बर्दियाको राजापुर नगरपालिकामा आपतकालिन समयमा वाल संरक्षण तथा लैङ्गिक हिंसासम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राजापुर नगरपालिका वडा नं. १० खैरीचन्दनपुरका जनप्रतिनिधिहरु, कर्मचारी वडा स्तरिय वाल संरक्षण समितिका पदाधिकारीहरु, वडघर, महिला स्वयमसेवक, वाल सञ्जाल तथा युवा सञ्जालका पदाधिकारीहरुलाई आपतकालिन समयमा वाल संरक्षण तथा लैङ्गिक हिंसाबारे अभिमुखिकरण गराईएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित शशक्त बालिका परियोजना अन्तरगत राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । समुदायमा हुने विभिन्न खाले विपदहरुमा वालवालिका तथा महिलाहरुको सवालमा सम्वेदनशिल वनाउन अभिमुखिकरण गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाकी फिल्ड सुपरभाईजर रेणुका चन्दले वताईन् । कार्यक्रममा वडाका बालबालिकाको सम्पुर्ण अवस्थाको बारेमा छलफल गर्दै आपतकालिन समयमा वाल संरक्षण र लैङ्गिक हिंसा रोक्न विगतमा गरिएका प्रयास तथा अभ्यास एवम अवका दिनमा गरिने प्रयास तथा योजनाका वारेमा वृहत छलफल गरिएको थियो ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण राजापुर नगरपालिका महिला, वालवालिका तथा जेष्ठ नागरिक शाखाकी शाखा प्रमुख रिता चौधरीले गरेकी थिईन । अहिले वालविवाह, आत्महत्या र वालवालिकामा लागु औषधको प्रयोगले समाजमा विपद् कै रुपमा देखापरेको वताउँदै राजापुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष शिवलाल थारुले यसका विरुद्ध अभियान नै सञ्चालन गर्नुपर्ने वताए । उनले भने, ‘यसमा सुधार ल्याउन सकेमा वाल संरक्षणको क्षेत्रमा महत्वपूर्ण कदम हुने छ ।’

प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा संचालनमा रहेको छ । सन् २०२३ जुलाई देखी संचालनमा आएको परियोजना जुन २०२५ सम्म संचालन हुनेछ ।