भारतसँग सिमाना जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भारतीय नम्बर प्लेट भएका मोटरसाइकल र सवारी साधनहरूको प्रयोग तिव्र रूपमा बढेको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली पुल, र चिसापानी बजारजस्ता प्रमुख पर्यटकीय स्थलहरूमा भारतीय पर्यटकको संख्या वृद्धि भएपछि यस प्रकारका सवारीसाधनको प्रयाेग उच्च देखिए पनि अवैध प्रयोग बढी भएको सरोकारवालाहरूको भनाइ छ ।
यस्ता सवारी साधनहरूको प्रयोग बढ्दै गएको भन्दै स्थानीय सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
कानुन के भन्छ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार—
• विदेशी नम्बर प्लेटका गाडीलाई नेपालमा चलाउन अनुमतिपत्र लिनुपर्छ ।
• दस्तुर तिरेर अधिकतम १ महिनासम्म मात्र चलाउन पाइन्छ ।
• भाडा यातायातमा प्रयोग गर्न सकिँदैन ।
तर बर्दियामा भने विदेशी गाडीहरू वर्षौंदेखि घर–आँगनमै राखेर दर्ता नगरी प्रयोग भइरहेको पाइएको छ । भन्सारको २४ घण्टे पास वा पाँच सय रुपैयाँ तिरेर सिमित अवधिको अनुमति दिने प्रावधान समेत पालना नभएको देखिन्छ।
नेपाली गाडीधनी आक्रोशित
कर तिरेर नेपालमै दर्ता भएका गाडीधनीहरू भने नियमविपरीत चलेका भारतिय गाडीका कारण मारमा परेका छन् । यसले उनिहरुको व्यवसायमा ठूलो असर पारेको स्थानीय व्यवसायीहरु बताउँछन् । भारतिय गाडी घरमै राख्ने प्रचलनले कानुन मात्र उल्लंघन गरेको छैन, सरकारलाई जाने राजस्व समेत हराइरहेको उनिहरुको भनाई छ ।
निगरानीको माग
सरोकारवालाहरूले अवैध रूपमा नेपाल भित्रिएका सवारी साधन नियन्त्रण गर्न र सिमानामा कडाइका साथ निगरानी गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । हाल दैनिक रूपमा भारतिय नम्बर प्लेटका गाडी बर्दियामा भित्रिने क्रम बढ्दै गएको छ, जसले स्थानीय यातायात व्यवसायी चुनौती थपेको छ ।
बर्दिया सिमावर्ती जिल्ला भएकाले भारतसँग आवागमन स्वाभाविक रूपमा हुने कुरा हो। तर, खुला सिमानाको दुरुपयोग गर्दै विदेशी नम्बर प्लेटका सवारी साधनहरू नेपालमा अवैध रूपमा सञ्चालन हुनु गम्भीर विषय हो।
यसले स्थानीय व्यवसायी र कर तिरेर सवारी सञ्चालन गर्ने नेपाली नागरिकमाथि अन्याय त गर्छ नै, राज्यको राजस्वमा समेत प्रत्यक्ष घाटा पुर्याउँछ।यस तर्फ सम्बन्धित निकायकाे ध्यान जानु जरुरी छ ।