोनाहा विकास मञ्चका अध्यक्ष शान्ति सोनाहाको अध्यक्षतामा सम्पन्न तेस्रो राष्ट्रिय सोनाहा सम्मेलन २०७६ का प्रमुख अतिथि प्रदेश सांसद दिपेश थारु रहनु भएको थियो । राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरी विशिष्ट अतिथि रहनु भएको सम्मेलनमा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, वडाध्यक्ष खुशीराम थारु, नेपाली काङ्ग्रेशका नाचुराम थारु, लगायत अन्य पार्टी प्रतिनिधि, समाजसेवी, वुद्धिजीवि, सुरक्षाकर्मी, पत्रकार लगायत अथितिका रुपमा उपस्थित रहनु भएको थियो ।
वडा नं. १ का अध्यक्ष चौधरीले अन्य जातिको जीवन स्तरमा धेरै नै फरक आईसकेको भए पनि सोनाहाहरुको जीवन स्तर पहिले र अहिलेमा कुनै फरक नभएको भन्दै तिनै सरकारले यो जातिको विकासमा विशेष ध्यान दिनु पर्ने वताउनु भयो । सम्मेलनलाई सम्वोधन गर्दै राजापुर नगरपालिकाका प्रमुख चौधरीले सोनाहा जातिलाई जनजातिमा सुचीकृत गर्ने विषयमा स्थानीय सरकार पछि नपर्ने, नगरपालिकाले नगर क्षेत्रभर सोनाहा पुर्ख्यौली पेशामा कुनै पनि बन्देज नलगाएको र यो जातिको विकासका लागि नगरपालिकाले अग्रणी भूमिका खेल्ने वताउनु भयो । प्रमुख अतिथि तथा प्रदेश सांसद थारुले सोनाहा जातिको आर्थिक विकासका लागि विभिन्न आय आर्जन सम्वन्धि कार्यक्रम तथा तालिमको सञ्चालन गरिएको वताउनु भयो । प्रदेश सरकारले सोनाहा जातिको विकासका लागि प्रदेश अन्तर्गतको रातो कितावमा लेखि सकेको भन्दै सोनाहा जातिको विकासका लागि आफुले प्रदेशबाट महत्वपूर्ण भूमिका खेल्ने वताउनु भयो । सम्मेलनलाई समापन गर्दै सम्मेलनका अध्यक्ष शान्ति सोनाहाले आफुहरु पहिले देखिनै राज्यबाटै ठगिदै आएको वताउनु भयो । हरेक समयमा सोनाहाहरु प्रयोग मात्रै हुने वताउदै अध्यक्ष सोनाहाले आफ्ना सन्तानका लागि शिक्षा स्वास्थ्य, रोजगारी, तथा स्थानीय तथा देखि केन्द्र सम्म राज्य सञ्चालनको हरेक तप्कामा सोनाहालाई सहयोग गर्न माग गर्दै सम्मेलनको समापन गर्नु भयो । आफ्नो भाषा संस्कृति र पहिचानका लागि नेपाल भरका सोनाहाहरुको जमघट गराईएको सम्मेलनमा सोनाहा भेषभूषामा नाचगान समेत प्रस्तुत गरिएको नेपाल राष्ट्रिय सोनाहा संघर्ष समितिले जनाएको छ ।