सुदूर बर्दियाको गेरुवा क्षेत्रबाट सात वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको गेरुवा कर्णाली पोष्ट दैनिकले नयाँ अध्याय सुरु गरेको छ। पत्रिकामा नयाँ ऊर्जा, दृष्टिकोण र प्रतिबद्धता थप्ने उद्देश्यसहित अनुभवी सञ्चारकर्मी युवराज श्रेष्ठलाई सम्पादकको रूपमा नियुक्त गरिएको छ।
पत्रकारितामा दुई दशकभन्दा लामो अनुभव संकलन गरेका श्रेष्ठले २०५३ सालमा हिमालय टाइम्स दैनिकबाट आफ्नो यात्रा सुरु गर्नुभयो। राष्ट्रिय स्तरका छापा सञ्चार माध्यम तथा टेलिभिजनमा सक्रिय रहँदै, उहाँले स्थानीय पत्रकारितामा पनि गहिरो छाप छोड्नुभएको छ। पछिल्लो समय सोधपत्र दैनिकको सम्पादकको रूपमा उहाँको नेतृत्वले गुणस्तरीय पत्रकारितामा नयाँ दिशा दिएको थियो।
पत्रकार महासंघ बर्दियाको दुई कार्यकाल अध्यक्ष र नेपाल प्रेस युनियनको दुई कार्यकाल केन्द्रियउपाध्यक्ष रहेका श्रेष्ठको अनुभव र प्रतिबद्धताले गेरुवा कर्णाली पोष्टलाई अझ मजबुत बनाउने विश्वास गरेका छौ ।
साथै, संस्थाको स्थापना कालदेखि सम्पादकको रूपमा योगदान पुर्याउनुभएका राजेन्द्र प्रसाद धितालप्रति हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्न चाहन्छौं। उहाँको समर्पण, सक्रियता र नेतृत्व क्षमताले पत्रिकालाई आजको स्तरमा पुर्याएको छ र यो योगदान सधैं स्मरणयोग्य रहने छ।
नयाँ नेतृत्वसँगै गेरुवा कर्णाली पोष्टले आफ्नो पत्रकारीय मिशनलाई अझ सशक्त बनाउँदै समुदायसँगको सम्बन्ध, पाठकको विश्वास र गुणस्तरीय पत्रकारितामा नयाँ आशा जगाउने छ। निरन्तरता, गुणस्तर र पाठकसँगको सम्बन्ध सुदृढ गर्दै, पत्रिकाले अघि बढ्ने यात्रा अझ दृढ हुने अपेक्षा हामीले गरेका छौ ।