बर्दियाको राजापुर नगरपालिका वडा नं ३ टेडिया की कमला चौधरी आज आफ्नो गाउँमा एक प्रेरणादायी अभिभावकका रूपमा चिनिन थालेकी छन् । उनी महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा पनि सक्रिय छिन् । उनका छोरा गाउँमै रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालमा हाल कक्षा ६ मा अध्ययनरत छन् । मेहनती र लगनशील स्वभावकी कमलाले पछिल्लो समय आफ्नो घरमा सुरु गरेको सानो प्रयासले ठूलो परिवर्तन ल्याएको छ।
कमला अभिभावक शिक्षा अन्तर्गतका “७ सन्देश” कार्यक्रममा सहभागी भएपछि उनको सोचमा उल्लेखनीय परिवर्तन आयो । उनी भन्छिन्—“पहिले मलाई लाग्थ्यो, बालबालिकालाई विद्यालय पठाएपछि हाम्रो जिम्मेवारी सकिन्छ। तर कार्यक्रममा सहभागी भएपछि मैले बुझेँ— घरमै पढ्ने वातावरण बनाउनु पनि उत्तिकै आवश्यक रहेछ।”
यस बुझाइसँगै कमलाले घरमा आफ्नो छोराका लागि “ पढाइ कुना” निर्माण गरिन्— शान्त, व्यवस्थित र अध्ययनमैत्री स्थान। उनले छोरासँगै बसेर पढाइमा सहयोग गर्न थालिन् र विद्यालयसँग नियमित सम्पर्क राख्न सुरु गरिन्।
यस सकारात्मक परिवर्तनको पछाडि प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारू जनसेवा केन्द्रको साझेदारीमा सञ्चालन भइरहेको “सशक्त बालिका परियोजना" को महत्वपूर्ण भूमिका रहेको छ । यस परियोजनाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै घर–घरमा “पढाइ कुना ” निर्माण गर्न आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।
पहिले उनका छोरा विद्यालयबाट फर्किएपछि झोला जताततै राख्ने, खेल्न जाने र गृहकार्य नगर्ने गर्थे। तर अहिले अवस्था फेरिएको छ। कमला भन्छिन्—“अहिले मेरो छोरा घर आएपछि आफ्नो सामान मिलाएर राख्छ, गृहकार्य गर्छ र नियमित पढ्न बस्छ। विद्यालय पनि नियमित जान थालेको छ र पढाइमा सुधार आएको छ। म अहिले धेरै खुसी छु।”
कमलाको यो प्रयास व्यक्तिगत स्तरमा मात्र सीमित रहेन। महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा रहेर उनले आफ्नो गाउँका अन्य अभिभावकहरूलाई पनि अभिभावक शिक्षा कार्यक्रमका ७ सन्देशबारे जानकारी दिन थालिन्। उनले सिकेको कुरा अरूसँग बाँड्दै गएपछि समुदायमा समेत सकारात्मक परिवर्तन देखिन थालेको छ।
अहिले गाउँका धेरै घरमा सिकाइ कुना निर्माण भएका छन्। अभिभावकहरू आफ्ना बालबालिकालाई समय दिन थालेका छन्। विद्यालयबाट घर फर्किएपछि कम्तीमा एक घण्टा बच्चासँग बसेर पढाउने अभ्यास बढेको छ। बालबालिकाहरू पनि पहिलेभन्दा नियमित रूपमा विद्यालय जान थालेका छन् र घरमा पनि पढ्नुपर्छ भन्ने बुझाइ विकास भएको छ।
त्यसैगरी, अभिभावकहरू विद्यालयमा गई शिक्षकहरूसँग आफ्ना बालबालिकाको प्रगति बुझ्ने गरेका छन्। यसले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ मजबुत बनाएको छ। शिक्षकहरू पनि बालबालिकाप्रति अझ जिम्मेवार र संवेदनशील बनेका छन्— नियमित गृहकार्य दिने र त्यसको जाँच गर्ने अभ्यास समेत बढेको छ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत भन्छन् “कमला चौधरीजस्ता अभिभावकको सक्रिय सहभागिताले विद्यालयको सिकाइ वातावरणमा निकै सकारात्मक प्रभाव परेको छ। अभिभावक र विद्यालयबीचको सहकार्य मजबुत हुँदा बालबालिकाको प्रगति स्पष्ट देखिन्छ। पछिल्लो समय विद्यार्थीहरूको नियमितता र सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार आएको छ।”
“पहिले हामीले पढाइ भनेको विद्यालयको मात्रै जिम्मेवारी हो भन्ने सोच्थ्यौं। तर अहिले घरमै ‘सिकाइ कुना’ बनाएर बच्चासँग समय बिताउन थालेपछि उनीहरूको बानी व्यवहार र पढाइ दुबैमा सुधार आएको छ। कमलाबाट हामीले धेरै कुरा सिक्न पाएका छौं।” स्थानीय अविभावक हरु बताउँछन् ।
कमला चौधरी भन्छिन्—“यस्ता साना–साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउँछन् । समुदायमा सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्छ।”
उनको अनुभवले देखाउँछ— घरमै बनाइएको सानो “सिकाइ कुना” र अभिभावकको सक्रिय सहभागिताले बालबालिकाको भविष्य उज्यालो बनाउन कति महत्वपूर्ण भूमिका खेल्न सक्छ। कमलाको कथा आज एक घरबाट सुरु भएको परिवर्तन कसरी सिंगो समुदायमा फैलिन सक्छ भन्ने उत्कृष्ट उदाहरण बनेको छ।