गेरुवा गाउँपालिकाको २०औँ गाउँसभा अधिवेशन शुक्रबार भव्य रूपमा उद्घाटन भएको छ। अधिवेशनमा गाउँपालिका अध्यक्ष जमान सिंह के.सी. ले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “समृद्ध र समुन्नत गेरुवा, सुखी गेरुवावासी” निर्माणमा स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष के.सी.ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना पश्चात दोस्रो कार्यकालको चौथो वर्षमा प्रवेश गरेको स्थानीय सरकारले सुशासन, सामाजिक न्याय, दिगो विकास, आर्थिक समृद्धि र नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर आगामी वर्षका कार्यक्रम तय गरेको जानकारी दिनुभयो।

उहाँले वर्तमान सरकारले अघि सारेको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षालाई स्थानीय तहबाट सफल बनाउन गेरुवा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको बताउनुभयो। संघीयताको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा भ्रष्टाचार नियन्त्रणमार्फत सुशासन कायम गर्नु गाउँपालिकाको मुख्य लक्ष्य रहेको उहाँको भनाइ थियो।

अध्यक्ष के.सी.ले संविधान प्रदत्त मौलिक हकअन्तर्गत सुरक्षित आवास, आधारभूत शिक्षा, स्वास्थ्य सेवा, खानेपानी तथा सरसफाइ, कृषि र पशुपालनसँग सम्बन्धित नागरिकका अधिकार सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो। साथै सेवा प्रवाहलाई थप प्रभावकारी, सरल र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नीति तथा कार्यक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, थारु, सोनाहा, मुस्लिम, मधेशी, पिछडावर्ग, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, युवा, द्वन्द्वपीडित, मुक्त कमैया–कमलरी, शहीद तथा बेपत्ता परिवारका सदस्यलगायत लक्षित समुदायका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। सामाजिक समावेशीकरण र सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै सबै वर्ग र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने नीति गाउँपालिकाले लिएको छ।

गाउँपालिकाले आगामी वर्ष विकास र समृद्धिका लागि निजी क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थासँग सहकार्य र साझेदारीलाई समेत प्राथमिकता दिने जनाएको छ। उपलब्ध स्रोत, साधन तथा सम्भावनाको अधिकतम उपयोग गर्दै समावेशी, सहभागितामूलक र न्यायोचित ढंगले बजेट तथा कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

अधिवेशनमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रस्तुत नीति तथा कार्यक्रमलाई आगामी आर्थिक वर्षमा “समृद्ध गेरुवा, सुखी गेरुवावासी” बनाउने मार्गदर्शक दस्तावेजका रूपमा लिइएको गाउँपालिकाले जनfएको छ।