Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा ‘सिकाइ सुधार परियोजना’ सुरु, २० विद्यालयका विद्यार्थी लाभान्वित

  • 904
    SHARES
  •  

    आधारभूत तहका विद्यार्थीहरूको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित बर्दियाको बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा “सिकाइ सुधार परियोजना” औपचारिक रूपमा सुरु गरिएको छ।


    ADVERTISEMENT

    images

    मार्च २०२६ देखि अगस्ट २०२६ सम्म सञ्चालन हुने ६ महिनावधिको यस परियोजना दुवै नगरपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) को साझेदारीमा कार्यान्वयनमा आएको हो। परियोजनाको कुल बजेट रु. ७३ लाख २९ हजार ७ सय १४ रहेको छ।

    परियोजनाअन्तर्गत २० वटा सामुदायिक विद्यालय प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। जसमध्ये बारबर्दिया नगरपालिकाका ७ र ठाकुरबाबा नगरपालिकाका १३ विद्यालय समावेश छन्। विशेषगरी आधारभूत तह (कक्षा ६) मा अध्ययनरत सिकाइ उपलब्धि कमजोर भएका विद्यार्थीहरूलाई लक्षित गरी सुधारमुखी कार्यक्रम सञ्चालन गरिनेछ।

    परियोजनाको मुख्य उद्देश्य कमजोर सिकाइ भएका विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्नुका साथै विद्यालयको समग्र सिकाइ वातावरणलाई सुदृढ बनाउनु रहेको परियोजना संयोजक लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार उपचारात्मक कक्षा सञ्चालन, शिक्षकहरूको क्षमता अभिवृद्धि तथा सिकाइमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिएको छ।

    परियोजनाअन्तर्गत गणित र विज्ञान विषयका शिक्षकहरूलाई ५ दिने विशेष तालिम प्रदान गरिनेछ। साथै, मासिक रूपमा ‘असल अभ्यास आदान–प्रदान’ बैठक सञ्चालन गरी शिक्षकहरूबीच अनुभव तथा नवप्रयोग साटासाट गरिनेछ।

    विद्यालय व्यवस्थापन समिति तथा अभिभावक–शिक्षक संघका पदाधिकारीहरूलाई पनि क्षमता विकास र अभिमुखीकरण कार्यक्रममार्फत सशक्त बनाइनेछ।

    विद्यार्थीहरूको सिकाइमा प्रत्यक्ष सुधार ल्याउन ३ महिनासम्म उपचारात्मक कक्षा सञ्चालन गरिनेछ। यसका साथै शैक्षिक सामग्री वितरण, लक्षित छात्रवृत्ति सहयोग, सहपाठी–सहपाठी सिकाइ विधिको प्रयोग तथा मासिक पुरस्कार प्रणालीमार्फत विद्यार्थीहरूलाई थप प्रेरित गरिनेछ।

    त्यसैगरी, विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधि (ICT) सहयोगअन्तर्गत स्मार्ट बोर्ड र कियोस्क जडान, गणित पुस्तकालय स्थापना तथा आवश्यक शैक्षिक सामग्री व्यवस्थापन गरिनेछ। उत्कृष्ट विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक–शिक्षक संघका प्रतिनिधिहरूलाई सम्मान तथा प्रोत्साहन प्रदान गर्दै सकारात्मक प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने योजना रहेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij