वन तथा वातावरण मन्त्री गीता चौधरीले बर्दियाको संरक्षण यात्रा केवल उत्सव नभई स्वर्णिम इतिहास निर्माणको चरण भएको बताउनुभएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले पाँच दशकअघि राखिएको वन्यजन्तुको सुरक्षित आवास बनाउने सपना आज विश्वकै उदाहरण बनेको बताउनुभयो ।
उहाँका अनुसार बर्दिया अहिले ‘लिभिङ म्युजियम’का रूपमा स्थापित हुँदै बाघ र गैँडा संरक्षणमा विश्वकै पाठशाला बन्न सफल भएको छ।
अवैध शिकार र अभावको अवस्थाबाट सुरु भएको संरक्षण अभियान अहिले विश्वले अनुकरण गर्ने नमुनामा परिणत भएको पनि उहाँले उल्लेख गर्नुभयो।
“निकुञ्ज काँडे तारले मात्र जोगिँदैन, समुदायको प्रेम र सहअस्तित्वले जोगिन्छ। संरक्षण सरकारको मात्र होइन, सबैको साझा दायित्व हो। मानव–वन्यजन्तु द्वन्द्व चुनौतीका रूपमा छ, त्यसैले मानव सुरक्षा र जीविकोपार्जनलाई सँगसँगै अघि बढाउनुपर्छ।
मन्त्री चौधरीले स्थानीय समुदाय, सुरक्षा निकाय, सरकार तथा अन्तर्राष्ट्रिय साझेदारबीचको सहकार्यबिना संरक्षण सम्भव नहुने बताउनुभयो।
उहाँले जलवायु परिवर्तन, चोरी शिकार र अवैध व्यापारजस्ता चुनौती अझै कायम रहेको उल्लेख गर्दै अब संरक्षणलाई परम्परागत शैलीभन्दा माथि उठाएर वैज्ञानिक र आधुनिक प्रविधिमा आधारित बनाउनुपर्नेमा जोड दिनुभयो।
पर्यापर्यटनमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित संरक्षण र विकासलाई सन्तुलनमा राख्दै अघि बढ्नुपर्नेमा मन्त्री चौधरीले जोड दिनुभएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पर्यटकीय नगरी ठाकुरद्वारामा स्वर्ण जयन्ती समारोह को आयाजना गरेको हो । कार्यक्रममा बर्दियाका जनप्रतिनिधि र संरक्षणकर्मीले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर वन्यजन्तु संरक्षणको काम अघि बढाउनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.बुद्धिसागर पौडेलको अध्यतामा सम्पन्न कार्यक्रममा निकुञ्जलाई साथ, सहयोग र सहकार्य गर्ने व्यक्ति, संस्था र साझेदार निकायलाई सम्मान गरिएको थियो ।