पूर्व–पश्चिम महाअभियानका क्रममा रहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन यतिखेर बर्दियामा छन् । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गर्दै सुदुरपश्चिमको कैलाली हुँदै पुन बर्दिया आइपुगेका हुन् ।
शुक्रबार राजापुर नगरपालिका र गेरुवा गाउँपालिकासहित राजापुर क्षेत्रका विभिन्न चोक चौराह र राजापुर शान्तिवजार, मानपुर टपरा बजार लगायतका बजारहरुमा उनले पुस्तक बिक्री गरेका थिए ।

शनिबार ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकासहित भुरीगाउँ, वगनाह र लालिबजारमा पुस्तकहरु बिक्री गरिएको छ ।
पुस्तक बिक्रीका लागि बर्दियाका सबै स्थानीय तहमा पुग्ने उनको योजना छ । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियान अनुरूप डा. पुन यस अभियानमा लागेका हुन् । ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं,’ उनले भने, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।’

नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए । उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको हो ।
ठाकुरबाबाले किन्यो एक लाखको पुस्तक
बर्दियाको ठाकुरबाबा नगरपालिकाले एक लाख रुपैयाँको ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक खरिद गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ पूर्व–पश्चिम महाअभियानका क्रममा पुस्तक बिक्री गर्दै ठाकुरबाबा नगरपालिका पुगेका डा.महावीर पुनसँग पुस्तक खरिद गरिएको हो ।

मेयर राहत कोषबाट खर्च हुनेगरी पुस्तक खरिद गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा आफूले नलिइ मेयर राहत कोषमा जम्मा गर्ने गरेका ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलक लम्सालले सो राहत कोषमा जम्मा भएको रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन् ।
पुनको अभियानमा एउटा ईटा थप्न पुस्तक खरिद गरिएको बताउँदै प्रमुख लम्सालले खरिद गरिएका पुस्तकहरु नगरपालिकाभित्र रहेका विद्यालय तथा पुस्तकालयहरुमा उपलब्ध गराइने बताए ।

यसैबीच पुस्तक बिक्रीका लागि गेरुवा गाउँपालिकाकाको कार्यालयमा पुगेका डा. पुनलाई गेरुवा गाउँपालिकाकामा भव्य स्वागत गरिएको छ । गाउँपालिका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्द लगायत कर्मचारीहरुले स्वागत गरेका हुन् ।
गेरुवा गाउँपालिकाको परिवारले डा. पुनको अभियानलाई सहयोग पु¥याउन उनको पुस्तक ‘सम्झना सपना र अविरल यात्रा’ खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्दले बताए । डा. पुनसँगको भेटमा अध्यक्ष के.सी.ले अभियानको सफलताको शुभकामना व्यक्त गरे ।