Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाली जनताको जीवन किन यति सस्तो ?

  • 2.2K
    SHARES
  •  

    बर्दियाली जनताले बाघ पालेर के पाए ? गर्व ? अन्तर्राष्ट्रिय प्रशंसा ? पर्यटकको ताली ?


    ADVERTISEMENT

    images

    यथार्थ यति सरल छैन । बर्दियाका जंगल छेउका बस्तीका लागि बाघ आज गौरवको प्रतीक होइन, डर, त्रास र अकाल मृत्युको पर्याय बनेको छ । खेतमा काम गर्न जाँदा, गाईवस्तु चराउन निस्किँदा वा बाटो हिँड्दा कुन क्षण बाघको आक्रमण पर्ला भन्ने अनिश्चितताले यहाँका नागरिकलाई दिनहुँ सताइरहेको छ । आज बर्दियामा घरबाट निस्कनु नै जोखिमपूर्ण निर्णय बन्दै गएको छ ।

    बाघले मानिसमाथि आक्रमण गरेको समाचार अब असामान्य होइन । बस्तीभित्र पसेका बाघ, विद्यालय जाने बालबालिकाको डर, सदस्य गुमाउँदाको परिवारको रोदन—यी दृश्यहरू बर्दियाको कटु यथार्थ बनेका छन् । यस्तो अवस्थामा प्रश्न उठ्नु स्वाभाविक छः

    हामीले आफ्नो जीवन दाउमा राखेर विश्वका लागि बाघ किन पाल्नुपर्ने ?

    बाघ संरक्षणको नाममा बर्दियाली जनताको जीवन किन यति सस्तो बनाइयो ?

    सरकार भन्छ—नेपालले बाघ संरक्षणमा ऐतिहासिक सफलता हासिल गर्‍यो, बाघको संख्या दोब्बर भयो, विश्वले प्रशंसा गर्‍यो। तर त्यो सफलताको मूल्य कसले चुकायो ?

    उत्तर स्पष्ट छ—बर्दियाली जनताले ।

    जसको खेत, घर, गोठ र बाटो बाघको छायामा पर्‍यो । जसको जिल्लाको ठूलो भूभाग बफर जोनभित्र राखियो, जहाँ नियम कडा छन् तर सुरक्षा कमजोर । संरक्षणको नाममा जंगल सुरक्षित भयो, तर जंगल छेउका नागरिक असुरक्षित बने ।

    अझ विडम्बना के छ भने “इको–टुरिज्म” र “ग्लोबल कन्जर्भेसन सक्सेस” जस्ता शब्द अन्तर्राष्ट्रिय मञ्चमा मीठा सुनिन्छन् । तर बर्दियाली आमाले गुमाएको छोरो, बालकले गुमाएको बाबु र उजाडिएको परिवारको भविष्य यी शब्दले भरपर्दैनन् । विदेशी सन्तुष्ट हुनुपर्छ, आफ्नै नागरिक मर्नुपर्छ—यो कस्तो नीति हो ?

    सबैभन्दा गम्भीर प्रश्न संरक्षणको स्पष्ट नीति र वैज्ञानिक मापदण्डको अभाव हो । जंगलको वहन क्षमताअनुसार कति बाघ, कति हात्ती वा गैंडा राख्न सकिन्छ भन्ने आधार छ कि छैन ? यदि छ भने, त्यो सीमा नाघेपछि के गर्ने ? स्थानान्तरण ? नियन्त्रण ? वैज्ञानिक व्यवस्थापन ? कि केवल संख्या बढ्यो भनेर उत्सव मात्र मनाउने ?

    जब जंगलले धान्न नसक्ने अवस्था आउँछ, त्यसको असर बस्तीमा पर्नु स्वाभाविक हो । तर त्यो असरको जिम्मेवारी कसले लिन्छ ?

    आज बर्दिया जिल्लाको ठूलो हिस्सा बफर जोनभित्र पर्छ । यसको अर्थ हो—जनताको दैनिक जीवनमा कडा प्रतिबन्ध । दाउरा, घाँस, जडीबुटी संकलन जोखिमपूर्ण, राति बाहिर निस्कन डर । तर बफर जोनको बदलामा जनताले पाएको सुरक्षा कहाँ छ ?

    बाघले मान्छे मार्दा सम्बन्धित निकायको प्रतिक्रिया प्रायः एउटै हुन्छ—अनुगमन गरिरहेका छौं।

    तर त्रासमा बाँचेका नागरिकको चिच्याहट कसले सुन्छ ?

    राहत दिइन्छ—गाई मरेको रकम, मान्छे मरेको राहत। तर के त्यो रकम जीवनको मूल्य हुन सक्छ ? बाबु गुमाएका बालबालिकाको आँसु पैसाले पुछिन्छ ? आमाविहीन सन्तानको खाली काख क्षतिपूर्तिले भरिन्छ ?

    क्षतिपूर्ति समाधान होइन, यो त पीडामाथि लगाइएको सस्तो मलहम मात्र हो ।

    वन्यजन्तु संरक्षण आवश्यक छ—यसमा दुई मत छैन । तर संरक्षणको नाममा नागरिकको जीवन जोखिममा पार्नु कुनै हालतमा जायज हुँदैन । बाघको संख्या बढाउनु उपलब्धि हो भने, नागरिकको मृत्यु रोक्नु त्योभन्दा ठूलो उपलब्धि हुनुपर्छ ।

    यदि दुवै सँगै सम्भव छैन भने, प्राथमिकता स्पष्ट हुनुपर्छ—पहिला नागरिक, त्यसपछि वन्यजन्तु ।

    अब भावनात्मक नाराको होइन, व्यावहारिक नीतिको समय आएको छ ।

    जंगलको वहन क्षमताअनुसार वन्यजन्तुको संख्या निर्धारण गर्नुपर्छ ।

    उच्च जोखिम क्षेत्रका बस्तीमा तत्काल सुरक्षा उपाय लागू गर्नुपर्छ ।

    बाघ आक्रमण रोकथामका लागि आधुनिक प्रविधि प्रयोग गर्नुपर्छ ।

    र सबैभन्दा महत्वपूर्ण—स्थानीय जनतालाई निर्णय प्रक्रियाको केन्द्रमा राख्नुपर्छ ।

    संरक्षण जनताविरुद्ध होइन, जनतासँग मिलेर हुनुपर्छ। बर्दियाली जनता संरक्षणका शत्रु होइनन् । उनीहरूको माग केवल यति हो—जंगल बचोस्, बाघ बचोस्, तर त्यसको मूल्यमा मान्छे मर्न नपरोस् ।

    यदि राज्यले अझै पनि संरक्षणको नाममा जनताको पीडातिर आँखा चिम्लिरह्यो भने, बाघ–मान्छे द्वन्द्व केवल वन्यजन्तुको समस्या रहने छैन । यो राज्यप्रति नागरिकको भरोसा टुट्ने गम्भीर संकटमा बदलिनेछ ।

    अब प्रश्न स्पष्ट छ—

    बर्दियामा बाघको संरक्षण कि बर्दियाली जनताको बलिदान ?

    यसको उत्तर अब ढिलाइ नगरी दिनैपर्छ ।

    बर्दियाली जनताको जीवन किन यति सस्तो ?

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij