बाघको आक्रमणमा परी ज्यान गुमाएका नेरा माध्यमिक विद्यालय, धनौरा, बर्दियाका कक्षा ११ का विद्यार्थी विपना परियारको परिवारलाई इको–क्लब विद्यालयहरूले आर्थिक सहयोग गरेका छन् ।
सेन्स नेपाल बर्दियाको समन्वयमा मधुवन, गेरुवा, ठाकुरबाबा र बारबर्दिया क्षेत्रका इको–क्लब विद्यालयहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी दिवंगत विद्यार्थीको काजक्रिया खर्चका लागि २५ हजार रुपैया सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग तथा श्रद्धाञ्जली कार्यक्रममा इको–क्लबका विद्यार्थी, शिक्षक, सेन्स नेपालका पदाधिकारी तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।
सहभागीहरूले वन्यजन्तु संरक्षणसँगै मानव सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता घटनामा पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन सहयोग व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
सेन्स नेपालले सहयोगमा सहभागी सबै इको–क्लब विद्यालय, विद्यार्थी तथा शिक्षकहरूप्रति धन्यवाद व्यक्त गरेको छ।