Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपाली कांग्रेसको अन्तरंग : के हुँदैछ अबका दिनमा ?

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  •  

    नेपालको सबैभन्दा पुरानो र आजसम्मका परिवर्तनको नायक पार्टी नेपाली कांग्रेस निरन्तर विवादको घेरामा उभिने गरेको छ । पार्टी सभापतिमा वर्तमान सभापति शेरवहादुर देउवाको विजयपश्चात्को कार्यकाल दुई वटा समस्यासंग जुझिरहेको छ । पहिलो पार्टी भित्र निरन्तर रहेको असहमत समूहवादको दवाव र दोस्रो हो आफुमा निहीत अधिकारहरुको कार्यान्वयन क्षमता पहिचान गरी गर्नै पर्ने अनिवार्य कार्यहरु समेत नगरेको अवस्था । यी दुई समस्याको व्यूहबाट देउवा नेतृत्व निरन्तर आरोपित र प्रतिरक्षात्मक भइरहेको देखिन्छ । पार्टीलाई एकताको सूत्रमा मिलाउने, सबै पक्षलाई साथ लिएर संगठन सवल गराउने देउवाको प्रयासलाई असहमत समूहवादका पक्षधरहरुले निरन्तर असफल तुल्याउने प्रयास गरिरहेको देखिन्छ ।


    ADVERTISEMENT

    images

    ०७२ सालमा देउवा सभापतिमा निर्वाचित हुनु कुनै संयोग थिएन । ००३ सालदेखिनै नेपाली कांग्रेसमा स्थापित पारिवारिक लिगेसी र नियन्त्रणको अनिवार्य परिवर्तनको आकांक्षा अन्तरभूत कारण थियो । सुवर्ण सम्सेर र कृष्णप्रसाद भट्टराईको सभापतित्वकाल बाहेक सबै नेतृत्वका दिनहरु विपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र अन्तमा सुशिल कोइरालामा जोडिन पुगेको ७४ वर्षको नेपाली कांग्रेसको विगत हो । भट्टराई र राणाको कार्यकाल पनि कुनै समय विपी र अर्को समय गिरिजाप्रसादको इच्छा वा अनिच्छाको प्रभाव र छाँयामा चलिरहेको यथार्थतालाई विर्सनु हुँदैन ।

    लोकतान्त्रिक आन्दोलनमा कृष्णप्रसाद कोइराला र उहाँका परिवारको योगदान अतुलनीय छ । यस सत्यलाई नेपालको राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनको इतिहासमा स्वर्णाक्षरले लेख्नैपर्ने हुन्छ । तर परिवर्तन केकालागि थियो ? कुन परम्परा विरुद्ध परिवर्तन थियो ? एउटा पारिवारिक सत्ता र लिगेसीको अन्त्य गरी अर्को पारिवारिक लिगेसी स्थापित गर्न थियो ? वर्षौवर्षसम्म चलेको पारिवारिक नियन्त्रणको विकल्पमा अरु कसैले नेतृत्व लिनु हुदैन भन्ने मान्यता स्थापित गर्नु थियो ? होइन । यसैकारण नेपाली कांग्रेसका बहुसंख्यक सदस्यहरुले विकल्प खोज्दा शेरबहादुर देउवाको नेतृत्व स्थापित भएको हो ।

    देउवाका विपक्षमा उभिनुभएका रामचन्द्र पौडेल निश्चय पनि कांग्रेसको वर्तमानसम्म आउँदा तुलनात्मक रुपले विचारमा स्पष्ट, बोलीमा स्पष्ट र योग्य हुनुहुन्छ । तर व्यवहारमा जस्तो रहेपनि लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान समकालीन पुस्तामा महत्वपूर्ण छ । पौडेलले देउवासंग निर्वाचन लड्नेक्रममा जुनकुरा विरुद्ध कोइराला परिवारले योगदान दियो, जुन राजनीतिक संस्कार विरुद्ध कृष्णप्रसाददेखि विपी र गिरिजाप्रसाद समेतले संघर्ष गर्नुभयो पौडेलले ठीक यसका विपरित यस मान्यता विरुद्ध हुनेगरी कोइराला परिवारको उत्तराधिकारी घोषित गरी पारिवारिक लिगेसीका पक्षमा आफूलाई प्रस्तुत गर्नुभयो । सुशिलपछि कोइराला परिवारबाट अर्को कुनै नेतृत्व स्थापित हुननसकेको अवस्थामा पौडेल आवधिक रिक्तता भर्ने यौटा खुड्किलो बन्नुभयो ।

    अब कोइराला परिवारबाट नेतृत्वको सिढी तयार भइसकेको छ । डा. शेखर, डा. शशांक र यी दुईलाई जोेड्ने सूत्र सुजाता । देउवाको नेतृत्व असफल वा अयोग्य प्रमाणित भएमा कम्तीमा पनि अबका दश वर्ष कोइराला परिवारको वर्तमान पुस्ताकालागि मैदान सफा हुने देखिन्छ । यो मैदानमा रामचन्द्र, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. रामशरण महत, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, वा नयाँ पुस्ताका प्रखर युवाहरु कसैले पनि लामो समयसम्म खेल्न पाउने छैनन् । एकपटक क्रमभंग भएको अवस्थालाई निरन्तरता दिन नसक्ने हो भने नेपाली कांग्रेसको अनिवार्य नियति यही नै हुने छ ।

    सभापति देउवाले पार्टीमा एकता स्थापित गर्न अनेक प्रयास गर्नुभएको देखिन्छ । आफूसँग पराजित रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा र आफ्नै समूहमा रहेर पराजित अर्जुननरसिंह केसीलाई केन्द्रीय समितिमा मनोनयन गर्नुले यसको पुष्टि हुन्छ । उहाँले कांग्रेसमा बौद्धिक, अनुशासित र विवेकपूर्ण विचार प्रस्तुत गर्ने नरहरि आचार्यलाई मनोनयन गरी पार्टीमा उपयुक्त समीकरणको खोजी गर्नुभयो । नरहरिको भूमिका सदा सकारात्मक रहेको छ । तर आश्चर्य के छ भने मनोनितहरुले केन्द्रीय समितिमा भएको आफ्नो मनोनयनलाई समूहवादको वैचारिक थलोमा परिणत गर्ने एक प्लाटफर्ममा परिणत गर्नुभयो ।

    पार्टीलाई सवल बनाउने, एकताको सन्देश प्रवाहित गर्ने, नयाँपुस्ताको भर्तीलाई सहज गराउने, नयाँ पुस्तामा आकर्षण बढाउने, नयाँसोच र विचार दिने , आउने निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने, कम्युनिष्ट नेतृत्वको विकल्पमा नयाँ योजनाहरु तयार गर्ने, पार्टीभित्र विग्रेका पार्टपूर्जा ठीक पार्ने प्रयास गर्नुभन्दा पनि आफूलाई मनोनयन गर्ने सभापति विरुद्ध हरेक बिन्दूमा उभ्याउने, भाग र प्रतिशत खोज्ने र देशभर संगठनमाथि पकड वनाउने उपयुक्त अवसरका रुपमा यो प्लाटफार्मको उपयोग भएको देखिन्छ । नेपाली कांग्रेसमा देखिएको र स्थापित भएको यो स्थिति अत्यधिक गैरलोकतान्त्रिक संस्कारको उत्कर्ष हो र यसले कांग्रेसको अनेक पुस्तासम्मलाई विद्वेष, विग्रह र गैरलोकतान्त्रिक संस्कृतितर्फ निरन्तर उत्प्रेरित गरिनै रहनेमा कुनै सन्देह छैन । तर आश्चर्य के छ भने असहमत समूहवादका कुनै पनि सार्वजनिक आलोचनाहरुको प्रत्युत्तर सभापति देउवा वा उहाँका सहयोगीहरुले सार्वजनिक रुपमा दिएको सुनिएको छैन । रामचन्द्र पौडेल धनगढीमा पुगेर र डा. शेखर बैतडीमा पुगेर देउवा विरुद्ध अनेक आरोप लगाइरहेको सुनिन्छ । बाँकी जिल्ला वा क्षेत्रहरुमा घुम्दा समेत आलोचनाको तीव्र प्रहार देउवा विरुद्ध सुनिन्छ ।

    यो क्रम भातृसंस्थामा आबद्ध नयाँ पुस्ताको सदस्यदेखि पुराना समेत देउवा विरुद्ध गैरराजनीतिक शब्दवाण प्रहार गरिरहेका हुन्छन् । केन्द्रीय समितिमा रहेर नेतृत्व दिनेहरु नै नेतृत्व विरुद्ध खनिने संस्कार विचित्रको छ । आफ्नो जिम्मेदारी केही नभए जस्तो गरी गरिने नेतृत्वको आलोचना स्थायी संस्कृति बन्ने छ भन्ने हेक्का उहाँहरुमा देखिदैन । तर तनहँु वा विराटनगर अथवा अरु कुनै पनि स्थानमा पुग्दा देउवा वा उहाँका सहयोगीहरुले पौडेल, डा. शेखर वा अरु कसैको आलोचना वा प्रतिवाद गरेका छैनन् ।

    म यतिखेर निकै ठाढा वसेर नेपाली कांग्रेसलाई हेर्ने र पढ्ने प्रयत्न गरिरहेको छु । अनलाइन र सामाजिक सन्जालमा आएका अनेक समाचारहरुलाई हेरिरहेको छु । अमेरिकाको भर्जिनियास्थित पुत्र अनिमेष र पुत्रवधु अंशुको सान्निध्यले प्रदान गरेको फुर्सदको उपयोग गरिरहेको छु । मलाई लाग्छ : समूहवादलाई मलजल गर्नेकाम स्वयम् देउवाबाट विधानले दिएका गर्नै पर्ने अनिवार्य कामहरु निष्पन्न नगर्दा नै ज्यादा भएको छ । संघीयता अनुरुपको विधान नवनेसम्म भएपनि उहाँले कमसेकम तत्कालीन विधान अनुरुप विभागहरुको गठन, भातृ र शुभेच्छुक संस्थाहरुका अधिवेशन र नेतृत्वको समानस्तरमा पुग्नेहरुलाई सक्रिय राख्न उपयुक्त जिम्मेदारी दिनुभएको भए विवादका अनेक भ्रूणहरुको अवशान स्वतः हुने थियो ।

    भागवण्डानै गर्दा पनि आफ्नो भागको मनोनयन गरी अरु असहमत समूहसंग नामहरुकालागि दवाव दिनसक्नुहुन्थ्यो । तर निर्णय गर्नु पूर्वनै सहमति खोज्ने घनचक्करमा देउवा अल्झिनुभएको देखिन्छ , जसका कारण असहमत समूहवाद सबल हुँदै गयो र केन्द्रीय समितिको वैठक वहिष्कार गर्नेसम्मको धम्की दिन समर्थ भयो । वितेका चार वर्ष यता देउवा विरुद्ध निरन्तर तलसम्म संगठन गर्ने र सन्देश छर्ने समूहवादी काम र चरित्रले वर्तमानको तस्वीरको झल्को मिल्छ । भातृ संस्थाहरुमा देखिएको चरम अराजक समूहतन्त्र र कतिपय भातृ संस्थाहरुको निर्वाचनमा समूहवाद हावी भएको स्पष्ट छ । कुनै पनि जीवन्त पार्टीमा असहमत समूह हुन्छन् र तिनलाई व्यवस्थापन क्षमताले ऐक्यबद्ध राख्नु पर्छ भन्ने मान्यता पनि छ । तर हाम्रो राजनीतिक सोचमा यसले कुनै समाधान दिनसक्दैन । कुशल व्यवस्थापनको जोड्घटाउ, तर्कवितर्कको कुनै अर्थ रहदैन ।

    देउवाका अनेक कमजोरीहरुलाई उधिन्ने र आलोचना गर्ने श्रृंखला नै चलिरहेको छ । मेरो लेखको आसय ती कुनै पनि आलोचनाको प्रतिरक्षा गर्ने होइन । तर विगतमा विपी कोइरालाका अनेक भनाइहरुको निरन्तर आलोचना भइरह्यो, उहाँको पार्थिव अवशानले पनि ती भनाइमाथिका आलोचनालाई रोक्न सकेको छैन । किन भने विपी सर्वज्ञाता र सर्वगुणसम्पन्न हुनुहुन्थेन । अनेक कमजोरीहरु उहाँमा थिए । गणेशमान सिंहका अनेक भनाइहरु व किसुनजीका कुनै न कुनै समयमा आलोचित थिए । गिरिजाप्रसादका भनाइहरु त विपक्षकालागि निकै मिठा मसला नै भए । सुशिल मात्र त्यति विवादमा आउनु भएन ।

    उहाँहरुका भनाइसंगै उहाँहरुका अनेक कामहरुले त्यो कालखण्ड विवादमै वितेको थियो । देउवाका कतिपय काम, अनावस्यक उत्तेजनामा देखिने रीस, शब्द उच्चारणमा बहुधा हुने अस्पष्टता र कुनै समयमा अनावस्यक विचारहरुको प्रस्तुतिको तीव्र आलोचना हुने गर्दछ । पार्टी भित्रको असहमत समूहवादकालागि यो अवस्था निकै उपयोगी सिद्ध भएको छ । देउवा सर्वगुण सम्पन्न हुन् भनेर प्रतिफल खोज्ने हो भने उहाँका यी उल्लिखित अवस्थाहरुलाई असामान्य मान्नु पर्ने हुन्छ । तर उहाँ पनि सामान्य मानिस हो र विगतमा जसरी अरु नेताहरुका कमजोरीहरु थिए र आलोचना भयो त्यसैगरी उहाँका विषयमा पनि वुझ्नु पर्ने हुन्छ । तर असहमत समूहवादले यस सामान्य र परम्परागत विषयलाई असामान्य वनाएर कांग्रेसको जरैसम्म पुर्याउने प्रयास गर्दा बढी चर्चा भइरहेको छ ।

    यहीनेर जीवन्त प्रश्न उठ्छ : के वडादेखि केन्द्रसम्म पृथक धार खडा गरी देउवाको विकल्पमा आउने, आउन खोज्ने, आउन सफल हुने कसैले पनि आफूलाई विवादमुक्त राख्ने सामथ्र्य राख्छ ? देउवा विरुद्ध आक्रमक वर्तमान समूहवादी विचारको अन्त्य कदाचित् देउवा नेतृत्व असफल भएसंगै हुन्छ त ? के नेपाली कांग्रेसको पुनर्जन्म गराउन देउवा नेतृत्व पराजित हुनु अपरिहार्य छ ? यो नेतृत्वलाई निरन्तर असफल वनाउन अहिले स्थापित असहमत समूहवादले त्यस समयमा विपरित धार निर्माण गर्नेछैन भन्ने कुनै ग्यारेन्टी हुन्छ ? कि देउवाको असफलताको अन्तिम ध्येय जसरी पनि पुरा गर्ने र भोलिका दिनमा देखाजाय भनेर निश्चिन्त हुने ? यी प्रश्नहरुको विस्वसनीय उत्तर कांग्रेसको नेतृत्व, असहमतसमूहवाद, र भविष्यको खोजिगर्ने जसकसैसंग पनि हुनुपर्छ । किनकि नेपाली कांग्रेसको पतन, विघटन, भ्रष्टीकरण, अराजनीतिकरण, सबैको एकमात्र परिणाम हो : नेपालमा कुनै पनि नामधारी अधिनायकवादी राजनीतिक प्रणाली र सत्ताको उदय । जसको ट्याक वनिसकेको देखिदैछ ।

    मेरो आग्रह यति मात्र हो : पक्ष विपक्षको झेलीखेलमा नलागी लोकतन्त्रका पक्षमा र लोकतन्त्रको मियो नेपाली कांग्रेस संगठनको पक्षमा एकढिक्का वन्नु जरुरी छ । विवेक, तर्क, ऐतिहासिक तथ्यहरु, घटनाहरु केलाएर मात्र हामीले समीक्षा गरौं । भावना र उत्तेजनामा पक्षविपक्ष भएको खण्डमा कांग्रेस कमजोर हुन्छ र लोकतन्त्रको अवशान अवस्यम्भावी नियती हुने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij