बर्दियाको बारबर्दिया नगरपालिकाको समुदायमा सञ्चालित ‘बुवा कक्षा’ प्रभावकारी बन्दै गएको छ । कक्षामा वुवाहरुको नियमित उपस्थिति संगै उनिहरुको वानी र व्यवहारमा परिवर्तन आउन थालेपछि ‘बुवा कक्षा’ प्रभावकारी देखिएको हो ।
बारवर्दिया नगरपालिका वडा नं २ नारायपुरका ६४ वर्षिय चन्द्र प्रसाद थारुले ‘बुवा कक्षा’ले समुदायमा परम्परागत सोच, मान्यता र गलत अभ्यास लाई हटाउन सहयोग गरेको वताए । कक्षामा सहभागी हुनु अधि घरको काम महिलाले मात्र गर्नुपर्छ भन्ने वुझेका उनले अहिले भने घरको काममा वुहारीलाई सघाउन थालेका छन् । उनि भन्छन्, ‘फुर्सतिलो समय नाती नतिना संग विताउँछु, उनिहरुसंगै खेल्न ब्यस्त हुन्छु । ‘आजभोली वुहारीले नभ्याउँदा धरआँगन सफा गर्न पनि उनि आफै जुटने गरेको चौधरी वताउँछन् । छोरा जागिरे भएका कारण ‘बुवा कक्षा’मा आफु सहभागी भएको थारुको भनाई छ ।
काखको १४ महिनाको छोरीलाई स्याहार्नु संगै घरको सवै काम भ्याउनु पर्ने नारायणपुरकै गंगारानी थारुलाई आजभोली घरधन्दामा श्रीमानले सहयोग गर्दा आफुलाई धेरै सहज भएको वताइृन् । उनले भनिन्, ‘ आजभोलि ’त काम पनि छिटै सकिन्छ, थकानको महसुस पनि हुँदैन ।
समुदायमा बुवा कक्षा सञ्चालन गरिएपछि खोप केन्द्र र स्वास्स्थ केन्द्रमा गर्भवती तथा सुत्केरी महिलाहरु संगसंगै वुवाहरुको सहभाागिता समेत वढेको आधारभूत स्वास्थ्य केन्द्र कुम्रागाउँका सिनियर अहेव रामेशवर थारुले वताए ।
गर्भवती चेक जाँच गर्न आएका महिलाहरुमार्फत बुवा वनेकोमा शुभकामना दिदै नियमित चेकजाँजमा श्रीमती संगै आउन आमन्त्रण गर्दै स्वास्थ्य संस्थाले आमन्त्रण गर्ने पनि गरेको उनले वताए । थारुका अनुसार ‘बुवा कक्षा’ संचालन संगै आमन्त्रण पत्र पठाउँदा स्वास्स्थ केन्द्रमा गर्भवती तथा सुत्केरी महिलाहरु संगसंगै वुवाहरुको सहभाागिता वढेको हो ।
वाल हेरचाहमा पुरुष संलग्नता प्रवर्द्धन गर्न समुदायमा वुवा समुह गठन गरि वारवर्दिया र ठाकुरवावा नगरपालिकामा ‘बुवा कक्षा’हरु संचालन गरीएको छ । सशक्त वालिका परियोजना अन्तरगत वालवालिकाको हेरचाह र घरको जिम्मेवारीहरुमा बुवा अर्थात पुरुष अभिभावकहरुको संलग्नता लाई बढावा दिने उद्येश्यले बुवा समुहलाई कक्षा संचालन गरिएको सशक्त वालिका परियोजनाका परियोजना संयोजक मनोज पौडेलले वताए । उनका अनुसार वारवर्दिया र ठाकुरवावा नगरपालिकामा १६ वटा ‘बुवा कक्षा’हरु सञ्चालनमा छन् ।
कक्षामा लैङ्गिकता, लिङ्ग, लिङ्गभेद र पुरुष, बुबा हुनुको सौभाग्य, स्वस्थ गर्भावस्था, गर्भवती जीवनसाथीलाई सहयोग र साथ, शिशुको जन्म र बाबुको जिम्मेवारी, बालबालिकाहरूको हेरचाह, बालबालिका हुर्काउने कार्य, अपाङ्गता वा सीमितता भएका बालबालिकाको पहिचान, हेरचाह, स्वास्थ्य र सरसफाइ र विपद्मा बुबाको भूमिका लगायतका विषयमा छलफलका माध्यमवाट सहजिकरण गरिने राधाकृष्ण थारुजनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर विनिता चौधरीले वताईन ।
प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी सशक्त वालिका परियोजना सञ्चालित छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्था देखी उनिहरुको सर्वाङ्गिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।