बबई बहुमुखी क्याम्पस गुलरियाको स्वतन्त्र विद्यार्थी युनियनले आज क्याम्पसमा स्नातक तहमा अध्ययन गर्न आएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नका लागि स्वागत कार्यक्रमको आयोजना गर्यो । स्ववियु अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्याम्पस प्रमुख वीरेन्द्रराज लम्सालले विश्वविद्यालयमा स्ववियुको प्रभावकारिताका सन्दर्भमा आफ्नो मन्तव्य राख्नु भयो । अतिथि वक्ताका रूपमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सचिव कृष्णप्रसाद शर्मा, प्रगतिशील प्राध्यापक सङ्घका अध्यक्ष हरिप्रसाद जोसी, राष्ट्रिय प्राध्यापक सङ्गठनका प्रतिनिधि प्रेमप्रसाद अधिकारी, बबई बहुमुखी क्याम्पस, स्ववियुका संस्थापक सभापति लक्ष्मण घिमिरे, पूर्व सभापति वामदेव ज्ञवाली लगायतले स्ववियु र आजको विद्यार्थी आन्दोलनका विषयमा सार्थक भनाइ राख्नु भयो । स्ववियु उपाध्यक्ष रिजवान खानले स्वागत र विद्यार्थी नेता राम भण्डारीले संचालन गर्नुभएको सो कार्यक्रम विद्यार्थीहरुको उपस्थिति र उपस्थितिका दृष्टिले रोचक थियो । कार्यक्रममा अतिथि दर्शकका रूपमा यो पंक्तिकारको पनि उपस्थिति थियो ।
स्वतन्त्र विद्यार्थी युनियनको नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रमसँग मेरो भावनात्मक लगाव रहेको छ । आज पनि म आफ्नो त्यो रोचक अतीत सम्झिरहेको छु । २०४६ माघ ३ गतेको दिन थियो । म महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा प्रवीणता प्रमाणपत्र पत्रतहको विद्यार्थीको रूपमा थिए । स्ववियुले हामीजस्ता नव आगन्तुक विद्यार्थीहरुका लागि स्वागत कार्यक्रमको आयोजना गरेको थियो । हामी बडो उत्साहका साथ त्यो कार्यक्रममा सहभागी भएका थियौं । गोविन्द बन्दी जो पछि नेपालको कानुन मन्त्री बन्नु भयो । त्यतिबेला स्ववियु सभापति हुनुहुन्थ्यो । उहाँ अनेरास्ववियु सम्बद्ध हुनुहुन्थ्यो ।
२०४६ सालमा पन्चायत व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलनको तैयारी हुँदै थियो । तसर्थ विद्यार्थी संघसंगठनका वीच तुलनात्मक रूपमा हार्दिकता थियो । प्रजातन्त्रवादी र वामपन्थी विद्यार्थी नेताहरु समान रूपमा सक्रिय थिए । प्रजातन्त्रवादी विद्यार्थीहरुको सङ्गठन नेपाल विद्यार्थी संघका नेताहरुमा मुक्ति रेग्मी, नगेन्द्र रेग्मी, हुर्मत न्यौपाने, विजयालक्ष्मी अर्याल, गोपालकृष्ण घिमिरे आदि चर्चित हुनुहुन्थ्यो । वामपन्थी विद्यार्थी संघसंगठनहरु धेरै थिए र नेता पनि धेरै हुनुहुन्थ्यो । तेजकुमार धिताल, गोविन्द बन्दी, मनोज भट्ट, किरण जिसी, चक्रपाणि लम्साल जस्ता नेताहरुले वामपन्थी विद्यार्थी सङ्गठनको नेतृत्व गर्नुभएको थियो ।
त्यतिबेलाको विद्यार्थी आन्दोलन र स्ववियुको एउटा विशाल उद्देश्य थियो । देशमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने र समृद्ध नेपाल निर्माण गर्ने एउटा महान सपना थियो।त्यो उद्देश्य र सपनालाई मूर्त रुप दिन विद्यार्थी आन्दोलन कृतसङ्कल्पित थियो । समाजमा पार्टी राजनीति प्रतिबन्धित थियो । राजनैतिक नेता कार्यकर्ताहरु या त प्रवासमा या भूमिगत थिए । राजनैतिक चिन्तनमाथि विचार विमर्श गर्ने ठाउँ विश्वविद्यालय बनेका थिए । आम विद्यार्थीहरु पन्चायत विरोधी आन्दोलनमा ध्रुवीकृत भएका हुन्थे । राजनैतिक आन्दोलनको उर्जा विश्वविद्यालयमा स्ववियु र विधार्थी आन्दोलनले बचाएका थिए, बढाएका थिए । स्ववियुप्रति आम विद्यार्थीको असीम आस्था, आकर्षण, विश्वास गासिएको हुन्थ्यो । स्ववियुको आह्वानमा विद्यार्थीहरु होमिन समेत तयार हुन्थे ।
त्यो दिन उत्साह र रोमाञ्चसहित स्ववियुले स्वागत कार्यक्रमको आयोजना गरिरहेको थियो । हामी उत्सुकता र उमंग बोकेर कार्यक्रममा सहभागी भएका थियौं । हामीले हेर्दाहेर्दै मंचलाई एक हुल उदण्ड युवाहरुले नियन्त्रणमा लिए । एकाएक सभाहलमा भागदौड मच्चियो । स्ववियु सभापति लगायत विद्यार्थी नेताहरु माथि आक्रमण हुनथाल्यो । विद्यार्थीहरुको भागाभाग भयो । स्ववियु सभापति लगायत विद्यार्थी नेताहरु घाइते भएर अस्पताल भर्ना हुनुभयो । केहीलाई क्याम्पस गेट बाहिरबाट प्रहरीले हिरासतमा लियो । यो के हो ? म आश्चर्यमा परे । पछि थाहा भयो । तीआक्रमणकारीहरु पन्चायत व्यवस्थाका समर्थक रहेछन् । तिनलाई मण्डले भनिदो रहेछ । हामीले राष्ट्रवादी विद्यार्थी मण्डलका हिमायतीहरु नै मण्डले हुन् भन्ने थाहा पायौं । तिनको उदण्डता देखेर तिनीहरूप्रति वितृष्णा जागेर आयो । त्यसपछि मैले स्ववियु र विद्यार्थी आन्दोलनप्रति गहिरो अभिरुचि राख्न थाले । त्यतिबेला विद्यार्थी आन्दोलनमा होमिएका व्यक्तित्वहरु प्रति मेरो हृदयमा अहिले पनि सम्मानको भाव छ ।
नेपालको लोकतान्त्रिक रुपान्तरण र आधुनिक युग चेतनाको निर्माणका लागि विद्यार्थी आन्दोलनको योगदान सबैभन्दा माथि छ । राजनैतिक पार्टीहरु भन्दा पहिला विद्यार्थी आन्दोलन सङ्गठित भएको सुन्दर इतिहास हामीसग छ । नेपालमा राजनैतिक तथा सामाजिक जागरण ल्याउने उद्देश्यलेले १९९१ सालमा बनारसमा नेपाली छात्र संघको स्थापना भएको थियो ।
१९९७ सालमा सहादत प्राप्त गर्ने अमर सहिद गङ्गालाल श्रेष्ठ यही विद्यार्थी संगठनबाट प्रशिक्षित व्यक्ति थिए भनेर इतिहासकारहरुले उल्लेख गरेका छ । २००४ सालमा जयतु संस्कृतम नामको विद्यार्थी आन्दोलनले राणा शासकको निद उडाइदिएको थियो । २०१७ सालमा राजा महेन्द्रले तानाशाही व्यवस्थाको स्थापना गर्नुभयो । राजनैतिक दलहरू प्रतिबन्धित भए । राजनैतिक नेताहरु जेलमा परे, भूमिगत भए र प्रवासमा गए । विद्यार्थीहरु आन्दोलनको ज्योति जगाए, २०१८ सालमा स्ववियुको स्थापना गरे र मुलुक रुपान्तरणको गर्विलो इतिहास कायम गरे । नेपालका हरेक राजनैतिक आन्दोलनमा विद्यार्थी आन्दोलन निर्णायक भएर मुखर भएको छ।
आज मुलुकमा लोकतान्त्रिक गणतन्त्र छ । राजनैतिक परिवर्तनको अध्याय पूरा भएको छ । हिजो स्ववियुले परिवर्तनको नेतृत्व गर्यो । अब हाम्रो गन्तब्य के हो ? हामी देखिरहेका छौं, आज मुलुकमा आम निराशाको वातावरण छ । हरकोही यो देशमा केही हुदैन भनेर दुखी र सुदास सुनिन्छ्न, देखिन्छन् । युवाहरू पलायन हुदैछ्न। भ्रष्टाचार खुला रूपमा छ । जनजीविका दिनप्रतिदिन कष्टकर हुदैछ । राजनैतिक नेतृत्वले आफ्नो विश्वास गुमाइरहेको स्थिति छ । यहीँ परिस्थितिको उपयोग गर्दै प्रतिगामी तत्व सलबलाउन थालेका छन् । आजभन्दा हिजो ठिक थियो भन्ने भाष्य निर्माण गर्न सक्रिय भएका छन् । यस्तो विडम्बनाको अवस्थामा आज हामी छौँ । यतिबेला विद्यार्थी आन्दोलन र नेतृत्वले आफूलाई पुन परिभाषित गर्नु आवश्यक छ, हिजोको गर्विलो अतीतको पुनः समरण गर्दै नयाँ गन्तव्यको खोजी गर्नुछ । इतिहासले विद्यार्थी आन्दोलनबट सुशासन, समृद्धि र लोकतान्त्रिक जीवन पद्धति निर्माणका लागि फेरि एकपटक उत्सर्ग पूर्ण नेतृत्वको अपेक्षा गरेको छ ।