नारीहरूको महान पर्व हरितालिका तिजको पावन अवसरमा गुलरियामा नगरस्तरीय एकल नृत्य प्रतियोगिता गरिएको छ ।
मौलिकता झल्कने नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै समाजमा लुकेर रहेका प्रतिभाहरू बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता गरिएको हो ।
गुलरियाको मुख्य बजार राधाकृष्ण चोकमा भएको प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । जसमध्ये यमुना भण्डारी प्रथम, नेहा क्षेत्री द्वितीय, गङ्गा बोहोरा तृतीय र योगिता यादव सान्त्वना स्थान प्राप्त गर्न सफल भएको निर्णायक मण्डलकी संयोजक संगिता थापाले जानकारी गराउनु भयो ।
नृत्य प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक थापा सहित कलाकार नरेन्द्र श्रेष्ठ र सन्ध्या श्रेष्ठ सदस्य रहनु भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ४ हजार, तृतीय हुनेलाई ३ हजार र सान्त्वना पुरस्कार १ हजार ५ सय प्रदान गरिएको आयोजक ज्ञानुमाया रिजालले जानकारी दिनुभएको छ ।
हाम्रो कला संस्कृति कायम राख्न तथा झल्काउनका लागि तिजको अवसर पारेर आफ्नै मौलिकता झल्कने तिज गीत प्रतियोगिताको आयोजना गरिएको रिजालले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादवले सम्पूर्ण नगरवासीहरूमा हरितालिका तिजको शुभकामना दिनु भयो ।
कला भएर पनि स्थान नपाएका नव प्रतिभावान् बालबालिकालाई उत्साह थप्ने काम गरिएको बताउनु भयो । आगामी वर्षमा नगरपालिकाले सहयोग गर्दै जाने बताउनु भएको छ । गुलरिया नगरपालिका तथा वडा नम्बर ७, ६, ५ र ४ कार्यालयबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।
कार्यक्रमको सञ्चालन मिना थापाले गर्नु भएको छ । संस्कृति बचाउन सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्नेमा जोड दिन थालिएको छ । हरितालिका तिजका अवसरमा बर्दियाका विभिन्न पालिकाहरूमा सांस्कृतिक कार्यक्रमहरू गरिएका छन् ।