पत्रकार मनऋषि धिताल अहिले नेपाली बौद्धिक जगतमा चर्चामा छन् । २०५२ सालमा नेपालमा माओवादीहरुले सशस्त्र विद्रोहको प्रारम्भ गरे जसलाई उनीहरू जनयुद्ध भन्छन् । मनऋषि धितालले उक्त जनयुद्धको संचार मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरे । युद्ध पत्रकारिताको मोर्चामा अब्बल उत्रेका धिताल निष्ठावान कम्युनिस्ट र सिर्जनशील लेखक हुन् । यो कुरा उनले आफ्नो कर्मबाट नै प्रमाणित गरेका छन् । नेपाली इतिहासको आधुनिक कालखण्डमा सम्पन्न एउटा सशस्त्र क्रान्तिका परिघटनाहरुलाई जीवन्त दस्तावेजमा लिपिबद्ध अनुबाद गर्नु निश्चितरूपमा कठिन कर्म हो । एकातिर युद्धको समयमा उनले गरेको समर्पण र उत्सर्ग स्मरणीय छ, अर्कोतिर आफ्नो जेल जीवनमा उनले जुन सार्थक सिर्जना गरेका छन्, त्यो आफैमा अनुपम र ऎतिहासिक छ । जीवनका अनेक मोडहरुमा अविचलित संघर्ष गर्दै स्पात बनेका मनऋषि धिताल को सिर्जशीलताले निश्चय पनि नेपाली बौद्धिक जमातलाई विस्मित तुल्याएको छ । एकैपटक सात सात पुस्तक ल्याएर प्रकट हुनु चानचुने कुरा हुदै होइन । त्यसैले अहिले उनी नेपाली सिर्जनाको क्षेत्रमा एक अथक साधक सिद्ध भएका छन् ।
जीवन आफैमा एउटा महान प्रयोगशाला रहेछ, यसले मानिसलाई अनेक परिवेशमा परिक्षण गर्दो रहेछ । जीवनले पाउने समय, समाज र परिवेशले उसको स्वरूप निर्धारण गर्दा रहेछन् । म आज स्मृतिको गहिराइमा गएर मनऋषि धितालको जीवनको परिवेश नियालीरहेको छु । मेरो पिताजी पढ्ने उत्कण्ठाका कारण घर छोडेर भाग्नु भयो । १२ बर्षपछि शास्त्री पढेर उहाँ फर्केर घर आउनु भयो । भारतबाट आएपछि उहाँ जुम्लामा हाम्रो परम्परागत पेशा भेडापालन तथा खेतीपातीमा जम्न सक्नुभएन । त्यसैले उहाँ बर्दिया झर्नु भयो । हाम्रो परिवार २०३३ सालमा तराई सरेको हो, म त्यतिबेला ५ बर्षको थिए ।
मेरो सम्पूर्ण बाल्यकाल बर्दियाको गोलामा बित्यो । मैले जन्मभुमि जुम्लालाई पछिमात्र चिनेको हुँ । बर्दियास्थित हाम्रो घर त्यतिबेला हाम्रा जुम्ली आफन्तहरुको सामुहिक घरजस्तो थियो । प्रत्येक हिउँदमा जुम्लीहरु राजापुर आउनै पर्ने परिस्थिति हुने हुनाले त्यस्तो वातावरण बन्ने गर्थ्यो, जसको मिठो अनुभूति मेरो मानसपटलमा अहिले पनि जीवन्त छ । बसाई सराइको क्रम बड्दै गयो ।हाम्रो परिवारका केही सदस्यहरू कैलाली झर्नु भयो । कैलालीमा रन्नचन्न बाजेको नाम खुब सुनिन्थ्यो, भेट हुन सकेन ।
बर्दियामा पछि अन्कल आदिचन्द्र धिताल बसाइ सर्नुभयो । उहाँ पहिलोपटक हाम्रो घरमा आएको मिठो सम्झना मेरो हृदयमा अमिट छ । उहाँ स्वास्थ्यकर्मी हुनुहुन्थ्यो, उहाँलाई सबैले डाक्टर भनेर चिन्थे । डाक्टर अन्कलको बर्दिया आगमनले हाम्रो परिवारले दरिलो आड भरोसा पाएको अनुभूति गरेको थियो । अब हाम्रा आफन्तहरुको तराईमा बसाइ सरेर आउने क्रम बढ्न थाल्यो । २०४४ सालमा हाम्रो परिवारका धेरै सदस्यहरुले सामुहिक रूपमा पाताभारमा जमिन किने, यसै बर्ष परिवारका अग्रज अभिभावकहरुसगै मैले जुम्ला जाने अवसर पाए । जेठाबुबा सर्पानन्द धिताल र नैनानन्द धितालको नेतृत्वमा अन्कलहरु दीपराज धिताल, शिवचन्द्र धिताल र दाजु पूर्ण धितालका साथमा दस दिन पैदल यात्रा गर्दै जुम्ला पुगेको थिए ।
धिताल लिहीमा हामी राति पुग्यौं । राति हिउँ पर्यो । बिहान आकाश खुला थियो । सम्पूर्ण दृश्य सेताम्य थियो । मेरो घरको नजिक एउटा खोला छ । स्थानीयहरु त्यसलाई खोलारुख भन्छन् । राति जेठाबुबाले आफ्नो घरमा म पनि जुम्ला पुगेको सुनाउनु भएछ, बिहानै एउटा सानो बालक सुन्दर र निर्दोष अनुहार ल्याएर मलाई भेटन आइपुग्यो, ऊ त्यही मनऋषि धिताल थियो मेरो भाइ, मेरो सानो साथी । आज उनी एक उदाहरणीय लेखक, संघर्षशील राजनैतिक कार्यकर्ता र संचारक्षेत्रका अगुवा नेता बनेका छन् । मेरो तर्फबाट उनलाई सम्पूर्ण रूपमा बधाई तथा शुभकामना छ।