बर्दियाको राजापुरमा रहेको नेपाल खाद्य संस्थानको आधुनिक चामल कारखानाले धान खरिद नगर्दा किसान मर्कामा परेका छन् । धान उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिव ९० प्रतिशत भूभागमा रोपिएको धान तयार भए पनि सरकारले उचित मूल्य सहित धान खरिद गर्न सुरु नगरेको भन्दै किसान चिन्तित भएका हुन् ।
सरकारले गत कात्तिक ५ गतेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको थियो । सरकारले गत वर्षभन्दा धानको समर्थन मूल्य केही बढाएको भए पनि किसान धमाधम व्यापारीकै मूल्यमा धान बेच्न वाध्य बनेका छ । सरकार निर्धारण गरेको समर्थन मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल तीन सय र मध्यम धानमा २१३ रुपैयाँले बढी छ ।
मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि प्रतिक्विन्टल मोटा धान २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धान २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको छ । सरकारले तोकेको उचित मूल्यमा धान बेचेर तोरी तथा गहुँ छर्ने किसानको चाहना पुर नभएको राजापुर नगरपालिका वडा नं. ७ का किसान कृष्ण थारुले वताउनु भयो ।
खेती गर्दाको खर्च धान जोगाउन लगाएको ज्यानको वाजी जंगली हात्ति लगायतका जनावरको आतंक सम्झदा दुख लाग्ने गरेको अर्का किसान फुलाराम थारुले वताउनु भयो । वजारमा व्यापारीको मनोमानी मूल्य छ । १ कुन्टल रासायनिक मल किन्न ३ कुन्टल धान वेच्नु पर्ने देखिएको छ ।
राजापुरलाई धान उत्पादनको महत्वपूर्ण ठाउँ मानेर तत्कालिन श्री ५ को सरकार जापान सरकारको सहयोगमा स्थापना भएको नेपाल खाद्य संस्थानको गोदाम र मिल प्रायः थला परेको छ । राजापुरमा औद्योगिक क्षेत्र निर्माणका लागि ठाउा खोज्दै हिड्ने संघ, प्रदेश र स्थानीय तहका भौरा प्रतिनिधिले बर्दियाकै प्रतिष्ठा खाद्य बन्द भएको नदेख्नु बिडम्बना भएको छ ।