बर्दियाको गेरुवा गाउँपालिकामा सञ्चालनमा रहेको वास गेन्स परियोजना अन्तर्गतका विद्यालयहरूको अनुगमन गरिएको छ। अनुगमन टोलीले परियोजनामार्फत विद्यालयहरूमा उपलब्ध गराइएका खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी सेवासुविधाको अवस्था र त्यसको प्रभावकारिताको स्थलगत अवलोकन गरेको हो।
अनुगमन टोलीले सरस्वती आधारभूत विद्यालय विन्द्रा, जनता माध्यमिक विद्यालय गोला, जानकी माध्यमिक विद्यालय जनकनगर, जनता परिक्षित नरसिंह आधारभूत विद्यालय सर्खोल, एकप्रिय राठौर माध्यमिक विद्यालय पाताभार तथा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा अधिकांश विद्यालयमा सुरक्षित खानेपानीको पहुँच, अपाङ्गमैत्री शौचालय, हात धुने स्थान तथा सरसफाइ व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको टोलीले जनाएको छ। परियोजनाअन्तर्गत निर्माण गरिएका संरचनाहरूले अपाङ्गता भएका बालबालिका तथा किशोर–किशोरीहरूलाई सहज पहुँच प्रदान गरेको भन्दै टोलीले सकारात्मक मूल्याङ्कन गरेको छ ।
अनुगमन टोलीले विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय तहलाई वास सुविधाको दिगोपनाका लागि नियमित अनुगमन, मर्मतसम्भार कोष व्यवस्थापन, सरसफाइसम्बन्धी व्यवहार परिवर्तन कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएको छ । साथै, विद्यार्थीहरूमा स्वच्छता अभ्यासलाई दैनिक जीवनशैलीको रूपमा विकास गराउन अतिरिक्त सचेतनामूलक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर विष्ट, उपप्रमुख अमिता कुमारी यादव, जिल्ला समन्वय अधिकारी ओमकार शाह, वास गेन्स परियोजनासँग सम्बद्ध संस्थाका पदाधिकारी, परियोजना कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
विद्यालयमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा उपलब्ध गराई सिकाइको अनुकूल वातावरण सिर्जना गर्दै दिगो विकास लक्ष्य अन्तर्गतको लक्ष्य ४ (गुणस्तरीय शिक्षा) को उपलब्धिमा योगदान पु¥याउने उद्देश्यले गेरुवा गाउँपालिकाका ६ वटा विद्यालयमा युके एड र वाटर एडको सहयोगमा, नेपाल प्रजनन् स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक साझेदारीमा वेस संस्थामार्फत वास गेन्स परियोजना सञ्चालनमा छ ।