०६६ साल चैत्र ७ गते हामी बर्दियाको ठाकुरद्वारा थियौं । आमसञ्चार तथा मानव अधिकारका पक्षमा वकालत गर्ने संस्था फिडम फोरमको सहयोगमा ठाकुरद्वारामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुका व्यवस्थापिकाहरुको सङ्गठन अन्तर्व्यवस्थापिका संघद्वारा जारी गरिएको लोकतन्त्रको विश्वव्यापी घोषणा पत्रको बिषयमा राजनीतिक दलका युवा विद्यार्थी संघसंगठनका प्रतिनिधिहरुलाई अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको स्थानीय संयोजन पत्रकार युवराज श्रेष्ठले गर्नु भएको थियो भने प्रशिक्षकको भूमिकामा म र साथी रामकुमार पहाडी थियौं । लोकतन्त्रका आधारभूत अन्तरवस्तु र विशेषताहरुका बारेमा युवा विद्यार्थीहरु बीचमा हुने यो अनुशिक्षण बर्दिया जिल्लामा २० दिनसम्म चलेको थियो । बर्दियामा यो अवसर फृडम फोरमका अध्यक्ष तथा वरिष्ठ पत्रकार श्री तारानाथ दाहालले जुराउनु भएको थियो । कार्यक्रम अन्तिम चरणमा थियो । नेपाली लोकतान्त्रिक आन्दोलन र अगुवा लोकतान्त्रिक योद्धाहरुका विषयमा चर्चा हुँदै थियो । अकस्मात श्रद्धेय गिरिजाप्रसाद कोइरालाको निधन भएको समाचार आयो । समाचारले हामी स्तब्ध भएका थियो । हामीले तत्कालका लागि कार्यक्रम स्थगित गर्यौ र श्रद्धेय नेताप्रति श्रद्धाञ्जली अर्पण गर्यौ।गिरिजाप्रसाद कोइरालाप्रति मेरो भावनात्मक लगाव थियो । मैले बाल्यकालमा नै गिरिजा बाबुलाई आफ्नो गाउँ गोलामा आएर बसेको देखेको थिए । इतिहासको विद्यार्थी हुनाले म नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइराला परिवार र गिरिजा बाबुलो संघर्षमय जीवनसग परिचित थिए।२०४६ को ऎतिहासिक जन आन्दोलन र ०६२/६३ को जन विद्रोहमा गिरिजाप्रसाद कोइरालाले पुर्याउनु भएको योगदानलाई मैले गहिरो तरिकाले अनुभूत गरेको थिए । यतिबेला मुलुक सङ्क्रमण कालीन अवस्थामा थियो ।
गिरिजाप्रसादले राजनेताको छवि बनाउनु भएको थियो । उहाँको निधनको घटनाले सिङ्गो राष्ट्र नै आहत भएको अनुभूति भएको थियो ।
जीवनभरि चर्चाको केन्द्रमा रहने राजनेता हुन् गिरिजाप्रसाद । सम्वत १९८१ असार १८ गते भारतको विहार प्रान्तको टेडीमा पिता कृष्णप्रसाद र आमा दिव्या कोइरालाका कान्छा छोराका रूपमा गिरिजाप्रसादको जन्म भएको थियो । पिता कृष्णप्रसाद कोइरालाले तत्कालीन राणा प्रधानमन्त्री चन्द् शमशेर राणालाई विराटनगरबाट जनताको हितमा केह गर्नुपर्ने सुझावसहितको चिठी पठाउदा शासनको कोपमा परेर सपरिवार भारतमा निर्वासित जीवन बिताउन बाध्य हुनुपर्यो।भारतमा अङ्ग्रेजको शासन थियो । अङ्ग्रेजहरुले भारतीय जनतामाथि अमानवीय शासन थोपरेका थिए ।अङ्ग्रेज विरुद्ध भारतमा महात्मा गान्धीको नेतृत्वमा असहयोग आन्दोलन चलिरहेको थियो । आफ्नो देशमा रहेको राणाहरुको निरंकुश शासनबाट उत्पीडित कोइराला परिवार भारतीय स्वतन्त्रता सङ्ग्राममा सहभागी हुनपुग्यो । नेपालका राणा शासकहरुलाई अङ्ग्रेजको पूर्ण साथ, समर्थन र सहयोग थियो । नेपालबाट राणा शासन हटाउनका लागि भारतबाट अङ्ग्रेजहरुलाई हटाउन अनिवार्य छ भन्ने तत्कालीन क्रान्तिकारीहरुको निष्कर्ष थियो । यही दृढ विचारबाट प्रेरित भएर कृष्णप्रसाद कोइराला लगायत नेपालका धेरै स्वतन्त्रता प्रेमीहरु भारतीय स्वतन्त्रता सङ्ग्राममा पूर्ण रूपमा समर्पित भएका थिए । कृष्णप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला लगायत कोइराला परिवारका धेरै सदस्यहरु भारतीय स्वतन्त्रताको लडाइँमा सहभागी भएर अविस्मरणीय योगदान पुर्याएका थिए । गिरिजाप्रसाद पनि यो परिदृश्यबाट विमुख थिएनन् ।
कलिलो उमेरदेखि नै उनी भारतीय स्वतन्त्रताको आन्दोलन हुँदै नेपाली लोकतान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा विराटनगर स्थित जुट मिलबाट पहिलो मजदुर आन्दोलनको नेतृत्व गर्ने श्रेय गिरिजाप्रसादलाई छ । राणा शासन विरुद्ध संघर्ष गरेका नेता गिरिजाप्रसाद २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकार विघटन गरेर प्रजातान्त्रिक व्यवस्थाको हत्या गरेसगै नेता गिरिजाप्रसाद ७ बर्ष जेल परे र पछि भारतमा निर्वासित जीवन विताउन बाध्य भए । ३० पन्चायती निरङ्कुश व्यवस्था विरुद्ध निरन्तर संघर्ष गरे । नेपाली काङ्ग्रेस मोरङका सभापति, केन्द्रीय सदस्य, महामन्त्री भएर अहोरात्र नेपाली काङ्ग्रेसको संगठन निर्माणमा सक्रिय रहे । गिरिजाप्रसाद धेरैभन्दा धेरैले गाउँबस्तीमा पुग्ने र सङ्गठन निर्माणमा खटने नेताका रूपमा काङ्ग्रेस नेता कार्यकर्ताका बीचमा स्मरणीय छन् । उनले लामो समय नेपाली काङ्ग्रेसको महामन्त्री भएर काम गरे । २०४६ सालको जनआन्दोलनमा उनको नेतृत्वदायी भूमिका थियो । २०४८ को आमनिर्वाचन पश्चात् गिरिजाप्रसाद मुलुकको प्रधानमन्त्री भए ।लामो समय नेपाली काङ्ग्रेसको सभापति भएर पार्टीको नेतृत्व गरे।पटकपटक गरी ६ पटकसम्म मुलुकमा प्रधानमन्त्रीको भूमिकामा रही शासन संचालन गर्ने गिरिजाप्रसादले गणतन्त्र नेपालको प्रथम कार्यवाहक राष्टाध्यक्षको भूमिका समेत निर्वाह गरेका छन् ।
२०६२/६३ सालको ऎतिहासिक जनआन्दोलनमा गिरिजाप्रसाद कोइराला कमान्डर थिए । उनकै सफल नेतृत्वमा नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । १० बर्षसम्म नेपालमा विद्यमान सशस्त्र द्वन्द्व र त्यसले सिर्जना गरेको हिंसा तथा अशान्तिलाई शान्ति प्रक्रियाको मूल धारमा ल्याउने अभियानका प्रमुख सारथी पनि गिरिजाप्रसाद थिए । नेपाली काङ्ग्रेस जस्तो संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा दृढ़ परम्परावादी पार्टीलाई गणतन्त्रवादी बनाउनु कम चुनौतीपूर्ण थिएन । त्यो गिरिजाप्रसादको नेतृत्वको उचाइले मात्र सम्भव भयो । गणतान्त्रिक आन्दोलनको व्यवस्थापन अर्को महत्त्वपूर्ण चुनौती थियो । उग्रदक्षिणपन्थी र उग्रवामपन्थी उन्मादवाट बचाएर मुलुकमा शान्ति सुनिश्चित गर्न गिरिजाप्रसादले भरपर्दो अभिभावक भूमिका निर्वाह गरे । संसारमै राजतन्त्र हटाएर गणतन्त्र स्थापना गर्ने राजनैतिक रुपान्तरण यत्तिको सहज भएका घटनाहरु दुर्लभ हुन्छन् । सशस्त्र युद्धमा रहेका शक्तिलाई राजनैतिक मूलधारमा ल्याई शान्ति प्रक्रियामा जिम्मेवार बनाउने कार्य त झनै जटिल र चुनौतीपूर्ण मानिन्छ । दुनियाँले विस्मयपूर्वक नियालिरहेको क्रान्ति र त्यसको सहज व्यवस्थापन नेपालमा गिरिजाप्रसादको नेतृत्वमा सम्भव भयो । त्यतिमात्र हैन विस्थापित राजा र राजपरिवारसमेत नेपालमा सुरक्षित र सम्मानका साथ वसेका छन् । यो सम्भवतः नेपालमा सम्भव भएको क्रान्तिको दुर्लभ परिघटना हो।यो सम्भव हुनुमा पनि गिरिजाप्रसादकै समन्वयकारी,सन्तुलित र प्रतिशोध रहित राजनैतिक नेतृत्व महत्त्वपूर्ण कारक हो भन्दा अन्यथा हुँदैन ।
जीवनको उत्तरार्धमा गिरिजाप्रसाद राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा भरपर्दो, जिम्मेवार र लोकप्रिय नेताका रूपमा स्थापित भए । अमेरिकी पूर्व राष्ट्रपति जिम्मी काटरले उनलाई नायका रूपमा चर्चा गरे ।भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले उनलाई दक्षिण एसियाकै अग्ला नेताका रूपमा सम्मान गरे । विदेशी कुटनैतिक नियोग र संयुक्त राष्ट्र संघसमेतले गिरिजाप्रसादको राजनैतिक उचाइलाई उच्च सम्मान दिए । गिरिजाप्रसादको भरपर्दो नेतृत्वका कारण मुलुकमा लोकतान्त्रिक गणतान्त्रिक रुपान्तरणको यात्रा सहज बन्यो ।
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वतन्त्रता र समृद्धिको सपना बुनिरहेका छौ । आज मुलुकमा भएको राजनैतिक परिवर्तनले देश र जनताका आकाङ्क्षाहरु सम्बोधन गर्न सकेन भन्ने व्यापक जनगुनासो छ । चारैतिर निराशा र आवेग छ । असन्तुष्टि र आवेगका वीचमा एकातिर सुन्दर र नवीन राष्ट्र निर्माणको सपना छ भने अर्कोतिर यही आवेग माथि प्रतिगामी हावा हावी हुदैछ । गणतन्त्र विरुद्ध धावा बोल्ने दुष्प्रयत्न हाकाहाकी भइरहेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई परिष्कृत र परिमाजित गर्दै देश र जनताको उज्यालो भविष्यका लागि योगदान दिने प्रेरणा पनि जीवन्त छ ।
लोकतान्त्रिक रुपान्तरणका लागि राष्ट्ले जेन्जी विद्रोह मार्फत ठूलो र साहसिक गन्तव्य निर्धारण गरेको छ। लोकतान्त्रिक निर्वाचनका माध्यमबाट नेपाली जनताले राजनैनिक दलहरुलाई गहन शिक्षा र मार्गदर्शन प्रदान गरेका छन् । राष्ट्रले सबैलाई जोडेर मुलुकलाई स्थायित्व र समृद्धिको सोपानमा डोर्याउने राजनेताको अपेक्षा गरेको छ । गिरिजाप्रसाद कोइराला यतिबेला झनै स्मरणीय बन्नु भएको छ । नेपाल राष्ट्रको हित चाहने नयाँ र पुराना नेता कार्यकर्ताहरुले गिरिजाप्रसाद कोइरालाको जीवनीबाट संयम र सुझबुझको शिक्षा लिन सकून् । श्रद्धेय गिरिजाप्रसादप्रति भाव पूर्ण श्रद्धाञ्जली !