वन डडेलो रोकथाममा सबैको सरोकार स्वच्छ वातावरणमा बाँच्ने हाम्रो अधिकार भन्ने मूल नाराका साथ आइतबार बर्दियाको गुलरियामा वन डडेलो रोकथाम तथा नियन्त्रण सप्ताह मनाइएको छ ।

डिभिजन वन कार्यालय बर्दियाको आयोजनामा आज गुलरियामा विभिन्न कार्यक्रम गरी वन डडेलो रोकथाम तथा नियन्त्रण सप्ताह मनाइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण भण्डारीले बताउनुभएको छ।
बिहान गुलरियाको राधाकृष्ण चोकबाट वनका कर्मचारी विभिन्न वनका वन उपभोक्ता समूहका प्रतिनिधि प्रहरी प्रशासनका साथै सञ्चारकर्मीहरूको उपस्थितिमा नगर परिक्रमा गरी पुन राधाकृष्ण चोकमा कोणसभा गरी कार्यक्रम बनाइएको प्रमुख बिडारीले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले आफ्नो धारणा राख्दै वन डडेलो नियन्त्रण गर्न नागरिक आफैमा सचेत हुनुपर्ने बताउनुभयो। यस्ता कार्यक्रमहरु समुदाय स्तरमा अझै हुनुपर्ने बताउँदै अबका दिनमा सदरमुकाममा मात्र नभएर वन क्षेत्र नजिकका नागरिकहरुलाई समेटेर यस्ता कार्यक्रमहरु गर्दा अझै राम्रो हुने बताउनुभयो ।
वन डडेलो नियन्त्रण तथा रोकथाम हरेक वर्षको चैत १ गतेदेखि ७ गतेसम्म मनाउने गरिएको डिभिजन वन कार्यालय बर्दियाका अधिकृत पंकज झाले बताउनुभयो। यसै अवसरमा आजका दिन गुलरियामा पनि नगर परिक्रमा गरी कार्यक्रम गरिएको झाले बताउनुभयो।

प्रभात फेरि कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट घरमा उपयोग हुने ग्यास सिलिन्डरमा आगो लागेपछि यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुराको डेमो प्रस्तुत गरिएको थियो भने वन डिभिजन कार्यालयका कर्मचारीहरुबाट विभिन्न उपकरणको प्रयोग गरी आगो नियन्त्रण गर्ने डेमो देखाइएको थियो