Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सिन्को नभाँच्ने ओहदा मात्र ताक्ने !

  • बर्दिया टुडे
  • 2.2K
    SHARES
  • नेपाली समाजमा बहुचर्चित उखान छ ‘भाइ फुटे गवार लुटे’ । यतिबेला त्यस्तै भएको छ नेपाली काङ्ग्रेसमा । स्थानीय, प्रदेश र सङ्घीय संसद्को चुनावबाट किनारमा पारिएको काङ्ग्रेसलाई हालैको उपनिर्वाचनले केही त्राण दिएको थियो । त्यसै सन्दर्भमा समीक्षाको लागि बसेको केन्द्रीय समितिको बैठक असान्दर्भिक विषय उठाएर बहिष्कार गरिनु इमानदार काङ्ग्रेसजनका लागि दुर्भाग्य नै हो । किनकि, गत १३औँ महाधिवेशनमा संस्थापन पक्ष नेता एवम् पार्टी सभापतिबाट परास्त भएको समूहले यतिबेला हरेक इस्युमा हलो अड्काउने काम गरिरहेको छ ।

    १३औँ महाधिवेशनमा पराजित भएपछिका कुनै पनि गतिविधि सकारात्मक देखिएनन् पौडेल समूहका । त्यस्तो पात्र र प्रवृत्तिका कारण आज नेपाली काङ्ग्रेस रक्षात्मक पङ्क्तिमा पुगेको सबैमा विदितै छ । घर पोलेर रमाउने प्रवृत्तिले व्यक्ति त सकिन्छ–सकिन्छ, सिङ्गो लोकतन्त्र नै धरापमा पर्न सक्छ । तर यो यथार्थ मनन नगरी सामाजिक सञ्जालमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नामबाट भनिएको पाइयो– ‘अब नेपाली काङ्ग्रेसको काम छैन ।’ सामाजिक सञ्जालबाट प्रेसित उक्त विचार ‘बहिष्कार नीति’सँग जोडेर हेर्दा मेल खाएकोजस्तो देखिनु संयोग मात्र होइन । ‘जिउ रहे घ्यू पिउन पाइन्छ’ भनेजस्तै पार्टी रहे मात्रै नेतृत्वको अवसर पाइन्छ भन्ने मान्यतामा विश्वास नगर्नेहरूलाई ‘पदलोलुप’ बाहेक अर्को संज्ञा दिने ठाउँ छैन । केवल पदको लागि मात्रै आँखा चिम्लिनेहरू ‘भदौमा आँखा फुटेको डिँगो (वस्तु) सधैँ हरियो देख्छ’ भनेजस्तै हो ।


    ADVERTISEMENT

    images

    पार्टीलाई चुस्तदुरुस्त गर्ने हो भने एकढिक्का भएर भ्रातृ संस्थाहरूलाई क्रियाशील बनाउँदै पार्टी विधानले व्यवस्था गरेका विभागहरूलाई यथाशीघ्र पूर्णता दिँदै अघि बढ्नुको विकल्प छैन । पार्टीमा क्रियाशील सबै सदस्यहरू नेपाली काङ्ग्रेस नै हुन् भन्ने मान्यता साथ लाग्नु नेतृत्व तहमा रहेका हरेकको दायित्व हो । नेपाली काङ्ग्रेसमा विगतको तीतो अनुभव छ– मोहन चापागाईंजस्ता मानिसलाई काङ्ग्रेसको किचन क्याबिनेटसम्म पु¥याएर काङ्ग्रेसीहरूको तेजोबध गरेको । जसले अनाहकमा सुविधाजनक बहुमत प्राप्त पार्टी मध्यावधि निर्वाचनमा जान उद्यत् गरायो । अबका दिनमा यस्ता प्रसङ्गलाई पनि ध्यानमा राखेर पार्टीलाई गतिशील बनाउनुको सट्टा पाइलैपिच्छे अड्को थापेर बस्नु अवश्य पनि आत्मघाती कदम हो । आमरूपमा काङ्ग्रेसजनको अपेक्षा हो– पार्टीका नेताहरूले आपसमा सहमति र सहकार्यको माध्यमबाट पार्टीलाई गतिशील बनाउन् ।

    सत्तारुढ दलकै जस्तै काङ्ग्रेसमा पनि दुईवटा सभापतिको लालसा हो भने पनि ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ काम गर्न भएन । होइन भने अब धेरै अवधि बाँकी छैन, १२–१५ महिनाको प्रतीक्षापछि त अवश्य मौका मिल्नेछ । अहिले नै हलो अड्काउने काम नगर्दा नै उचित होला । यो कुन मान्यता र विधि हो सबै कुरा हार्ने पक्षले जे–जे भयो त्यही–त्यही गर्ने ? आफूले भनेअनुसार सबै हुने भए पार्टी सभापति र उहाँको बहुमतको के अर्थ रह्यो र ? यसकारण पौडेल समूहले केही समय धैर्य गर्नैपर्छ, अनि पार्टी नेतृत्व आफ्नो हातमा लिएर चमत्कारी नेताको रूपमा स्थापित भए हुन्छ । होइन भने तमासा देखाएर विरोधी हँसाउने काम बन्द गर्नु पर्छ ।

    प्राविधिक र निरन्तरताको परिणामले तपाईंहरू नेता बने पनि अब नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नवयुवाहरू तयार भएका छन् भन्ने कुराको पनि हेक्का राख्न जरुरी छ । बाबुबाजेको नाम भजाएर समयको हाँकलाई सामना गर्न सकिँदैन । नेपाली काङ्ग्रेसको आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादको यथार्थ धरातलमा उभिएर चल्न नसक्ने हो भने काङ्ग्रेसको राजनीति अन्धकारमय हुने निश्चित छ । रामचन्द्र पौडेल लोकतान्त्रिक समाजवादका व्याख्याता भएर पनि कुनै प्रभावकारी नीति तथा कार्यक्रम ल्याएको पाइएन । प्रजातन्त्रको पुनस्र्थापनापश्चात् लामो समय सत्ताभोग गर्दा पनि एउटा कुनै त्यस्तो समाजवादी कार्यक्रम जनताबीच प्रस्तुत गरेको देखिएन । अब उहाँको त्यस्तो विलक्षण क्षमता र प्रतिभा के बाँकी छ भन्ने अपेक्षा राख्ने ?

    पौडेल समूहले पार्टीभित्र आफ्नो उपस्थिति देखाउन बहिष्कारको नीति अवलम्बन गर्नु पराजित मानसिकताको पराकाष्टा हो । रामचन्द्र पौडेल आफ्नै बलबुतामा स्थापित नेता भएकाले हामी सबैको आस्था र विश्वासको केन्द्र हो । आमकाङ्ग्रेसजनको चाहना पनि जनस्तरबाटै उठेको नेताले नेतृत्व गर्नुपर्छ भन्ने हो । त्यही भएर शेरबहादुर देउवाले नेतृत्व हात पारेका हुन् । पार्टीलाई पुर्ख्यौली सम्पत्तिजस्तो गर्दा काङ्ग्रेसको हालत नाजुक भएको बिर्सन मिल्दैन ।

    समाजवाद भनेको काङ्ग्रेसको दस्तावेजमा आर्थिक समानता, सामाजिक न्याय र व्यक्तिगत स्वतन्त्रता हो । यिनै पूरा गर्दै अघि बढ्नु नै काङ्ग्रेसको तात्कालीन कार्ययोजनाका साथ सत्तामा पुग्ने लक्ष्य हुनुपर्छ । मानिसका आधारभूत अर्थात् मौलिक अधिकारलाई सुरक्षित गर्दै समाजवादको लक्ष्य हासिल गर्नु निश्चय पनि त्यति सजिलो विषय होइन । मानिसका व्यक्तिगत स्वतन्त्रताका बीच हासिल गरिने आर्थिक–सामाजिक न्याय नै वास्तविक समाजवाद हो । यसर्थ यस्ता पवित्र उद्देश्य हासिल गर्न पवित्र विचार र उदारता चाहिन्छ । एउटा प्रजातन्त्रवादीले पार्टीले दिएको अभिमतलाई बेवास्ता गर्दै आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने मान्यता राख्नु हास्यास्पद हुन आउँछ ।

    शब्दमा समाजवादी भनेर चिनिए पनि व्यवहारमा एउटा सिन्को नभाँच्ने नेताको छवि अब तोड्नुपर्छ रामचन्द्र पौडेलले । पार्टीको बैठक बहिष्कार गरेर बस्नु भनेको ‘हरुवा गोरुको छेरुवा दाउ’ हो । सबैभन्दा पहिले पार्टीका भ्रातृ सङ्गठनलाई पूर्णता दिँदै विभागहरू गठन गर्ने काममा अवरोध नगरौँ । सम्भव भए संस्थापन पक्षले पनि १४औँ अधिवेशनको प्रत्याभूति गराउँदा राम्रै हुन्छ । त्यसले पार्टीमा क्रियाशीलता र गतिशीलता प्रदान गर्छ । पार्टीलाई ऊर्जाशील बनाउन महाधिवेशनको प्रमुख भूमिका हुन्छ भन्ने तथ्य पनि सम्बन्धित पक्षले बिर्सन भएन । अस्तु । घटना र विचार बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij