गेरुवा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ ।
अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गर्न लागेको हो ।

गेरुवा गाउँपालिकाको स्थानीय अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७६ को मापदण्ड अनुसार उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीेको संयोजकत्वमा गठित १२ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचयपत्र वितरण गर्न लागिएका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर चन्दले बताए ।

गाउँपालिकाका ५ वटै वडाका १८ जनालाई परिचय पत्र वितरण गरिने महिला वालवालिका तथा समाज कल्याण उपशाखा प्रमुख रमा पुन मगरले बताइन् । उनकाअनुसार ‘घ’ वर्गमा २ जना महिला र २ जना पुरुषलाई गरी ४ जनालाई तथा ‘ग’ वर्गमा ५ जना महिला र ३ जना पुरुषलाई गरी ८ जनालाई एवम ‘ख’ वर्गमा २ जना महिला र ४ जना पुरुषलाई गरी ६ जनालाई परिचय पत्र वितरण गरिने छ । त्यसैगरी ‘क’ वर्गमा परकी वडा नं. २ भैरमपुरकी शिलरानी थरुनीलाई बुधवार धरमै गएर परिचयपत्र प्रदान गरेको उनले बताइन ।
अपाङ्ग भएका व्यक्तिले आफ्नो हक अधिकार सुनिश्त गर्न परिचय पत्र वितरण गर्न लागिएको उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले वताईन ।