बर्दियाको ठाकुरबाबा नगरापालिका वडा नम्बर ४ वाउनपुरका ३२ वर्षिय संगीत थारुले आफ्नो पहिलो सन्तानलाई हुर्काउन खासै ध्यान दिएनन् । घर परिवार वा आमाको जिम्मेवारीमा बच्चा हुर्कियाे । अहिले उ ३ वर्षको पुगिसकेको छ । बच्चा ३ वर्ष पुग्दा सम्म उनले श्रीमतीको पनि ख्याल गरेनन् ।
तर अहिले उनको व्यवहार परिवर्तन भएको छ । श्रीमती बुधरानी थारु अहिले ६ महिनाको गर्भवति छिन । संगीतले आजभोली आफनो श्रीमतिको हेरचाह विशेष रुपले गर्ने गरेका छन । बच्चा पेटमा हुँदा गर्भावास्था देखी नै बच्चाकोलागि बाबुको पनि अहम भुमिका रहन्छ भन्ने कुरा ’बुबा कक्षा’मा सहभागी भएपछी सिकेका छन । उनि अहिले गर्भजाँच गर्न स्वास्थ्य संस्था सम्म श्रीमती सँगै जाने गरेका छन । भने ३ बर्षको पहिलो सन्तानको पनि विशेष ख्याल गर्न थालेका छन् ।
संगीत थारुको पहिलो सन्तान आमाको गर्भमा हुँदा संगीतलाई खासै केही जानकारी थिएन् । गर्भवास्थामा आमालाई कसरी के खुवाउने, कसरी हेरचाह गर्ने, कसरी घरको काममा सघाउने जस्तो कुराको कुनै जानकारी थिएन । जसको प्रभाव छोरामा परेको उनि बताउँछन्, संगीत भन्छन “ पहिलो सन्तानको रुपमा छोरा छ, उ गर्भमा हुँदा खासै ध्यान दिन सकिएन, आमालाई खुवाउनु पर्ने पोषिलो आहार तथा घरमा सघाउनुपर्ने विषयमा जानकारी न भएर आज मेरो छोरी अरुका बच्चा भन्दा केही कमजोर पनि छ । ”
तर उनि अहिले बुवा कक्षा लिएपछि गर्भमा रहेको बच्चालाई बौद्धिक क्षमता बृद्धि गर्न, शारिरिक तबरले तन्दरुस्त बनाउने के गर्न पर्दो रहेछ भन्ने कुरा बुझेका छन । श्रीमतीको र छोराको लुगा घुने, छोरालाई खाना पकाएर खुवाउने देखि सवै काम संगीत आफै गर्छन, भने घरको धन्दा, घाँसपात, घरको सरसफाई तथा खाना पकाउने कार्यमा समेत आफै लाग्ने गरेका छन ।
सशक्त बालिका परियोजना अन्तर्गत समुदायमा सञ्चालित ’बुवा कक्षा’ले संगीतलाई यतिको जिम्मेवार बुवा बन्नमा सघाउ पु¥याएको उनि बताउँछन् । पुरुषहरुलाई स्वास्थ गर्भावस्था, शिशुस्याहार, बुवा हुनुको सौभाग्य लगायतका विषयमा सिकाउने बुवा कक्षामा पुगेपछि उनि धेरै कुरा बुझेको प्रष्ट पारे । उनि भन्छन “ पहिले पहिलेको समयमा त छोराछोरीहरु गाँउ घरमै, काम गर्दा गर्दा जन्मने गर्दथे तर अहिलेको अवस्थामा आमा गर्भवती भए संगै पटक पटक स्वास्थ्य परिक्षणका लागी स्वास्थ्य चौकीमै लग्नु पर्ने र विभिन्न जाँच गर्नुपर्ने, पौष्टिक आहार दिने लगायतका कुरा बुवा कक्षा बाटै सिकेको हुँ” ।
सशक्त बालिका परियोजनाअन्तर्गत संस्थाले जिल्लाको बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा बालबालिकाको हेरचाह र घरको जिम्मेवारीहरुमा बुबा अर्थात पुरुष अभिभावकहरुको संलग्नतालाई बढाउने उद्देश्यले ‘बुबा कक्षा’ सञ्चालन गरिरहेको छ ।
कक्षामा लैंगिकता, लिंगभेद र पुरुष, बुबा हुनुको सौभाग्य, स्वस्थ्य गर्भावस्था, गर्भवती जीवन साथीलाई सहयोग र साथ, शिशुको जन्म र बुबाको जिम्मेवारी, बालबालिकाहरूको हेरचाह, बालबालिका हुर्काउने कार्य, अपाङ्गता वा सीमितता भएका बालबालिकाको पहिचान, हेरचाह, स्वास्थ्य र सरसफाइ र विपदमा बुबाको भूमिकालगायतका विषयमा छलफलका माध्यमवाट सहजीकरण गरिने गरिएको परियोजना संयोजक मनोज पौडेलले बताए ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाईदेखि सशक्त बालिका परियोजना सञ्चालित छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्थादेखि उनीहरुको सर्वाङ्गिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।