बर्दियामा आदिवासी थारु महिलालाई जैविक मल उत्पादन तथा कृषि कार्यमा प्रयोग गर्न अग्रसर गराउन थालिएको छ । कृषि कर्ममा प्रयोग हुने विभिन्न रसायनयुक्त मल खादको प्रयोग कम गराउन बर्दियामा नयाँ परियोजनाको सुरुवात गरी जैविक मलको प्रयोगमा बढवा दिन सुरु गरिएको हो ।
आदिवासी थारु महिलाले दैनिक घरायसी कर्म तथा खेतीपातीमा प्रयोग गर्दै आएको रासायनिक मलको प्रयोगलाई रोकी उनीहरूलाई कृषि क्षेत्रमा थप सृजनशील बनाउने लक्ष्यले यो कार्यक्रमको सुरुवात गरिएको थारु महिला उत्थान केन्द्रले जनाएको छ ।
रासायनिक मलको ठाउँमा जैविक मलको प्रयोग गरी कृषि जन्य उत्पादनमा जोड दिई थारु महिलालाई आर्थिक समृद्धि तर्फ लगिने थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले बताउनु भयो ।
“आदिवासी थारु महिला र तिनीका समुदायलाई कम कार्बन र नवीकरणीय ऊर्जा पहुँच र दिगो कृषि गर्न सक्षम बनाउने परियोजना” अन्तर्गत सुरुवाती चरणमा बर्दियाको मधु वन र गुलरिया नगरपालिकाका महिलालाई संलग्न गराइने भएको छ ।
हालका लागी मधुवन नगरपालिकाको वडा नं १, २, ३ र गुलरिया नगरपालिकाको ४ र ५ मा सञ्चालन गर्दा करिब १ हजार भन्दा बढी महिलाहरू प्रत्यक्ष संलग्न भई लाभान्वित हुने उहाँले बताउनु भयो ।
गुलरियामा थारु महिला उत्थान केन्द्रले एक कार्यक्रमको आयोजना गर्दै परियोजनाको काम, उद्देश्य र प्रभावकारिता बारे सम्बन्धित सरोकारवाला निकाय सँग छलफल तथा परामर्श समेत गरेको छ ।
छलफलमा गुलरिया नगरपालिकाकी नगर उपप्रमुख सावित्रा गौतमले महिलाले दैनिक काठ, दाउराको प्रयोगले उनीहरूको फोक्सोमा असर भइरहेको भन्दै कार्बन रहित चुलोको प्रयोग गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा विषयगत शाखाका शाखा प्रमुख, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल, स्थानीय कृषक लगायत सरोकारवाला निकायको सहमागीता रहेको थारु महिला उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक तेजमणी पन्थले जानकारी गराउनु भयो ।