शैक्षिक कार्यक्रममा समेटिएका सुन्दर विचारहरु
माघ २९ गते बिहान, म बबई बहुमुखी क्याम्पसमा आफ्नो नियमित अध्यापनको काममा थिए । सहृदयी व्यक्तित्व भाइ सुदान्शु शर्माले दिउसो आयोजना हुने एउटा कार्यक्रमका लागि आमन्त्रण गर्नुभयो । मैले आउने वचन दिए तर म कार्यक्रम स्थलमा अलि विलम्ब गरी पुगेछु । कार्यक्रम सुरु भइसकेको थियो ।
बर्दियाका सुप्रशिद्ध महिला समाजसेवी स्वर्गीय रक्षा गौतमको स्मृतिमा स्थापित रक्षा फाउन्डेसनको आयोजनामा जिल्लामा कक्षा ११/१२ मा पढ्ने केही जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम संचालन भइरहेको थियो । अमेरिकामा स्थापना गरिएको लालीगुराश प्रतिष्ठान र रन फर आवर डटर्स एजुकेसन च्यारेटीको सौजन्यमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदै थियो । कार्यक्रममा सङ्घीय प्रतिनिधि सभामा बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने साम्सद एवम् पूर्व मन्त्री संजय गौतम, प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी, गुलरियाका नगरप्रमुख मुक्तिनाथ यादव, बारबर्दिया नगरप्रमुख छविलाल थारु, गुलरिया र बारबर्दियाका विभिन्न वडाका अध्यक्षहरुको उपस्तिथि थियो । सहायक प्रजिअ रोशन कुमार कठायत, काङ्ग्रेस नेता एवम् चिन्तनशील व्यक्ति विद्याप्रसाद खनाल, नेपालको शैक्षिक आन्दोलनका नेता ज्ञानेन्द्र रावल, शिक्षक अगुवा अर्जुन तिवारी, माधवराज ढकाल, भक्ति सागर रेग्मी, नरेश थारु, नारायण शर्मा लगायत जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । प्रतिभाशाली विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा संचारकर्मीहरुको सघन उपस्थिति रहेको यो कार्यक्रम निकै ओजपूर्ण र गरिमामय प्रतीत भइरहेको थियो ।
कार्यक्रममा जिल्लाको शैक्षिक गुणस्तर, स्थानीय सरकारले शिक्षामा गरेको लगानी, गुणस्तरीय शिक्षाका लागि गरिनुपर्ने कामहरू, विद्यालयमा विद्यार्थी पहुँच, विद्यार्थीले वीचमै विद्यालय छोड्नु पर्ने कारण ,स्थानीय भाषाको पाठ्यक्रम, मातृभाषा र राष्ट्रभाषा लगायतका विषयमा महत्त्वपूर्ण सवालहरु उठे । ती सवालहरुको दस्तावेजीकरण गरेर तिनको सम्बोधनका लागि सरोकार राख्ने व्यक्ति, संस्था र राज्य संयन्त्र कृयाशील रहेमा यस्ता वहसहरु परिणाममुखी हुन्छन् जस्तो लाग्यो ।
छात्रवृत्ति वितरण पश्चात् प्रमुख अतिथिका रूपमा बोल्दै प्रतिनिधि सभा सदस्य साम्सद गौतमले शिक्षाले व्यक्तिको जीवन र राष्ट्रलाई गरिमामय बनाउने राय व्यक्त गर्नुभयो । राजनैतिक परिवर्तन भए पनि परिबर्तन अनुकुल नागरिकको जीवन रुपान्तरण हुन नसकेको विषय उठाउदै उहाँले नेपाली श्रम र दिमाग दुबै विदेश पलायन हुदै गरेको वर्तमान अवस्थाले हाम्रा लागि भविष्यमा चिन्ताजनक परिस्थिति सिर्जना गर्न सक्ने विचार व्यक्त गर्नु भयो । राजनीतिको एकाङ्की प्रयोगले मात्र समाजलाई जोड्न नसकिने बताउदै उहाँले जनप्रतिनिधि राजनीति रङ्गबाट माथि उठ्नु पर्ने मत राख्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रतिष्ठानका कार्यवाहक अध्यक्ष सुधान्सु शर्माको समापन मन्तव्य निकै सान्दर्भिक र प्रेरक थियो । संस्थाले यस अघि जिल्लामा विपतको समयमा गरेका कामहरूको स्मरण गदै उहाले सामाजिक संस्थाहरुलाई स्थानीय सरकारले प्रोत्साहित गर्नुपर्ने राय प्रस्तुत गर्नुभयो । रक्षा प्रतिष्ठानको स्थापनाको रहस्य खोतल्दै उहाँले स्वर्गीय रक्षा गौतमको समाजसेवी व्यक्तित्व बारे चर्चा गर्नुभयो । रक्षा गौतम माननीय सन्जय गौतमकी आमा हुनुहुन्छ, उहाको सदाचार, संघर्ष र प्रेरणाले सन्जय गौतम जस्तो व्यक्तित्व समाजले उपहारको रूपमा पाएको हो, शर्मालेले भन्नुभयो । गुलरियाका गाउँबस्तीमा चेतना र जागरण फैलाउन स्वर्गीय गौतमले खेल्नुभएको योगदानलाई चिरस्मरणीय बनाउन माननीय सन्जय गौतमको अभिभावकत्वमा यो संस्था संचालनमा ल्याइएको कुरा उहाँले बताउनुभयो ।
रक्षा प्रतिष्ठानले विद्यार्थीहरुका लागि उपलब्ध गराएको छात्रवृत्ति राशीले निश्चितरूपमा विद्यार्थीहरुको अध्ययन उन्नयनमा योगदान पुर्याउनेछ यो आफैमा सुन्दर र सकारात्मक काम हो, तर यो भन्दा पनि अगाडि बढेर यसमा अन्तर्निहित जुन सेवा भाव छ त्यो सह्रानीय छ । स्वर्गीय रक्षा गौतमकि छोरी ज्योति गौतम जो अमेरिका बस्नुहुन्छ, लालीगुराश प्रतिष्ठानका माध्यमबाट रकम जुटाएर आफ्नो मातृभूमिका विद्यार्थीहरुलाई सहयोग गर्ने जुन सदासयता उहाँको हृदयमा अङ्कुरित भयो त्यो सम्मानयोग्य छ । विदेश जाने हरेक नेपालीमा यस्तै भाव रहने हो भने हाम्रो अवस्था बदलिन बेर लाग्दैन । यस्तो सिर्जनशीलताबाट सबैले प्रेरणा लिनु आवश्यक छ ।
गैरसरकारी संस्थाहरुको स्वयंसेवी चरित्रलाई अझै सशक्त बनाउन यस्ता कामहरुले योगदान दिनसक्छन । सहयोग र सद्भावबाट समाजमा सकारात्मक सन्देश प्रवाहित हुन्छ । अहिले हाम्रो समाज नकारात्मक चेतबाट प्रभावित छ, जतिसुकै कुण्ठा, निराशा र गुनासाहरु मात्र सुनिन्छ्न । यहाँ केही हुदैन, सबै कुरा सरकारले नै गर्नु पर्छ भन्ने भाव व्याप्त छ । यसलाई बदल्नु परेको छ, सरकारले धेरै गरेको छ, विगतको तुलनामा अहिले शिक्षामा आमूल अवसर प्राप्त छ, आगनमा ११/१२ पढाइ हुने विद्यालयहरु छन्, शिक्षा निशुल्क छ । तर अझै धेरै गर्नु छ, हामीले पनि केही गरौं भन्नेतिर सबैको ध्यान जान सकेमा मात्र हामी सुन्दर गन्तव्यमा अघि बढ्न सक्नेछौ ।