गुलरिया/ दलित महिलाका सवालमा बर्दियाका पत्रकार सँग वृहत छलफल गरिएको छ । दलित महिला संघ बर्दिया द्वारा आयोजित अन्तरकृया कार्यक्रममा बर्दिया जिल्लाका पालिकाहरुमा दलित महिलाहरुले भोग्नु परेको समस्याका बारेमा गहनरुपमा छलफल गरिएको हो ।
विशेष गरी दलित महिलाहरु चरम विभेदमा परेको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताउनु भयो । स्थानीय पालिकाका जनप्रतिनिधिलाई समेत जातीय छुवाछूत सम्बन्धी बनेका एन कानुन बारेमा समेत जानकारी नहुनु दुखद भएको बताउनु भयो ।
नेपालको संविधान २०७२ ले धारा ४० मा दलितको हक भनेर स्पष्ट व्यवस्था गरेको भएपनि लागू नभएको सुनारले बताउनु भयो । संविधान प्रदत्त अधिकारहरुवाट दलितहरु वञ्चितहुँदा समेत संचारमाध्यममा स्थान नपाएको गुनासो सुनारको थियो ।
सरकारको एक तह स्थानीय सरकारको गाउँमा उपस्थिति भएपनि महिलाहरु विभिन्न सुचनाको पहुँच भन्दा टाढा रहेको, योजना निर्माणमा समेत संलग्न हुन नसक्दा समाजमा दलित महिला माथिको विभेद भुसको अगे सरह सल्कि रहेको र पुस्तान्तरण समेत भईरहेको वताउदै सुनारले भन्नुभयो, 'वर्तमान समयमा बर्दियाका पत्रकारले दलित महिलाहरु माथी भएका विभेदका विरुद्ध तथा स्थानीय पालिकाहरुको योजना निर्माणमा दलित महिलाहरुको पहुँच पुर्याउन कलम चलाउन अवश्यक छ ।' समाजमा जातीय छुवाछूत तथा बिभेदका घटना बाहिर आउन नसक्दा दलित महिलाहरु मारमा पर्दै गएको उहाँकाे भनाइ थियाे ।
कार्यक्रममा संचारकर्मिहरुले समाजमा देखिएका जातिय छुवाछूत तथा बिभेदका घटना बारे आ आफ्ना धारणाहरु राखेका थिए । गाउँ घरमा हुने गरेका पुजा ब्रतबन्ध कुल पुजा लगायतमा महिलालाइ विभेद भएको देखिने गरेको उनिहरुले बताए । कार्यक्रममा सामाजिक कुरिती विरुद्ध धर्मगुरुहरु, संचारकर्मी, सामजिक अगुवा लगाएतले ध्यान दिन आवश्यक भएको औंल्याईएको छ । समाजमा विभिन्न धार्मिक मुल्यमान्यता, शिक्षाको कमि, जनचेतनाको कमि, आर्थिक अवस्था न्यून लगाएतका कारणले जातीय विभेद तथा छुवाछूतको घटना हुने गरेको सहभागीहरुले बताएका छन ।
दलित महिलाहरुको सवालमा बर्दियाका पत्रकार सचेत रहेको पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले बताउनु भयो । दलित महिलाहरुका स्वास्थ,शिक्षा,आर्थिक लगायतका समस्या उल्लेख गर्दै त्यस तर्फ बर्दियाका पत्रकारहरुले निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।