मधुवन नगरपालिका–१ सूर्यपटुवास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयमा विद्यालय बस सञ्चालन अक्षय कोषका लागि ४६ लाख ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।स्थानीय तह, संरक्षण संस्थाहरू र समुदायको सहकार्यमा आयोजित कार्यक्रममा विद्यालय बस सञ्चालनका लागि दीर्घकालीन अक्षय कोष स्थापना गरी आगामी दिनमा स्थायी स्रोतको रूपमा उपयोग गरिने खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरी गुरुङले जानकारी दिए।
यस अभियानलाई सफल बनाउन मधुवन नगरपालिका, तराई भू–परिधि संरक्षण कार्यक्रम , डब्लु डब्लु एफ लगायत संस्थाहरूले विशेष सहयोग गरेका छन् ।
कार्यक्रमका वक्ताहरूले विद्यालय बस सञ्चालन अक्षय कोष स्थापना हुनु विद्यालयका लागि ऐतिहासिक कदम भएको उल्लेख गर्दै यसबाट विशेषगरी पथ्थरबोझी बस्तीका विद्यार्थीलाई सहजै विद्यालय आउन–जान र गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, बस सञ्चालनले विद्यार्थीको सुरक्षा, भर्ना दर वृद्धि र अध्ययनमा निरन्तरता कायम गर्न मद्दत गर्ने धारणा राखियो।

विद्यालयका शिक्षक, अभिभावक र समुदायका प्रतिनिधिहरूले निरन्तर योगदानमार्फत कोषलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए।
मधुवन नगरपालिका प्रमुख तेज बहादुर भाटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सहज र सुरक्षित वातावरणमा अध्ययन गराउने अभियानमा पालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सामुदायिक वन र स्थानीयवासीको सक्रिय सहभागिताबिना कुनै पनि अभियान सफल नहुने भएकाले सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनले बताए।
तराई भू–परिधि संरक्षण कार्यक्रमका प्रबन्धक राम किशोर यादवले विद्यालय बस सञ्चालन अक्षय कोष स्थापना र चेक हस्तान्तरण कार्यक्रमले विद्यालय मात्र नभई सम्पूर्ण समुदायलाई लाभ पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रमको आयोजना खाता सामुदायिक वन समन्वय समितिले गरेको हो। कार्यक्रममा मेयर तेज बहादुर भाट, जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, स्थानीय सरोकारवाला र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।