बर्दियाको गेरुवा गाउँपालिकामा पालिका स्तरीय बाल अधिकार समिति तथा सरोकारवालाहरूलाई अभिमुखीकरण गराएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समुह ( वि ग्रुप ) को आयोजनामा बुधबार अभिमुखीकरण गराइएको हो ।
बाल विवाह अन्त्यका सम्बन्धी राष्ट्रिय तथा प्रादेशिक रणनीति, कार्यनीति तथा प्रावधानका बारेमा जानकारी गराउँदै बाल विवाह अन्त्यका लागि बाल अधिकार समिति तथा अन्य सरोकारवालाहरूको कर्तव्यका बारेमा जानकारी दिने उद्देश्यले क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको वि ग्रुपकी फिल्ड सुपरभाइजर मिना शर्मा ले बताइन ।
गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संविधान तथा ऐनमा उल्लेख भएका बालबालिकाको परिभाषा, विवाहको अर्थ तथा लिङ्ग, उमेर, जात, प्रकृया अनुसार गरिने विवाह एवम् सामाजिक विवाहका प्रकारहरू, बाल विवाह, बाल विवाहका असरहरू, नेपालको संविधान २०७२ ले ब्यवस्था गरेको बालबालिकाको हक, बालबालिकाहरू प्रति राज्यले लिएको नीति, बालबालिकासम्बन्धी महत्वपूर्ण कानुनी दस्तावेजहरू, बालबालिकासम्बन्धी ऐन, २०७५ लगायत दिगो विकास लक्ष्य २०३० बारेमा सहभागीहरूलाई अभिमुखीकरण गराउँदै बालबाल बाल विवाह अन्त्यका लागि सरोकारवालाहरूको कर्तव्यका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्द, पालिकाका छ वटै वडाका वडा अध्यक्षहरू, बालअधिकार समितिका पदाधिकारी तथा सदस्यहरू लगायत विषयगत शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण परामर्शदाता शिवलाल पाण्डेले गरेका थिए ।